arrow

हिटलरको किस्सा सुनाउँदै प्रचण्डले भने– हाम्रो सुर ताल नै हरायो, अब हामी सुर तालसहित नाच्नुपर्छ

कांग्रेस, एमालेको किरा परेको पिठो बिक्न नदिऔँ

logo
प्रकाशित २०७४ साउन १६ सोमबार
dahal_g.jpg

धनुषा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी नश्लवादी, जातिवादी र अन्धराष्ट्रवादी नभएको बताएका छन् ।

धनुषाको जनकपुरमा २ नम्बर प्रदेशको पार्टी प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफुहरु उत्पीडितहरुको बलियो एकतामार्फत् राष्ट्रिय एकता र सद्भाव स्थापित गर्न चाहिरहेको तर, जातिवादी नभएको बताएका हुन् ।

उनले भने, ‘हिटलर राष्ट्रवादको नारा दिएर नै जर्मनीको सत्तामा हाबी भयो । नश्लवादी राष्ट्रवादले अन्ततः जाति जातिलाई लडाउँछ र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । अन्धराष्ट्रवाद अन्तिममा फासीवादमा बदलिन्छ, नेपालमा पनि यो अभ्यास गर्न खोजिएको छ ।’

मधेशी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोज्दैछन्, उनले भने, ‘उनीहरु एउटा जातिलाई काखी च्यापेर अरु जातिमाथि छुरा हान्न खोज्दै छन् ।’

अध्यक्ष दाहालले हामीले उठाएको जातीय मुक्तिको नारा हिमाल, पहाड र तराई–मधेशका गरीब र उत्पीडितहरुलाई एकताको एउटै सुत्रमा बाँध्ने नारा हो, भने । उनले एमाले र मधेशी दलले लिएजस्तो जाति–जाति भिडाउने नारा होइन ।

मधेशी जनताको मुक्तिका लागि १३ हजार जनाले सहादत गरेका छन्, उनले भने, ‘मधेशको अधिकारका लागि लड्ने एक मात्र पार्टी माओवादी हो ।’ मेरो प्रधानमन्त्रीकाल नै हिमाल, पहाड र तराई–मधेशलाई एकताको सुत्रमा बाँध्ने र राष्ट्रिय एकता हासिल गर्ने सफल कार्यकाल हो ।

यस्तै, उनले २ नम्वर प्रदेशमा माओवादी केन्द्र पहिलो बन्ने आधार, पृष्ठभूमि र सम्भावना रहेको सुनाएका छन् । दाहालले भने, ‘प्रदेशमा माओवादी केन्द्रलाई पहिलो बनाउनु छ । त्यसका लागि युद्दस्तरमा निर्वाचन अभियानमा जानुपर्छ ।’ भ्रम चिरियो र सत्य स्थापित भयो भने माओवादीले जित्छ, उनले भने, ‘अरु पार्टीहरुले भ्रमको खेती गरेका छन् । तर, माओवादीले आफूलाई काममा खरो प्रमाणित गरिसकेको छ ।’

माओवादी भनेको ध्वस्त गर्ने, भत्काउने, बिगार्ने पार्टी होइन, दाहालल थपे, ‘कसैले त्यस्तो सोच्छ भने त्यो भ्रम हो । विकास, समृद्धि र उज्यालो नेपालको मेरो अभियानले त्यसलाई पुरै खारेज गरिदिएको छ ।’ संविधानमा हामीले प्राप्त नगरेका कुरा छोडेका छैनौँ । हामी हाम्रा मुद्दाका पक्षमा निरन्तर लडिरहन्छौ, दाहाले भनेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भनेका छन्, ‘लोडसेडिङको अन्त्य, ७.५५ आर्थिक वृद्धि, हुलाकी राजमार्ग, फास्ट ट्रयाक निर्माण, महाकाली नदीमा पुल निर्माण र राष्ट्रिय गौरवका आयोजनामा तिब्र प्रगति इतिहासले कहिल्यै नभूल्ने उपलब्धि हुन् ।’
अब काँग्रेस–एमालेको पिठो विक्न नदिऔँ

कार्यकर्तामाझ दाहालले भने, ‘हामीले बासमति चामल फलायौ । तर, बेच्न नै लगेनौ, घरमै पोको पारेर राख्यौँ । तर, प्रतिगामीहरु कुहेको पिठो बोकेर घरघर गए । अब हामी चामल बेच्न घरघर जाऔं । कांग्रेस, एमालेको किरा परेको पिठो बिक्न नदिऔँ ।’

एमालेलाई मधेशी, जनजातिको अधिकार, संघीयता, गणतन्त्र र नयाँ संविधान मन पर्दैन । उनीहरु बाध्यतावश स्वीकार्दै छन् । बलिया भए भने परिवर्तन उल्टाउँछन् । माओवादी फुट्दा जनता रोएका छन्, सिकाउँदै उनले भने, ‘जनताको त्यत्रो अपेक्षा थियो। तसर्थ, सबै माओवादीमा अब जुट्ने बुद्धि आउनुपर्छ ।’

दाहालले अगाडि थपे, ‘प्रचण्डले पार्टी बिघटनको प्रस्ताव गर्याे भनेर हल्ला गर्दैछन् । पार्टी विघटन कल्पना नगर्दा पनि हुन्छ । तर, पार्टीका गलत संस्कृति र प्रवृत्ति भने विघटन गर्नुको विकल्प छैन ।’ हामी दौडन त दौडियौँ । तर, सुर ताल हरायो । अब हामी सुर तालसहित नाच्नुपर्छ । योजनावद्ध रुपमा संगठन निर्माणको अभियानमा जानुपर्छ ।

हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूखको मुद्दा लिएर जनतामा जान्छौ, दाहालले भनेका छन्,  ‘प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमूखले मात्र देशको स्वाधिनता जोगाउन, राष्ट्रिय एकता बलियो बनाउन र समृद्धि हासिल गर्न सकिन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ