arrow

नेपाली क्रिकेटमाथिको निलम्बन फुकुवाबारे बोल्यो आइसीसी, प्रगति भएको वक्तव्य

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
ICC-and-CAN.jpeg.jpeg.jpeg

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले औपचारिक रुपमै नेपाली क्रिकेटको विवाद समाधानमा प्रगति भएको जनाएको छ ।

आइतबार आइसीसीको विकासतर्फका वैश्विक सञ्चार अधिकारी म्यारी गडबीयरले दुवईबाट जारी गरेको विज्ञिप्तमा ‘सल्लाहकार समूहमा महत्वपूर्ण सहमति जुटेको र नेपाली क्रिकेटको विवाद समाधानमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख छ ।’

विज्ञप्तिमा आइसीसीले नेपाल क्रिकेट संघमाथि लागेको निलम्बन फुकुवाका लागि यो महत्वपूर्ण कदम समेत भनेको छ ।
नेपाली क्रिकेटको विवाद समाधानमा लागि गठित सल्लाहकार समूह र आईसीसीका अधिकारीहरुबीच काठमाडौंमा शनिबार भएको बैठकले सहमति जुटाएको विज्ञप्तिमा उल्लेख छ ।

आइसीसी उपप्रमुख इमरान ख्वाजासहित  शनिबार बसेको सल्लाहकार समूहको बैठकमा क्यानको विधान संशोधन र साधारणसभामा जिल्लाको प्रतिनिधित्व हुने विषयमा सहमति जुटेको थियो । आइसीसी अधिकारीले सल्लाहकार समूहले केन्द्रबाट स्वतः सदस्य राख्न गरेको प्रस्ताव मान्य नहुने भनेपछि विधानमा जिल्लाबाटै प्रतिनिधित्व हुनेगरी व्यवस्था गर्ने सहमति जुटेको सल्लाहकार समूहको प्रवक्ता रोहित दाहालले बताएका छन् ।   

आइसीसीले भनेको छ, ‘नेपाल क्रिकेट संघ क्यानको विधान संशोधनसहित विभिन्न विषयमा सहमति जुटेको छ । यो नेपालको आईसीसी सदस्यता पुनःवहालीमा महत्वपूर्ण कदम हो ।’ यद्यपि, विज्ञप्तिमा कुन विवादमा के सहमति भयो भनि खुलाइएको छैन । आइसीसीले अब यसपछि विधान संशोधनका लागि साधारणसभा बस्ने र विधान संशोधन भएपछि चुनाव हुने समेत उल्ले गरेको छ ।  

आईसीसीले सहमति गरेर एक महिनाभित्र निर्वाचित क्यानको साधारणसभाबाट विधान संशोधन गर्न समेत भनेको छ । आईसीसीका उपप्रमुख ख्वाजाले भनेका छन्, ‘सल्लाहकार समूहको बैठकमा महत्वपूर्ण विचार–विमर्श भयो । बैठकको प्रगतिले म निकै खुसी छु । बैठकमा भएको सहमति अनुसार नयाँ संरचना बन्न सके नेपाली क्रिकेटका लागि नयाँ र शानदार युगको सुरुवात हुनेछ ।’ जिल्लाबाट ६० जना सहभागि हुने प्रस्ताव विधानका लागि तयार भएको छ ।

आइसीसीले अनावश्यक सरकारी हस्तक्षेप भएको भन्दै २४ अप्रिल अर्थात् २०७३ वैशाख १३ गते नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको थियो । २४ अप्रिलमा दुबईमा बसेको आइसीसी बोर्ड बैठकले क्यानलाई निलम्बन गरेको हो । निलम्बनपछि क्यानले आइसीसीबाट कुनै सहयोग पाएको छैन । प्रतियोगिता र सहभागिता आइसीसीकै निगरानीमा भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ