arrow

सुत्केरीले उपचार नपाएर अकालमा मृत्यु नहोस् : प्रधानमन्त्री देउवा

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
duba-sutkeri.jpg

काठमाडौं ।   प्रधानमन्त्री शेरबहादुर देउवाले सुत्केरी बेथामा उपचार नपाउदा महिलाको अकालमा मृत्यु हुनु नहुने बताएका छन् ।  सुरक्षित मातृत्व सञ्जाल महासङ्घद्वारा आयोजित सुरक्षित मातृत्वसम्बन्धी चारदिने अन्तर्राष्ट्रिय बैठकको उद्घाटन गर्दै देउवाले  नेपालको संविधानले नै गुणस्तरीय स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा स्थापित गरेको उल्लेख गर्दै यसले स्वास्थ्यमा आमनागरिकको पहुँचमा उल्लेख्य सुधार आउने विश्वास व्यक्त गरे।

उनले स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकारका कार्यक्रम केन्द्रित रहेको चर्चा गर्दै लक्ष्यमध्ये पनि सुरक्षित मातृत्वसम्बन्धी लक्ष्य हासिल गर्न स्वास्थ्य मन्त्रालयले ध्यान दिएको छ भने।

प्रधानमन्त्री देउवाले भने– “अझै ग्रामीण क्षेत्रका विपन्न महिलाको सुरक्षित मातृत्वसम्बन्धी स्वास्थ्यमा पहुँच कम छ, यस चुनौतीलाई सामूहिकरुपमा तत्काल सम्बोधन हुनुपर्छ, प्रसूतिसम्बन्धी बेथा लागेकै कारण समयमा उपचार नपाएर एकजना पनि महिलाको मृत्यु हुनुहुँदैन, जन्मेका शिशुको पनि उपचार हुन नपाएर अकालमा मृत्यु हुनुहुँदैन ।”

हालै सम्पन्न स्थानीय तहको निर्वाचनले महिला सशक्तीकरणमा कोशेढुंगाको काम गर्ने चर्चा गर्दै प्रधानमन्त्री देउवाले यसले तल्लो तहमा महिलाको आर्थिक, सामाजिक, राजनीतिक तथा सुरक्षित मातृत्वमा समेत परिवर्तन आउने विश्वास व्यक्त गरे। उनले स्थानीय तहअनुसार स्वास्थ्य क्षेत्रको पुनःसंरचना गर्दा सुरक्षित मातृत्व कार्यक्रमलाई सुरक्षित स्वास्थ्य प्रणालीमा आबद्ध गरिनुपर्छ भने।

विसं २०५३ मा स्थापना भएको महासङ्घले सुरक्षित मातृत्व तथा नवजात शिशु स्याहारको सम्बन्धमा तल्लो तहसम्म जनस्तरमा चेतनामूलक कार्यक्रम, नीतिनिर्माण तहमा वकालत गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ