arrow

१२ बुँदे निर्णय गर्दै काँग्रेस केन्द्रीय समिति बैठक सम्पन्न (पूर्णपाठ)

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
congress-party-office-1.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको श्रावण ७ गते देखि जारी बैठक पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा सोमबार सम्पन्न भएको छ । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा, प्रदेश नं। २ को चुनावको तयारी एवं समसामयिक विषयमा केन्द्रीत रहेर तीन दिनसम्म चलेको बैठकमा पार्टीका नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव एव‌ं विभिन्न केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राखेका थिए । 

बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ती अनुसार काँग्रेसले १२ बुँदे निर्णय गरेको छ । बैठकपछि जारी विज्ञप्तीको पूर्णपाठ तल प्रस्तुत गरिएको छ । 

बैठकको निर्णयहरु यस प्रकार रहेको छ—
१. नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहित अन्य राजनीतिक दलहरुको सहमतिमा संयुक्त सरकारको गठन भएको थियो । पूर्ववर्ती सहमतिको आधारमा अहिले नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाको नेतृत्वमा मन्त्रिपरिषद्को गठन भएको छ । श्री शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाइँ ज्ञापन गर्दै उहाँको कार्यकालको पूर्ण सफलताको लागि यो बैठक शुभ–कामना व्यक्त गर्दछ । 

२. नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गर्न सहयोग गर्ने व्यवस्थापिका–संसदभित्र रहेका सबै राजनीतिक दलहरुलाई नेपाली कांग्रेसको यो बैठक हार्दिक धन्यवाद व्यक्त गर्दछ । 

३. नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको नेपालको संविधान कार्यान्वयनको ऐतिहासिक अभिभारा पनि नेपाली कांग्रेसको काँधमा आएको छ । संविधानको सर्वस्वीकार्यता स्थापित गर्ने, संविधानको कार्यान्वयन गर्दै संविधानमा उल्लेख भएको समय सीमा भित्र स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचन गर्नु राष्ट्रिय एजेण्डा हुन् । यी एजेण्डालाई सम्पादन गर्न २०७४ माघ ७ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी सफलताका साथ पुरा गर्न र यो अभियानको नेतृत्व लिन नेपाली कांग्रेस दृढ संकल्प गर्दछ । निर्वाचन सम्पन्न गर्न कानूनी व्यवस्था र शान्ति सुरक्षा लगायतका सबै आवश्यक प्रबन्ध गर्न र राजनीतिक वातावरण बनाउन सरकारलाई अनुरोध गर्दछ । 

४. नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक मधेशी मोर्चा, संघीय गठवन्धन, राष्ट्रिय जनता पार्टी लगायत सबै राजनीतिक दलहरुसँग विगतमा भएका सबै सहमति कार्यान्वयन गर्न नेपाली कांग्रेस प्रतिवद्ध छ । नेपाली कांग्रेस व्यवस्थापिका–संसदमा विचाराधीन रहेको नेपालको संविधान संशोधन विधेयक पूर्व सहमति अनुरुप पेश गरी पारित गर्न तयार रहेको छ । उक्त विधेयक पारित गरी संविधानको स्वीकार्यता विस्तार गर्न र आगामी सबै तहका निर्वाचनको वातावरण सहज बनाउन प्रमुख प्रतिपक्ष नेकपा (एमाले) लगायत सबै राजनीतिक दलहरुलाई हार्दिक अपील गर्दछ । उल्लेखित सहमति अनुरुप कार्य गर्न सरकारसँग आग्रह गर्दछ । 

५. आम नगारिकका जनजिविकाका सवाल र नेपालीले भोग्नु परेको विविध समस्याका प्रति अत्यन्त संवेदनशील भई जनताका हक हितमा कार्य गर्न र विकास निर्माणका कार्य दु्रत गतिमा सम्पन्न गर्न यो बैठक सरकारको ध्यान आकर्षण गर्दछ । 

६. स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । संविधानको कार्यान्वयनको सन्दर्भमा यो अत्यन्त महत्वपूर्ण कार्य भएको छ । यो ऐतिहासिक कार्यमा नेतृत्व गर्न सफल भएकोमा नेपाली कांग्रेस गर्व गर्दछ । पहिलो चरणको निर्वाचन सम्पन्न गर्ने श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने श्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । नेपाली जनताले निर्वाचनमा उत्साहपूर्वक भाग लिएका छन् । निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, निर्वाचन आयोग, पत्रकार, राष्ट्र सेवक कर्मचारी, सबै सुरक्षा निकाय, प्राध्यापक, शिक्षक, वकिल, पर्यवेक्षक लगायत आम मतदाता सबैमा नेपाली कांग्रेस हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।  

७. स्थानीय तहको दुई चरणको निर्वाचनमा नेपाली कांग्रेसले आशा गरे अनुसारको परिणाम प्राप्त गर्न सकेन । राष्ट्रिय राजनीतिमा महत्व राख्ने आर्थिक–सामाजिक एवं राजनीतिक सवालमा नेपाली कांग्रेस सदैव नेपाल र नेपालीको पक्षमा दृढ संकल्पीत भएर उभिएको छ । निर्वाचनमा उम्मेदवारी चयनमा ढिलाई हुनु, आन्तरिक द्वन्द, असन्तुष्टि व्यवस्थापन गर्न समयको अभाव र कतिपय स्थानमा पार्टीकै साथीहरुबाट असहयोग र अन्तरघात भएका कारण निर्वाचनमा अनपेक्षित परिणाम आएको छ । त्यसका वावजुद लोतान्त्रिक प्रकृयाबाट प्राप्त सबैको जितलाई उच्च सम्मान एवं मतदाताले नेपाली कांग्रेसलाई दिएको प्रत्येक मतप्रति यो बैठक हार्दिक आभार प्रकट गर्दै निर्वाचनका मार्फत् व्यक्त जनमतको कदर गर्दछ । निर्वाचनका सन्दर्भमा पार्टीबाट भएका कमी कमजोरी सच्याउने र निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने वा अन्तरघात गर्ने पार्टी सदस्यहरुलाई पार्टीको विधान र नियमावली बमोजिम आवश्यक कारवाहीका लागि आन्तरिक प्रकृया प्रारम्भ गर्ने निर्णय गर्दछ । 

८. तेस्रो चरणको स्थानीय तहको निर्वाचनका सन्दर्भमा २०७४ श्रावण ५ र ६ गते प्रदेश नं. २ का नेपाली कांग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, सांसद, पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री, पूर्व सांसद, क्षेत्रीय सभापति, संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्ष तर्फका उम्मेदवारका प्रत्यासी, नगर सभापति समेतका नेताहरुको काठमाडौँमा सम्पन्न भेलाले निकालेको निष्कर्षलाई सकारात्मक रुपमा ग्रहण गर्ने निर्णय गर्दछ । 

९. नेपाली कांग्रेसलाई अग्रता दिलाउन प्रदेश नं. २ का पार्टीका सबै निकाय, भ्रातृ संस्था, शुभेच्छुक संस्था सहित पार्टीका सबै सदस्यहरुलाई परिचालन गर्ने निर्णय गर्दछ । नेपाली कांग्रेस सदैव समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी जनताको पक्षमा रही काम गर्दै आएको र तराई–मधेशका सबै भावनासँग आत्मसात् गर्न दृढ संकल्प रहेको तथ्यलाई मध्यनजर गर्दै नेपाली कांग्रेसका पक्षमा मतदान गर्न सबै मतदातामा हार्दिक अपील गर्ने निर्णय गर्दछ । 

१०. हालै सप्तरी, कास्की, सिन्धुपाल्चोक लगायत देशका विभिन्न भू–भागमा गएका बाढी पहिरोका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितलाई उचित राहत, क्षतिपूर्ति तथा उचित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गर्दछ । 

११. न्यून वर्षाका कारण सुख्खा भई देशका विभिन्न भू–भागका खेतीयोग्य जमीनमा धानखेती लगायत अन्य कृषिवाली लगाउन नपाएका किसानहरुलाई उचित राहत वितरण गर्नका लागि नेपाल सरकारसँग मांग गर्दछ । 

१२. देशका विभिन्न जिल्लामा हालसालै घटेका महिला तथा बालबालिकाप्रतिको लैङ्गिक हिंसा एवं अमानवीय घटनाहरुको निन्दा गर्दै त्यस्ता घटनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याई तत्काल कार्वाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति सहित न्याय दिलाउन नेपाल सकारसँग मांग गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ