arrow

राजपाका कुन कुन नेता निर्वाचनको पक्षमा छन् ?

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
rajapa.jpg

काठमाडौं । राष्ट्रिय जनता पार्टीको केन्द्रीय समिति बैठकमा जिल्लामा जनमत बलियो भएका नेताहरू निर्वाचनको पक्षमा उभिएका छन् । 

पुराना ६ वटा दलमा आबद्ध ती नेताहरूले निर्वाचनलाई उपयोग गर्नुपर्ने तर्क गरेका थिए । निर्वाचनको पक्षमा पूर्वसद्भावना पार्टीका नेताहरू खुलेर बोलेका छन् । 

सप्तरीदेखि पर्सासम्मका निर्वाचनमा उठेकाहरूले निर्वाचनलाई उपयोग गर्नुपर्ने पक्षमा बोलेका हुन् ।

 सप्तरीका मृगेन्द्रसिंह यादव, धनुषाका लालकिशोर साह, रौतहटका अजय गुप्ता निर्वाचनका पक्षमा छन् । त्यसैगरी, पूर्वतमलोपाका जंगीलाल राय, जितेन्द्र सोनल, गोविन्द चौधरी, जयप्रकाश ठाकुर र नेपाल सद्भावना पार्टीका काजीमान लोप्चन, यदुवन साह निर्वाचनको पक्षमा खुलेका छन् । 

पूर्वसद्भावना, पूर्वतमलोपा र पूर्वनेपाल सद्भावना पार्टीका पूर्वअध्यक्षहरू भने निर्वाचनको विपक्षमा छन् ।

यथास्थितिमा निर्वाचनमा जान नहुने मत पनि बराबर
अधिकांश केन्द्रीय सदस्यले यथास्थितिमा निर्वाचनमा जान नसकिने भनाइ राखेका थिए । संविधान संशोधन नभए पनि मन्त्रिपरिषद्ले सहिद घोषणा, घाइते अपांगलाई राहत दिनेलगायत निर्णय गरेमा निर्वाचनमा जान सकिने उनीहरूको भनाइ थियो ।

केन्द्रीय समिति बैठकमा सोमबार बिहान साढे ९ देखि दिउँसो २ बजेसम्म समूहगत छलफल भएको थियो । २ बजेको खानापछि समूहमा भएको छलफलअनुसार टोली नेताले बैठकमा धारणा राखेका थिए । टोली नेतालाई १० मिनेट समय दिइएको थियो ।

राजपा संयोजक महन्थ ठाकुरले सञ्चालन गरेको कार्यक्रममा टोली नेताले १० मिनेटमा आफ्नो धारणा नसके थप एक मिनेट मात्रै दिइएको थियो ।

समूह नम्बर १ बाट कौशलेन्द्र मिश्र, २ बाट सुरेन्द्र पटेल, ३ बाट रामनरेश राय, ४ बाट विजय सिंह, ५ बाट रामनारायण सिंह, ६ बाट जुगेश्वरलाल दास, ७ बाट अफतर मिकरानीले टोली नेताका रूपमा धारणा राखेका थिए ।

त्यसैगरी, समूह नम्बर ३० बाट जंगीलाल राय, २९ बाट रामलाल सुतिहार, २८ बाट केशव झा, २७ बाट विभा ठाकुर, २६ बाट सत्यनारायण मण्डल र २५ बाट सुशील राउतले आफ्नो समूहको धारणा राखेका थिए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ