arrow

विश्वकप क्रिकेट छनोटः अफगानिस्तानबाट नेपाललाई १९६ रनको लक्ष्य

logo
प्रकाशित २०७४ साउन १० मंगलबार
cricket-ballhitting-wickets.jpg.jpeg

काठमाडौँ । आइसिसी उन्नाइस वर्षमुनि (यु १९) विश्वकप छनोटअन्तर्गत मंगलबार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १९५ को योगफल बनायो । सिंगापुरमा भइरहेको खेलमा अफगानिस्तानका लागि ओपनर इब्राहिम जद्रानले ११४ बलमा पाँच छक्का र सात चौका प्रहार गर्दै १०१ रनको योगदान दिए ।

त्यस्तै इक्रम अल खलिलले २४ रन जोडे । जद्रानले खलिलसँग मिलेर ७४ रनको साझेदारी गरेका थिए । अफगानिस्तानका अर्का ओपनर नवीद ओबेदले २२ रन जोडे भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि साहब आलमले ४ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले ३ तथा कप्तान सन्दस्प लामिछाने र पवन शर्राफले एक एक विकेट हात पारे । डबल राउण्ड रोबिन लिगका आधारमा भएको उक्त प्रतियोगिताअन्तर्गतका यसअघि भएका पाँच खेलमा नेपालले चार खेल जितेको छ ।

प्रतियोगितामा यसअघिको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । विश्वकपमा आफनो स्थान सुरक्षित गर्न नेपालले अफगानिस्तानलाई फराकिलो रन अन्तरले पराजित गर्नुपर्नेछ अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । रन अन्तर कम भएमा अफगानिस्तानलाई हराए पनि नेपाल विश्वकपका लागि छनोट हुने सम्भावना छैन ।

प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुने प्रावधान छ । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ