arrow

कमल थापाले देउवालाई यसरी दिए कटाक्षपूर्ण स्यावासी (वक्तव्यसहित)

logo
प्रकाशित २०७४ साउन १४ शनिबार
kaml_thapa.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा सहभागि नगराएकोमा धन्यवाद दिएका छन् ।

थापाले कटाक्षपूर्ण शैलीमा धन्यवाद दिएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लामो वक्तव्य पोष्ट गरेका छन् ।
अध्यक्ष थापाले राप्रपा सत्तामुखी राजनीतिबाट अलग हुने मौका पाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका हुन् ।

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा राप्रपालाई समावेश नगरेपछि शुक्रबार मात्रै राप्रपाले देउवा सरकारमा जाने अध्याय समाप्त भएको औपचारिक घोषणा गरेको थियो । सरकारमा सहभागि हुने अध्याय समाप्त भएको घोषणा गरेकै भोलिपल्ट शनिबार अध्यक्ष थापाले देउवा सरकारमा जाने साइत नजुरेको र अब अध्यायनै समाप्त भएको उल्लेख गरेका हुन् ।
अध्यक्ष थापाले प्रधानमन्त्री देउवाले उपप्रधानसहित चार मन्त्रालय लिएर सरकारमा सहभागी हुन अनुरोध गरेको कुरा समेत खोलेका छन् ।

उनले भनेका छन्, ‘राप्रपालाई नियतिले फेरी एक मौका दिएको छ । सत्ताकेन्द्रित र सत्तामुखि राजनीतिबाट अलग भै सिद्धान्त र आदर्शको राजनीति गर्ने तथा संगठन निर्माण र सुदृढिकरणमा केन्द्रित रहने । हाम्रो छनौट भन्दा पनि यो अवसर प्रधानमन्त्रि शेरबहादुर देउवाको सौजन्यताबाट प्राप्त भएको हो ।’

पार्टीभित्रको आन्तरिक गतिशीलता एवं परिस्थितिसँग सम्झौता गर्नु पर्ने अवस्थाको पृष्ठभूमिमा राप्रपाले देउवालाई प्रधानमन्त्री निर्वाचनमा मतदान गरेको हो सम्झँदै थापाले आगाडि भनेका छन्, ‘सरकारमा सहभागी हुनेवारे राप्रपा भित्र एकमत थिएन । तथापि प्रधानमन्त्रिलाई भोट हालेको र सरकारलाई समर्थन गरेको हुंदा स्वभाविक रुपले राप्रपा सरकारमा सहभागि हुने मनस्थितिमा थियो । प्रधानमन्त्रि देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपाका वरिष्ठ नेता पशुपती शमसेर राणा र म स्वयंको उपस्थितिमा उप्रप्रधानमन्त्रि सहित चार मन्त्रालय लिएर सरकारमा सहभागि हुन आग्रह पनि गर्नु भएको हो ।’

उनले भनेका छन्, ‘अन्ततः मन्त्रिपरिषदको दोस्रो बिस्तार पनि भयो । कारण जेसुकै होस् तर, राप्रपा सरकारमा जाने साईत जुरेन । अब शेरबहादुर देउवाको नेतृत्वमा बनेको वर्तमान सरकारमा राप्रपा सहभागी हुने अध्याय समाप्त भएको छ । कुनै वार्गे्निङ वा मोलतोलले राप्रपाको यो निर्णयलाई प्रभावित गर्न सक्दैन ।’

वक्तव्य

राप्रपालाई नियतिले फेरी एक मौका दिएको छ । सत्ताकेन्द्रित र सत्तामुखि राजनीतिबाट अलग भै सिद्धान्त र आदर्शको राजनीति गर्ने तथा संगठन निर्माण र सुदृढिकरणमा केन्द्रित रहने । हाम्रो छनौट भन्दा पनि यो अवसर प्रधानमन्त्रि शेरबहादुर देउवाको सौजन्यताबाट प्राप्त भएको हो । पार्टीभित्रको आन्तरिक गतिशीलता एवं परिस्थितिसंग सम्झौता गर्नु पर्ने अवस्थाको पृष्ठभूमीमा राप्रपाले देउवालाई प्रधानमन्त्रि निर्वाचनमा मतदान गरेको हो । सरकारमा सहभागी हुनेवारे राप्रपा भित्र एकमत थिएन । तथापि प्रधानमन्त्रिलाई भोट हालेको र सरकारलाई समर्थन गरेको हुंदा स्वभाविक रुपले राप्रपा सरकारमा सहभागी हुने मनस्थितिमा थियो । प्रधानमन्त्रि देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपाका बरिष्ठ नेता पशुपती शमसेर राणा र म स्वयंको उपस्थितिमा उप्रप्रधानमन्त्रि सहित चार मन्त्रालय लिएर सरकारमा सहभागि हुन आग्रह पनि गर्नु भएको हो ।
अन्ततः मन्त्रिपरिषदको दोस्रो बिस्तार पनि भयो । कारण जेसुकै होस् तर, राप्रपा सरकारमा जाने साईत जुरेन । अब शेरबहादुर देउवाको नेतृत्वमा बनेको वर्तमान सरकारमा राप्रपा सहभागी हुने अध्याय समाप्त भएको छ । कुनै वार्गेनिङ वा मोलतोलले राप्रपाको यो निर्णयलाई प्रभावित गर्न सक्दैन ।

यसलाई म नियति कै निर्णय मान्दछु । राप्रपा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति हो । २०६२/६३ को आन्दोलन पछि परिवर्तनलाई संस्थागत गर्नेक्रममा अबलम्वन गरिएका नीति र मार्गचित्र राष्ट्रहित अनुकुल नहुने ठहर गरि वैकल्पिक बिचार र बाटोसहित नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा क्रियाशील हुंदै आएको छ । सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानिय स्वायत्त शासन प्रणाली र आर्थिक उदारवाद राप्रपाको मुख्य बैचारिक आधारस्तम्भहरु हुन् । सबल र सम्बृद्ध नेपाल हाम्रो लक्ष्य हो । राप्रपाले संबिधानलाई आलोचनात्मक समर्थन गरेको छ । संबिधान र संबैधानिक व्यवस्थासंग सहकार्य गर्दै प्रजातान्त्रिक बाटोबाट जनताको अभिमत प्राप्त गरि आफ्नो मान्यता र लक्ष्य स्थापित गर्ने राप्रपाको घोषित नीति हो । यो मान्यतालाई थप बलियो बनाउने उदेश्यका साथ राप्रपा नेपाल र राप्रपा बिच ऐतिहासिक एकता समेत भएको हो ।

यस प्रकार राप्रपाको बिचार र बाटो स्पष्ट छ । तर, केही समय यता पार्टी सत्तामुखि हुंदै गएको तथा सिद्धान्तबाट बिचलित भएको अनुभुती पार्टी कार्यकर्ता तथा सहयोगी शुभचिन्तकहरुमा तिव्ररुपले भैरहेको थियो । यसैबिच स्थानिय तहको दुईचरणको चुनावमा राप्रपाको परिणाम निराशाजनक रह्यो । उपरोक्त पृष्ठभूमीमा पार्टी भित्र गंभीर आत्मसमिक्षा र 'कोर्स करेक्सन'को आबश्यकता अनिवार्य हुन गएको थियो । हामी त्यो आंट जुटाउन सकिरहेका थिएनौ । आखिर नियतिले त्यो परिस्थिति निर्माण गरिदिएको छ । राप्रपाले फेरी एकपटक मौका पाएको छ । यसअर्थमा शेरबहादुरजीलाई धन्यवाद दिनु आबश्यक ठान्दछु । यो अवसरलाई गुमाउने धृष्टता हामी गर्न सक्दैनौ । भगवानले हामीलाई सत् बिचार, सत् बुद्धि र सत्मार्ग प्रदान गरुन्। सबैको जयहोस्।
हेटौडा, २०७४ श्रावण १४



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ