arrow

क्याम्पसमा पनि निःशुल्क पुस्तक !

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
Pustak.jpg.jpeg
वालिङ । जिल्लाको केवरे भञ्ज्याङ गाविसमा रहेको बालसिद्ध क्याम्पसले विद्यार्थीलाई निःशुल्क पुस्तकको व्यवस्था गरेको छ । 
 
आर्थिक अभावले शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस्, न्यून आर्थिक अवस्था भएका परिवारका बालबालिकाले पनि सहजरुपमा अध्ययन गर्न पाऊन भन्ने मुख्य उद्देश्यले क्याम्पसले विद्यार्थीलाई निःशुल्करुपमा पुस्तक प्रदान गर्दै आएको छ । 
 
“यस विद्यालयमा अध्ययन गर्न आउने क्याम्पस तथा उच्च माविका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय तथा उच्च माध्यमिक शिक्षा परिषद्मा जति बुझाउनुपर्ने सो रकमबाहेक कुनै पनि रकम बुझाउनु पर्दैन” बालसिद्ध क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीकान्त रेग्मीले भने, “विद्यार्थीको कोर्षलाई आवश्यक पर्ने सम्पूर्ण पुस्तक भर्पाइ गरेर दिन्छौँ, विद्यार्थी उत्तीर्ण भएपछि सो पुस्तक पुनः विद्यालयमा फिर्ता गर्नुपर्छ ।” 
 
विद्यालयले निर्माण गरेको १६ कोठे व्यापारिक तथा आवासीय भवनको भाडाबाट वार्षिक रु दुई लाख ५० हजार, विद्यालयको स्वामित्वमा रहेको ४१ रोपनी जग्गाबाट ढुङ्गा तथा बालुवाको बिक्रीबाट वार्षिकरुपमा रु एक लाख ५० हजार र छ रोपनी खेतीयोग्य भूमिको आम्दानी रु ५० हजार विद्यालयको आम्दानीको मुख्य स्रोत रहेको र सोही स्रोतबाट विद्यार्थीलाई निःशुल्क पुस्तक तथा अध्ययनको व्यवस्था मिलाएको क्याम्पस प्रमुख ताराप्रसाद रेग्मीले बताए। 
 
विसं २०५८ देखि उच्च मावि तहमा अध्ययनरत विद्यार्थीलाई निःशुल्करुपमा पुस्तक दिने व्यवस्थाको थालनी गरेको विद्यालयले २०६५ सालबाट स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई पनि निःशुल्क पुस्तकको व्यवस्था गरेको हो । विद्यालयमा हाल क्याम्पसमा ३५ जना र उच्च मावि तहमा ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् । रासस  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ