arrow

यस्तो छ कतार संकटले नेपालीमा पारेको असर 

logo
प्रकाशित २०७४ साउन १५ आइतबार
Qatar.original.3454.jpg.jpeg

काठमाडौं । चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन् । केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन् ।

नेपालीको समस्याबारे दोहास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराएको छ । ‘केही कतारी कम्पनीले विदेशी कामदारको डिमान्ड नगरेको सत्य हो । केही कम्पनीले नेपालबाट कामदार लिने प्रक्रिया रद्द गरेका छन्,’ कतारस्थित नेपाली राजदूत रमेश कोइरालाले भने । 

तर, कति कतारी कम्पनीले नेपालबाट डिमान्ड लिन छाडे भन्ने तथ्यांक दूतावास र म्यानपावर एजेन्सीसँग छैन ।

राजदूत कोइरालाले कतारमा हाल कार्यरत नेपालीको रोजगारीमा असर नपरेको बताए । ‘कोही पनि नेपालीले कतारमा जागिर गुमाएका घटना हालसम्म दूतावासको जानकारीमा आएको छैन । उनीहरूको जागिर संकटमा परेको सुनिएको छैन,’ उनले भने ‘३० नेपालीको रोजगारी गुम्यो ।’

तर, दुई मुलुकबीच कूटनीतिक सम्बन्ध तोडिएका कारण साउदीस्थित कतारको लगानीमा रहेका कम्पनीमा काम गर्ने नेपालीमाथि परेको छ । 

कतारका नागरिकको लगानीमा साउदी अरेबियामा सञ्चालित कृषि र पशुपालन व्यवसायमा कार्यरत ३० भन्दा बढी नेपाली कामदारको रोजगारी गुमेको छ । 

उक्त संख्या अरू बढी पनि हुन सक्ने उनीहरूको भनाइ छ । ती नेपाली पशुपालन र कृषिलगायत पेसामा संलग्न थिए । उनीहरूमध्ये केही ट्रक ड्राइभर पनि छन् । कतार र साउदीबीच कूटनीतिक सम्बन्धविच्छेदको अवस्था छ । कतारले साउदीमा लगानी गर्ने व्यवसायी त्यसबाट प्रत्यक्ष प्रभावित भएका छन् ।

खाडी मुलुकले कतारसँगको जल, स्थल र हवाई सम्पर्क विच्छेद गरेको घोषणापछि नेपालीलाई पर्न सक्ने समस्याबारे सतर्क रहन सरकारको निर्देशन दिएको थियो ।

साउदीस्थित नेपाली दूतावासका उपप्रमुख आनन्द शर्माले कतारी नागरिकले सञ्चालन गरेका कम्पनीमा केही नेपालीको रोजगारी संकटमा परेकोबारे बुझ्ने काम भइरहेको जानकारी दिए । ‘हामी ती नेपाली साउदीमा कहाँ कुन अवस्थामा छन् पत्ता लगाएर उद्धार गर्न प्रयास गर्नेछौं’, उनले भने ।

कतारका नागरिकले चलाएका कम्पनीमा नेपाली समस्यामा परेको सम्बन्धमा दोहास्थित नेपाली दूतावासले साउदीस्थित नेपाली दूतावासलाई जानकारी गराएको उनले बताए ।

‘यसरी समस्यामा परेका नेपालीले हामीसँग सम्पर्क गरेका छैनन् । आफ्नै ढंगले उनीहरूको जानकारी लिन प्रयासमा छौँ’, शर्माले भने ।

कतारमाथि नाकाबन्दी लगाउँदै आएको प्रमुख मुलुक साउदीले कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गर्दै कतारमाथि हवाई र जमिनबाट आवागमनमा रोक लगाएको छ । 

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले ५ जुनदेखि कतारमाथि नाकाबन्दी गरिरहेका छन् । कतारले आतंकवादलाई प्रश्रय दिएको आरोप ती मुलुकले लगाए पनि उसले त्यसको खण्डन गरेको छ । 

श्रम स्वीकृति लिनेको संख्या घट्यो
वैदेशिक रोजगार विभागका अनुसार असारमा कतार जान स्वीकृत लिने नेपालीको संख्या पहिलेको तुलनामा घटेको छ । मासिक औसत ९ हजार नेपालीले कतार जान स्वीकृति लिने गरेकोमा असारमा ५५ सयले स्वीकृति लिएको विभागका प्रवक्ता मोहन अधिकारीले बताए । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ