arrow

राजपा चुनावमा आउने सम्भावना बढ्यो, महन्थ ठाकुरको दस्तावेज परिमार्जन हुने

परिमार्जन गर्ने शर्तमा प्रतिवेदन पारित

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
rajapa_new.jpg

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपाल असोजमा हुने स्थानीय तह तेस्रो चरणको चुनावमा सहभागि हुने सम्भावना बढेको छ । पदाधिकारी बैठक लगत्तै चलेको राजपा केन्द्रीय समिति बैठकले अध्यक्षमण्डका संयोजक महन्थ ठाकुरको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्ने निर्णय गरेसँगै राजपा चुनावमा सहभागि हुने सम्भावना बढेको हो ।

पदाधिकारी बैठकमा उठको चुनावमा सहभागि हुने विषय केन्द्रीय समिति बैठकमा समेत जोड तोडले उठ्यो । बैठकमा सहभागि राजपा महासचिव केशव झाले भने, ‘बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन परिमार्जन गर्न शर्तसहित पारित भएको छ । चुनावमा सहभगि हुनुपर्छ भन्ने आवाज बढी उठेकाले प्रतिवेदन जस्ताको त्यस्तै पारित हुने अवस्था रहेन ।’

प्रतिवेदनमा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभएसम्म चुनावमा नजाने भन्ने थियो, उनले थपे, ‘बैठकमा त्यो जस्ताको त्यस्तै पारित नहुने वातावरण बन्यो । चुनावको उपयोग गर्नुपर्नेमा बढी जोड आयो । पछि परिमार्जन गर्ने शर्तमा पारित भयो ।’ उनका अनुसार अब राजनीतिक प्रतिवेदन चुनावमा सहभागि हुने बाक्याशं राख्नेगरी परिमार्जन हुनेछ ।

यस्तै, बैठले विधानको नियमावली अधुरो रहेको भन्दै मस्यौदा समिति बनाउने निर्णय गरेको महासचिव झाले बताएका छन् । बैठकमा राजेन्द्र महतो र महन्थ ठाकुर फरक कित्तामा उभिएपनि अन्य नेताहरु चुनावको पक्षमा उभिएका बताइँदैछ । पदाधिकारी बैठकले संविधान संशोधन विधेयक पास वा फेल जे भएपनि चुनावमा जाने वा नजाने भन्ने विषय टुंगो लगाउन सकेको थिएन ।

राजपाले विहिबारमात्रै पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गर्ने झाले बताएका छन् । संविधान संशोधन विधेयकलाई भोटिङमा लैजाँदा पास वा फेल जे भएपनि अगाडि बढ्ने कि भन्ने विषय बैठकमा गम्भीरतापूर्वक उठेको अर्का एक नेताले बताएका छन् ।

अधिकांश समूहबाट संशोधन प्रस्तावलाई कसैले लाभ लिने बाटो बनाइनु हुँदैन भन्ने आएको छ, उनले भनेका छन् ।
ती नेताले भने, ‘संशोधन प्रस्तावबारे एउटा निक्र्योलमा पुग्नुपर्छ र संशोधन पारित गरेर अदिवासी, जनजाति, मधेसीलगायतको न्यूनतम माग पुरा गराउने पक्षमा को र विपक्षमा को छन् भने जनताले थाहा पाउनुपर्छ । यो प्रदेश २ को चुनावअघि नै निक्र्योल हुनुपर्छ । पार्टीले ५–७ दिन वा साउन मसान्तभित्र एउटा निर्णय लेओस् र परिणाम हेरेर रणनीति बनाओस् भन्ने अधिकांश साथीहरुको भनाइ छ ।’

उनले पार्टीको एक धार अझै नकारात्मक नै सोचिरहेको समेत बताएका छन् । महन्थ ठाकुरकै नजिकका नेता हृदयेश त्रिपाठीले विधानमा कयौँ त्रुटी रहेको बताएका छन् । पदाधिकारी बैठकमा उपस्थित नभएका त्रिपाठीले केन्द्रीय समिति बैठकमा विधानमा भएका सबै त्रुटीहरु सच्याउनु पर्ने बताए । उनले पदीय जिम्मेवारीको विषय र चुनावमा सहभागि हुनुपर्ने विषय समेत उठाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ