arrow

स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल अग्रस्थानमा

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
pregenent.jpg

काठमाडौँ । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल दक्षिण एशियामा अग्रस्थानमा उक्लिएको छ । सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रमलाई सरकारले उच्च प्राथमिता दिई हरेक गर्भवती आमाको पहुँचसम्म पुर्‍याएकाले नेपालले प्रजनन स्वास्थ्य क्षेत्रमा एकपछि अर्को उपलब्धि हासिल गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव प्रा डा किरण रेग्मीका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेको संख्या ६० प्रतिशत पुगेको छ । उनका अनुसार यो प्रतिशत दक्षिण एशियामा अग्रस्थानको हो । मन्त्रालयले प्रजनन स्वास्थ्य सेवासित सम्बन्धित सबै सेवालाई निःशुल्क गरेको छ । यसै सेवासित सम्बन्धित आङ खस्ने, पाठेघरलगायतका सेवा पनि निःशुल्क नै हुने गरेको छ ।

हाल मातृ मृत्युदर प्रति एक लाखमा १३४ मा झरेको छ । शिशु मृत्युदर प्रति एक लाख जीवित जन्ममा २१ रहेको छ । २८ दिनसम्मको शिशुलाई नवजात शिशु भनिन्छ । मन्त्रालयले आगामी सन् २०२० सम्ममा मातृ मृत्युदर ९० र शिशु मृत्युदर शून्यमा नै झार्ने अति महत्वाकांक्षी योजना कार्यान्वयन गरिराखेको छ ।

सचिव प्रा डा रेग्मीले मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउन मन्त्रालयले यससम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउछन् ।

यसैबीच नेपालले शिशु तथा मातृ मृत्युदरमा कमी ल्याउन गरेका प्रयासका बारेमा विश्वव्यापी बहस शुरु भएको छ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घद्वारा आयोजित सुरक्षित मातृत्वसम्बन्धी चारदिने अन्तर्राष्ट्रिय बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ ।

बैठकमा नेपालसहित दक्षिण एशियासहित १६ देशका प्रतिनिधि सहभागी रहेका छन् । बैठकमा सुरक्षित मातृत्वका लागि स्थापित अन्तर्राष्ट्रिय संस्था ग्लोबल ह्वाइट रिबन एलाइन्स फर सेभ मदरहुडका आबद्ध देशका प्रतिनिधिले आ–आफ्ना देशमा सुरक्षित मातृत्वसम्बन्धी सञ्चालित कार्यक्रमका समीक्षा गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ