arrow

राष्ट्रपति कार्यालय प्रेसप्रति अनुदार, शपथ कार्यक्रममा पत्रकारलाई रोक

logo
प्रकाशित २०७४ साउन ११ बुधबार
sital-niwas.jpeg

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदार बन्दै गएको छ । कहिले पत्रकारलाई ‘ड्रेस कोड’ को नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा प्रवेश नै रोकेर शीतल निवास विवादमा पर्दै आएको छ । 

मुलुकको सम्मानित निकायमा आबद्ध अधिकारीहरूको अपरिपक्व निर्णयले राष्ट्रपतिलाई नै अनावश्यक विवादमा तानेको विज्ञहरूले बताएका छन् । 

शीतल निवासले एक वर्षदेखि नै मन्त्रीहरूको शपथलगायत कुनै पनि सार्वजनिक कार्यक्रमको समाचार संकलन र तस्बिर लिन निजी सञ्चार माध्यमलाई रोक्दै आएको छ ।

‘निजी सञ्चार माध्यमका प्रतिनिधि निषेध गरेको एक वर्ष भइसक्यो,’ वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले भने, ‘राष्ट्रपति कार्यालयमा मिडिया बुझेका र संयोजन गर्न सक्ने अधिकारी नै देखिएन । पटक–पटक प्रेसलाई दुस्ख दिने काम भएको छ ।’ 

प्रधानमन्त्रीको शपथमा मात्र शीतल निवासले निजी सञ्चारमाध्यमका प्रतिनिधिलाई बोलाउने गरेको छ । त्यसमा पनि राष्ट्रिय पोसाक वा औपचारिक पोसाक हुनुपर्ने भनी सूचना जारी गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डल सम्भवतः बुधबार विस्तार भई शीतल निवासमा शपथ कार्यक्रम हुनेछ । 

प्रधानमन्त्री सचिवालयले मंगलबार नै हुन सक्ने भनी मंगलबार साँझ ५ बजेको समय शपथका लागि जानकारी गराएको थियो ।

तर, निजी सञ्चार माध्यममा खबर गरिएको थिएन । तर, मन्त्रिमण्डल विस्तार नै हुन नसकेको जानकारी पछि शीतल निवासलाई गराइएको थियो । (कान्तिपुर दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ