arrow

हत्याका आरोपीले नै गरे हेलिकोप्टर चार्टर

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
crime.jpeg

सोलुखुम्बु । आफ्नै घरमा काम गर्ने धनबहादुर विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका खुम्बु पासाङल्हामु गाउँपालिका–४, खुम्जुङका कमल राईले जिल्ला प्रहरी कार्यालय आउनका लागि हेलिकोप्टर चार्टर गरेका छन् । 

आइतबार इलाका प्रहरी कार्यालय नाम्चेले पक्राउ गरेका आरोपित राईले हेलिकोप्टर चार्टर गरेपछि मंगलबार आरोपित राई र मृतक विकको शव सदरमुकाम सल्लेरी ल्याइएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । 

आरोपित राईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ भने मृतक विकको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । 

गत शुक्रबार खुम्जुङमा व्यवसाय गर्ने राईले आफ्नै घरमा काम गर्ने विकलाई कुटपिट गरेपछि उपचारका लागि स्वास्थ्य केन्द्र लगिएको थियो । विकको उपचारको क्रममा शनिबार ज्यान गएको थियो । 

नाम्चेबाट सदरमुकाम आइपुग्न कम्तीमा तीन दिन पैदल हिँड्नुपर्ने र शव परीक्षणका लागि ल्याउन त पाँच दिनसम्म लाग्ने भएकाले बोक्ने मानिस नपाइने र वर्षात्का कारण बाटो पनि निकै अप्ठ्यारो भएकाले सहजताका लागि आरोपित राईले नै हेलिकोप्टर चार्टर गरेको बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ