arrow

क्रसर उद्योग सञ्चालनमा रोक

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
crashar_udhyog.JPG

खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलास्थित राँकेडाँडामा नियमविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगमाथि  नगरपालिकाले रोक लगाइएको छ । 

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडक कालोपत्र गर्ने काम गरिरहेको ठेकेदारले अनधिकृत रुपमा क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएपछि क्रसर उद्योग अन्यत्र हटाउने निर्णय गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । ऐतिहासिक तथा पर्यटकीयस्थल महुरेगढी नजिक डेढ वर्षदेखि सञ्चालनमा रहेको क्रसर उद्योगले सदियौँदेखि हरेक साउन २ गतेका दिन राँके मेला लाग्ने महुरे क्षेत्रको अस्तित्व संकटमा पारेकाले तत्काल क्रसर उद्योगलाई अन्यत्र हटाउन भनिएको हो । 

क्रसर उद्योगका कारण किरात समुदायको सांस्कृतिक धरोहरका रुपमा रहेको राँके मेला लाग्ने चउरमा गिट्टी र ढुंगा थुप्रिएको छ । क्रसर सञ्चालकले स्थानीय सामुदायिक वनसँग सम्झौता गरेको भएपनि नगरपालिका, स्थानीय निकाय, वन कार्यालय लगायतको अनुमतिबिना नै मनोमानी ढंगले क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएको छ । 

महुरे प्राकृतिक सामुदायिक वन नुनथलालाई वार्षिक रु ४० हजार र रातमाटे लुम्रे सामुदायिक वन बुइँपालाई वार्षिक रु २० हजार दिने सम्झौतामा ठेकेदारले क्रसर उद्योग सञ्चालनमा ल्याएको बताइन्छ । दुई सामुदायिक वन र ठेकेदारबीचमा तीन वर्षका लागि क्रसर सञ्चालन गर्ने सम्झौता भएको छ । सुरुमा क्रसरको विरोध गर्दा प्रशासनले समेत सञ्चालनका लागि दबाब दिएको रुपाकोट मझुवागढी नगरपालिका १४ बुइँपाका वडाध्यक्ष दिनेश राईले जानकारी दिए । क्रसर सञ्चालनको विरोधमा बुइँपाका स्थानीयवासीले क्रसरका सामान तोडफोडसमेत गरेका थिए । 

क्रसरका कारण डिलमुनि खसेको ढुंगामाटोले रातमाटे लुम्रे सामुदायिक वनको केही भाग पुरिएको छ ।  ऐतिहासिक स्थलको प्राकृतिक सौन्दर्य नै बिगार्ने गरी डेढ वर्षदेखि क्रसर उद्योग सञ्चालनमा रहेको भए पनि नगरपालिकामा जनप्रतिनिधि चुनिएपछि मात्र क्रसर उद्योगको असरका विषयमा आवाज उठेको हो । सडक कालोपत्र गर्ने क्रममा आवश्यक गिट्टी तयार पार्न क्रसर उद्योग चाहिने भए पनि ऐतिहासिक, पर्यटकीयस्थल र सांस्कृतिकरुपमा महत्व बोकेका स्थानमा सञ्चालन गरिएकाले अन्यत्र सार्ने निर्णय गरिएको नगरप्रमुख रिजालले जानकारी दिए। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ