arrow

ललितपुर महानगरपालिकाभित्र करको दरमा परिवर्तन, के-केमा भए परिवर्तन ? 

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
lalitpur_mahanagarpalika_hamrakura1.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७४ ७५ को लागि करदाताको दायरा बढाउने क्रममा केही शीर्षक भित्रपर्ने करको दरमा परिवर्तन गरेको छ । चालू आर्थिक वर्षकोलागि महानगरपालिकाले व्यवसाय कर, सफाई महसुल, विज्ञापन कर, सिफारिस दस्तुर र घर बहाल कर शीर्षकको दरमा केही परिवर्तन गरेको हो । 

यस अघि करको दर नतोकिएको सोलारको डिष्ट्रीब्युटरलाई यस पटकदेखि करको दायरामा ल्याउने निर्णय महानगरपालिकाले गरेको छ । त्यस्तैगरी, एनजिओ आईएनजिओ गेष्ट हाउस,  धार्मिक÷सामाजिक संस्था र क्लब÷टोल सुधार समिति÷समूह आदिबाटसमेथ कर उठाउने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । 

व्यवसाय कर अन्तर्गत् सोलारको डिष्ट्रीब्युटरलाई वार्षिक ८ हजार रुपैयाँ कर तिराउने निर्णय महानगरपालिकाले गरेको छ । यस अघि ३ हजार रुपैयाँ तिर्दै आएको आल्मुनियम÷फलामको झ्याल, ग्रिल उद्योगलाई अब ५ हजार र आल्मुनियम÷फलामको झ्याल, ग्रिल व्यवसायीहरुलाई अब वार्षिक ३ हजार रुपैयाँ कर तिराउने निर्णय गरिएको छ ।  

त्यस्तै, सफाई महशुलबापत एन. जि.ओसँग ५०० रुपैयाँ, गेष्ट हाउसलाई १५ सय रुपैयाँ, धार्मिक तथा सामाजिक संस्थाहरुलाई वार्षिक ३ सय ६० रुपैयाँ उठाउने निर्णय गरिएको महानगरपालिकाका राजश्व महाशाखा प्रमुख डिल्लीराज शाक्यले जानकारी दिए । 

त्यस्तै, विज्ञापन कर सडक नाटक÷कन्सर्ट÷प्रदर्शनी बापत एक हजार रुपैयाँ (प्रति घण्टा) गाडीमा स्टीकर टाँस गरी विज्ञापन गर्नेहरुलाई प्रतिवर्गफिट ६० रुपैयाँ तोकिएको छ । सिफारिश दस्तुरतर्फ घरबाटो प्रमाणित (मूल सडक) (साढे दुई आना सम्म)को २ हजार र त्यसपछिको प्रति कित्ता २ हजार रुपैयाँ र अन्य सडकको हकमा पनि सोही बमोजिम कायम हुने बताईएको छ । 

त्यस्तै, घर बहाल कर तर्फ यस महानगरपालिका र आन्तरिक राजश्व कार्यालयले कानून बमोजिम लिईंदै आएको बहाल कर सम्बन्धमा संविधानको अनुसूची ८ बमोजिम (धारा ५७ को उपधारा (४), धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा .(२) र धारा २२६ को उपधारा (१) संग सम्बन्धित) स्थानीय तहको अधिकारको सूची बमोजिम बहाल रकमको १२ प्रतिशत बहाल कर वापत स्थानीय तहबाट नै साविकको वर्गीकरण अनुसार नै असुल उपर गरिने निर्णय पनि महानगरको प्रथम नगरसभाले गरेको छ । घर बहाल करदर सम्बन्धमा घरको तल्लाहरुको मासिक बहाल कर साविक बमोजिमकै दररेटमा निर्धारण गरी नियमानुसार घर बहाल कर असुल उपर गरिनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ