arrow

सर्वेन्द्र खनाल र विद्यासून्दर शाक्य एकै ठाउँमा

logo
प्रकाशित २०७४ साउन १६ सोमबार
dig-sarbndra-mayor-ktm.jpg

काठमाडौँ । उपभोक्ता हित संरक्षण मञ्चले काठमाडौँ उपत्यकाको ट्राफिक समस्या समाधान गर्न सरोकारवाला छलफल गरेको छ ।

मञ्चले काठमाडौं महानगरका प्रमुख विद्यासून्दर शाक्य, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालसहित सरोकारवालासँग छलफल गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा मञ्चले गरेको छलफलमा दिनदिनै चुनौतीपूर्ण बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक व्यवस्थापनसम्बन्धी जनचेतनालाई अभियानकै रुपमा लैजानुपर्ने सुझाव आएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको सवारी चाप कम गर्न ‘पार्किङ महल’को खाँचो रहेको बताए ।  “ठूला सवारीसाधनलाई प्रोत्साहन गर्ने महानगरपालिकाको नीति हो, अब महानगरपालिकाले फुटपाथ हटाउने, आकाशे पुल निर्माण गर्ने कामलाई उच्च प्राथमिकता दिनेछ”, उनले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक समस्या समाधानका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताए । प्रमुख खनालले उपत्यकाका अधिकांश सडक खाल्टा हुँदै गएको भन्दै चाँडो खाल्टा पुर्न सम्बन्धित निकायसँग आग्रहसमेत गरे ।

सडक विभागका क्षेत्रीय निर्देशक शिवहरि सापकोटाले मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउँदा उपत्यकाका धेरै सडकको संरचना खल्बलिएको हुँदा यसलाई चाँडो निर्माण गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पूर्वाधार विकास नभएसम्म उपत्यकाको ट्राफिक समस्या समाधान नहुने बताए । उनले ६० हजार मालबाहक सवारीसाधनका लागि छुट्टै बसपार्क आवश्यक रहेको स्पष्ट पारे ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले उपत्यकाको ट्राफिक समस्या समाधानका लागि सबै पक्ष एकजुट हुुनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ