arrow

काँग्रेसको प्रचार संयन्त्र कमजोर भयोः डा.महत

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
prakash-sharan-mahat.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको प्रचार संयन्त्र कमजोर भएको र आफ्ना कुरा जनसमक्ष लान नसकेकोले स्थानीय निर्वाचमा काँग्रेस दोस्रो पार्टी बन्नुपरेको बताएका छन् । नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सोमबार आफ्नो धारणा राख्दै उनले नेपाली काँग्रेसले संविधान जारी भएदेखि आजसम्म देशमा संघीय लोकतन्त्रको संस्थागत विकास र संविधानको कार्यान्वयनका पक्षमा धेरै काम गरेको भएपनि यसलाई जनतासमक्ष पुर्‍याउन नसकिएको बताए ।

सो बैठकमा उनले भने – संविधान जारी गर्नेदेखि लिएर संविधानमा महिला र विभिन्न जातजातिको अधिकारको व्यवस्था, २० बर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गर्ने तथा मधेशी जनतालाई पनि उनीहरुको भावना बुझेरै संविधान संशोधनको पहल र तीन चरण गरेर भएपनि उनीहरुलाई चुनावमा ल्याउने काम काँग्रेसले नै गरेको हो तर त्यसलाई हामीले जनतासम्म जस्ताको त्यस्तै पुर्याउन सकेनौँ ।

उता, एमालेले भने चुनावको मुखमा आएर एकोहोरो र काँग्रेसका विरुद्धमा अनर्गल प्रचार गरी चुनावमा मात्र केन्द्रित भएको र यस्तो प्रचारलाई पनि हामीले प्रतिरक्षा गर्नसक्नेगरी सञ्चारको संयन्त्र निर्माण गर्न नसकेको देखिएको उनले बताए । तर, पनि आफूले नेपाली काँग्रेस र एमालेको बीचमा ३०÷४० हजारभन्दा बढी मतको अन्तर नरहेकोले यो अवस्थालाई हारको मानसिकताबाट कदापि नलिन आफूले समग्र काँग्रेसका कार्यकतालाई सुझाव दिएको पनि उनले बताए । 

अब झनधेरै निर्वाचनहरु आइरहेकाले यो बिगतको पाठबाट सिकेर बलियो रुपमा काँग्रेस अघि बढ्नुपर्ने उनले बताए । उनले भने, अब सधैँ हारको मानसिकता लिने, नेतृत्वलाई मात्र गाली गर्ने र काँग्रेस खतम भयो भन्नेजस्ता अभिव्यक्ति पार्टीकै जिम्मेवार व्यक्तिले भन्ने गर्नाले अबका निर्वाचनमा काँग्रेसलाई झन कमजोर बनाउछ भन्ने तथ्य सबैले बुझ्नुपर्ने उनको सुझाव थियो ।

काँग्रेसले इतिहासमा ठूला काम गरेको छ र देशमा महत्वपूर्ण परिवर्तनको घडीमा सधैँ काँग्रेस नै चाहिएको वास्तविकतालाई अब पार्टीले दरिलो प्रचार संयन्त्रमार्फत जनतामा पुर्याउनुपर्ने काममा लाग्न उनले सबैलाई आग्रह पनि गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ