arrow

मतपत्र च्यातिनुअघि यस्तो थियो भरतपुरको परिणाम

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार
Renu-Dahal_devi_Gyawali.jpg

काठमाडौं ।  चितवनको भरतपुर महानगरपालिकामा दुई महिना पछि पुन चुनावी सरगर्मी बडेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावी कार्यतालिका सार्वजनिक गरेपछि माहोल झन् तातिएको छ ।

विभिन्न पार्टीका नेता तथा कार्यकर्ता आफ्नो पक्षमा मतदान गर्न अपिल गर्दै मतदाताको घर दैलोमा पुग्न थालिसकेका छन् ।
सर्वोच अदालतले पुनःमतदान गर्न भनि निर्वाचन आयोगको निर्णय सदर गरेसँगै मतदानको मिति तोकिएको छ । भरतपुर १९ को मतदा आउँदो शुक्रबारलाई तय भएको छ । नेपाली काँग्रेसको समर्थनमा नेकपा (माओवादी केन्द्र)कातर्फबाट भरतपुर महानगरको प्रमुखका उम्मेदवार रेणु दाहालले चुनावी दौडधुप बढाएकी छन् ।

एमालेका वडास्तरका नेता कार्यकर्ता समेत भरतपुरमा भोटमाग्न थालेको महानगरका प्रमुखका उमेदवार देवी ज्ञवालीले बताएका छन् । महानगरपालिकाको मतगणना हुदै गर्दा जेष्ठ १४ गते मध्यरातमा ९० वटा मतपत्र च्यातिएपछि विवाद भएको थियो ।

विवाद बढ्दै गएपछि निर्वाचन आयोगले पठाएको छानविन टोलीले मतगणनास्थल कब्जा भएको प्रतिवेदन दिएको थियो । त्यही प्रतिवेदनका अधारमा निर्वाचन आयोगले भरतपुर १९ मा पुनः मतदान गरिनु पर्ने निर्णय गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

आयोगको निर्णयविरुद्ध भरतपुर १९ मा एमालेबाट वडा सदस्यका उमेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले पुनः मतगणनाको माग गर्दै मुद्दा दर्ता गरेका थिए ।
 

मत च्यातिनुअघिको परिणामको अवस्था यस्तो थियो

एमाले प्रमुखका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ६ सय ४१ मत ल्याएका बेला  काँग्रेस माओवादी केन्द्र गठबन्धनबाट प्रमुखकी उम्मेदवार रेणु दाहालको ४० हजार ९ सय ८ मत थियो । २७ वटा वडाको मतगणना सकेर २८औँ वडाको रुपमा भरतपुर महानगरको वडा नम्बर १९ को मतगणना हुँदै थियो ।

१९ वडामा दुई हजार ८ सय ९७ मत खसेकामा एक हजार ८ सय ९ मत गणना भइसकेको थियो । १९ नम्बर वडामा मात्रै एक हजार ८ सय ९ मत गणना गर्दा रेणु दाहालको ५१ मत बढी थियो ।

त्यसबेला वडा नम्वर १९ मा १  हजार ८८ मत गन्न बाँकी थियो भने भरतपुर २० को ३ हजार ३ सय २ मत गणना गर्न बाँकी नै थियो । रातभर गनेर भोलिपल्ट बिहान गणतन्त्र दिवसमा परिणाम घोषणा गर्ने तयारी रहेको भरतपुरको मतगणना एकाएक मतपत्र च्यातिएपछि रोकियो ।


निर्वाचन आयोगले १९ वडाका सबै मत खारेजीको निर्णय गरेसँगै दुई उम्मेदवारको आधिकारिक गणना मत २७ वडाको मात्रै रहयो । मतान्तर ७ सय ८४ रहेको बेला मतगणना रोकिएको हो । ज्ञवालीले अग्रता लिइरहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ