arrow

हजार रुपियाँ पकाएपछि सदनबाट सांसद गायब

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
samsad.jpeg

काठमाडौँ । आवश्यक गणपुरक सङ्ख्या कोरम नपुगेपछि व्यवस्थापिका संसद्को बैठक दुई दिनका लागि स्थगित भएको छ । 

शुक्रबारको बैठकको प्रारम्भमा ४७७ सांसदको हाजिर भए पनि कोरम यकिन गर्दा ९७ जना सांसदमात्र फेला परेका थिए । 

हाजिर गरेर ३८० सांसद बेपत्ता भएपछि सदनको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन ।  

सांसदहरूले सदनको बैठकमा एक दिन उपस्थित भएर हाजिर गरेबापत एक हजार रुपियाँ भत्ता पाउँछन् ।
  
गणपुरक सङ्ख्या नपुग्दा संवैधानिक आयोग गठनसम्बन्धी तीन विधेयक पारित हुन सकेनन् ।  

सांसदहरू हाजिर गरेर फर्किएपछि महत्वपूर्ण विधेयक पारित भएनन् ।  

शुक्रबार मधेसी आयोग, मुस्लिम आयोग तथा थारू आयोग गठनसम्बन्धी विधेयक पारितको कार्यसूची थियो ।  

यस्तै अपाङ्गता भएको व्यक्तिको अधिकारसम्बन्धी विधेयक पनि पारितको कार्यसूची थियो ।  

तर, गणपुरक सङ्ख्या नपुगेपछि विधेयक पारित प्रक्रियामा सदन प्रवेश गर्न सकेन । 
 
जातीय भेदभाव तथा छुवाछुत कसुर विधेयक संशोधन दर्ताका लागि अनुमोदनका क्रममा गणपुरक सङ्ख्याको प्रश्न उठाइएको थियो ।  

नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले गणपुरक सङ्ख्या यकिन गर्न माग गरेका थिए ।  

काफ्लेको मागपछि सभामुख ओनसरी घर्तीले तीन मिनेट जनाउ घन्टी बजाएर गणपुरक सङ्ख्या यकिन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए ।  

जनाउ घन्टीपछि सङ्ख्या यकिन गर्दा ९७ मात्र सांसदको उपस्थिति रहेको हो ।  

संविधानको धारा ९४ को व्यवस्थाअनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न कम्तीमा एक चौथाइ सदस्यको उपस्थिति अनिवार्य हुन्छ ।  हाल संसदमा ५०२ सांसद छन् ।  

सङ्ख्याअनुसार कोरमका लागि १४८ सदस्य आवश्यक पर्छ । संसदमा विभिन्न चरणमा अहिले पनि ४५ भन्दा बढी विधेयक विचाराधीन छन् । 

निर्वाचन विधेयकहरू सम्बन्धित समितिमा विचाराधीन छन् ।  बुधबार संविधानअनुसार गठन हुनुपर्ने तीन नयाँ आयोग गठनसहित चार विधेयक पारितको कार्यसूची थियो । 

मधेसी, मुस्लिम र थारू आयोग गठन विधेयकसँगै अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक अनुमोदनको कार्यसूची थियो । यस्तै, भूपरिवेष्ठित राष्ट्रको प्रबुद्ध समूह गठनसम्बन्धी सम्झौता पेस गर्ने पनि कार्यसूचीमा थियो ।  

संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले महत्वपूर्ण विधेयक अनुमोदनको चरणमा गणपुरक सङ्ख्या नै नपुग्नु गलत अभ्यास भएको बताए ।  गौतमले भने, ‘धेरै रणनीतिक र महत्वपूर्ण विधेयक संसदमा छन् । (गोरखापत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ