arrow

जिसस म्याग्दीको प्रमुखमा एमालेका केसी

logo
निर्मल खत्री,
प्रकाशित २०७४ साउन १७ मंगलबार
devendra_kc.JPG

म्याग्दी। जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेका देवेन्द्र बहादुर केसी गोलापोलाद्धारा भएका छन् । जिसस गठनको लागि मंगलवार हुने मनोनयनको दर्ताको पूर्वसन्ध्यामा जिल्लाका ठुला दुई दल नेपाली काँग्रेस र नेकपा एमालेबिच भएको सहमती अनुसार गोलापोला मार्फत एमालेको पक्षमा प्रमुख परेको हो ।
 
काँग्रेस पार्टी कार्यालयमा एमाले र काँग्रेसका प्रमुख तथा शिर्ष नेताहरुको उपस्थितिमा प्रमुख र उपप्रमुखको गोलापोला गरिएको थियो । एमालेले यस अघिनै जिल्ला समन्वय समितिको उम्मेदवारको रुपमा केसीलाई पार्टीबाट सर्वसम्मत रुपमा निर्णय गरिसकेको थियो । जिसस म्याग्दीको संयोजकमा सर्वसम्मत हुन लागेका एमाले म्याग्दीका उपाध्यक्ष समेत रहेका केसी रघुगंगा गाउँपालिका–२ मा लोकप्रिय मत ल्याएर वडा सदस्यमा निर्वाचित भएका थिए ।

काँग्रेस र एमालेले गोलापोला मार्फत ९ सदस्यीय गठन हुने समन्वय समितिको संयोजक र उपसंयोजकमा गोलापोला गर्ने र प्रमुख पाउनेले ४ सदस्य र उपप्रमुख पाउनेलाई ५ सदस्य सिट निर्धारण गरिएको नेपाली काँग्रेसका जिल्ला सदस्य माधवप्रसाद रेग्मीले बताए ।
 
उनका अनुसार अब केहि समयमै जिल्ला समन्वय समितिको लागि आज हुने मनोनयन दर्ताको क्रममा सहमती अनुसार नै उम्मेदवारी दर्ता हुनेछ । काँग्रेसले उपप्रमुख सहित पाउने ५ सिटमा एक सिट माओवादी केन्द्रलाई प्रदान गरिनेछ । एमालेले काँग्रेससंग गरेको सहमती अनुसार उम्मेदवारी दर्ता गर्ने संयोजक सहितको ४ सदस्य मध्ये २ सदस्य राप्रपालाई दिने यस अघि नै सहमती भईसकेको एमाले जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए ।

दलहरुको सहमती अनुसार अब जिल्ला समन्वय समितिमा एमालेले संयोजक र एक सदस्य, काँग्रेसले उपप्रमुख र तिन सदस्य, राप्रपाले दुई सदस्य र नेकपा माओवादी केन्द्रले एक सदस्यमा मनोनयन दर्ता गर्नेछन् ।

जिल्लामा जिल्ला समन्वय समिति गठनको लागि ६ वटा स्थानीय तहका १२ जना मतदाता रहेको मध्ये काँग्रेसको ६, एमालेको ५ र राप्रपाको १ जना मतदाता रहेकाले कुनै पनि दलको स्पष्ट बहुमत नभएपछि समन्वय गरि सर्वसम्मत रुपमा जिल्ला समन्वय समिति गठन गर्ने प्रकृया अपनाईएको हो ।

आज मनोनयन दर्ता र २० गते निर्वाचन गर्ने गरि कार्यतालिका प्रकाशित भएकोमा आजनै सर्वसम्मत रुपमा उम्मेदवारी दर्ता गरि निर्विरोध गराउने तयारी गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ