arrow

प्रहरी इन्काउन्टरमा मारिएका युवकका बाबु भन्छन् ‘प्रहरीले अत्याचार गर्‍यो’

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
gun-bullet-ar.jpeg

काठमाडौं । प्रहरी ‘इन्काउन्टर’मा ललितपुरका २६ वर्षीय प्रवीण खत्रीको मृत्यु भएको छ । उनी लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ । 

आफूलाई पक्राउ गर्न आएको प्रहरीलाई पेस्तोल तेस्र्याउँदै उनी भाग्ने प्रयासमा थिए । पक्राउ पर्ने डरले खत्री आफैँले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रहरीको दाबी छ । परिवारका सदस्यले प्रहरीले गोली हानेर मारेको बताएका छन् ।

खत्री लागुऔषध कारोबारी भएको र उनले स्थानीयलाई पेस्तोल देखाएर धम्क्याउने गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनलाई पक्राउ गर्न गएको थियो । 

आफूलाई पक्राउ गर्न प्रहरी आएको देखेपछि उनले माथिल्लो तलाबाट घरपछाडिको चौरमा हाम फालेका थिए । दुई हातमा दुईवटा पेस्तोल लिएर प्रहरीलाई नै ताक्दै भागेका थिए । 

प्रहरीले उनलाई गोली हान्दै लखेटेको थियो । पेस्तोल छाड्न भन्दा नमानेपछि प्रहरीले उनलाई गोली हानेको परिवारका आफन्तले बताएका छन् । उनको दायाँ कन्चटमा गोली लागेको छ ।

घरमा सिसिटिभी 
खत्री कुसन्तीस्थित आफ्नै घरमा ढोका लगाएर बसिरहेका थिए । महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोली दिउँसो करिब २ बजे उनलाई पक्राउ गर्न पुगेको थियो । 

ढोकामा प्रहरी आएको उनले सिसिटिभीबाट देखे । हालै मात्र प्रहरी हिरासतबाट छुटेका उनले पक्राउ पर्ने डरले धेरै समयसम्म ढोका खोलेनन् । पछि, दुई हातमा दुईवटा पेस्तोल प्रहरीलाई तेस्र्याउँदै घरको पछाडि हाम फालेका थिए । 

प्रहरीले आफूलाई गोली हान्ने ठानेर उनी आफैँले गोली हानेको प्रहरीको दाबी छ । गोलीबाट ढलेपछि खत्रीलाई पाटन अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्याउँदासम्म उनको बाटैमा मृत्यु भइसकेको थियो । 

मृतकका आफन्तले घटनाको छानबिन गरी दोषी प्रहरीलाई कारबाही गर्न माग गरेका छन् । गोलीले उनको कन्चट छेडेको छ । उनले दुई गोली फायर गरेकोमा एक मिसफायर भएको प्रहरीले दाबी गरेको छ ।

प्रहरीको दुईथरी भनाइ ‘शंकास्पद’
प्रहरीले सुरुमा ‘इन्काउन्टर’मै खत्रीको मृत्यु भएको बताएको थियो । तर, पछि विवाद आउने देखेपछि खत्री आफैँले गोली हानेको प्रहरीको दाबी छ । एउटै घटनामा दुईथरी भनाइ आएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको हो । चर्चा कमाउन जथाभावी गोली हान्ने प्रवृत्तिको उपज सोमबारको घटना भएको एक उच्च प्रहरी अधिकारी बताउँछन् । गोलीको खोका उनी ढलेकै ठाउँमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले अत्याचार गर्‍यो – मृतकका बाबु
मृतकका बाबु प्रवीणबाबु खत्रीले प्रहरीकै गोलीबाट छोराको मृत्यु भएको बताए । ‘यो प्रहरीको अत्याचार हो,’ उनले भने, ‘अपराध गरेको भए, पक्राउ गरेर कारबाही गर्ने हो, मार्न पाइँदैन ।’ घटनापछि स्थानीयवासी प्रहरीसँग आक्रोशित भएका थिए । घटनास्थलमा सशस्त्र प्रहरीसमेत खटाइयो । ‘फायर त हामीले पनि खोलेका थियौँ, तर हाम्रो गोली उसलाई लागेको होइन, ऊ आफैँले हानेको भन्ने छ,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले भने, ‘कसको गोली लागेको हो, त्यो त विधि विज्ञान प्रयोगशालाबाट प्रस्ट भइहाल्छ ।’ (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ