arrow

काँग्रेस बैठक : प्रष्टै देखियो पक्ष विपक्षको दोहोरी

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
congress_news1.jpg

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीति र स्थानीय निर्वाचनको समीक्षालगायत विषयमा छलफल जारी छ ।

बैठकमा भरखरै दुई चरणमा भएको स्थानीय तह निर्वाचनमा भएको कमजोरीको समीक्षा गरी आगामी असोज २ गते प्रदेश २ मा पनि हुने निर्वाचनमा पार्टीलाई अत्यधिक तहमा विजयी बनाउने सम्बन्धमा केन्द्रित रहेर केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् ।

शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय, सानेपामा जारी बैठकमा आवश्यक गृहकार्य गरेर उपयुक्त उम्मेदवार चयन गर्नुपर्ने, समयमै टिकट वितरण गर्नुपर्ने, प्रचारमा पार्टीका सबै संरचना प्रभावकारी रुपमा परिचालन गर्नुपर्नेलगायत सुझाव आएको बैठकमा सहभागि नेताहरुले बताए छन् ।

केन्द्रीय सदस्यहरुले २ नम्बर प्रदेशमा हुने स्थानीय तह तथा त्यसपछि हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा सुझाव दिएको नेता रामकृष्ण यादवले जानकारी दिए ।

पार्टीको स्थिति सुधार गर्नका लागि गरिनुपर्ने सांगठनिक तयारी, निर्वाचनमा जनतामाझ लैजाने कार्यसूची तथा राष्ट्रिय राजनीतिमा पार्टीको प्रभावकारी भूमिकालगायत विषयमा छलफल जारी छ ।

बैठकमा प्रहरी महानिरीक्षक नियुक्ति, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग, राजदूत नियुक्तिलगायत प्रकरणले निर्वाचनमा पार्टी दोस्रो स्थानमा पुगेका बारेमा केन्द्रीय सदस्यले पक्ष विपक्षमा धारणा राखेका छन् । काँग्रेस नेता प्रदीप पौडेलले भने, ‘काँग्रेसलाई घाटाहुने गरि गरिएका गतिविधि र निर्णयबारे पक्ष–विपक्ष नै छुट्टिएको छ ।’ रामचन्द्र पौडेल पक्षधर नेताहरुले पार्टी नेतृत्वको आलोचना गरेका छन् भने, देउवा पक्षधर नेताहरुले त्यसको बचाउ गरेका छन् ।  

बैठकमा पहिलो दिन वरिष्ठ नेता रामचन्द्र पौडेललगायत २० केन्द्रीय सदस्यले स्थानीय तहको निर्वाचनको समीक्षासम्बन्धी विषयमा केन्द्रीत रहेर आ–आफ्नो धारणा राखेका थिए । पहिलो दिन रामचन्द्र पौडेल पक्षधर नेता महेश आचार्यले देउवालाई राजा बनाएर राख्न नसकिने बताएका थिए ।

बैठकको प्रारम्भमा काँग्रेस वरिष्ठ नेता पौडेलले पार्टीको समग्र स्थिति, निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसक्नुको कारण तथा आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर लैजान पार्टी नेतृत्वबाट गर्नुपर्ने प्रयासका बारेमा धारणा राखे । पौडेलले देउवा र आफु बुढो भइसकेकाले अबको नेतृत्व युवाले गर्नु समेत बताए ।

यद्यपि, देउवा पक्षधर नेता मीनबहादुर विश्वकर्माले नेतृत्व हस्तान्त्रण ड्राइभरले गाडीको सुम्पेजस्ता सजिलो नभएको भन्दै नेतृत्व कसले गर्ने भन्ने विषय पार्टी पद्धति र लोकतान्त्रिक प्रक्रियाले निर्धारण गर्ने बताए ।

उनले भने, ‘वीपी समेत सर्वमान्य हुन नसकेर चुनाव लड्नु परेको थियो । सर्वमान्य बन्ने पर्यत्न गर्ने हो । अहिले पार्टी नेतृत्व एकल निर्णयले कहाँ अघि बढेको छ । शेरबहादुर देउवा सर्वमान्य नभएपनि बहुमतले त उहाँलाई पत्याएको छ ।’ सर्वमान्य भएको ठाउँमा वैचारिक बहस कहाँ हुन्छ र ? अहिले केन्द्रीय समितिको बैठकमा उठेका कुराहरुलाई विरोधको रुपमा लिन नहुने उनको भनाई छ । उनले भनेका छन्, ‘वैचारिक कुरा उठेका छन् । त्यसलाई सुझाब मान्नु पर्दछ । विरोधको रुपमा लिनु हुँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ