arrow

प्रजातान्त्रिक विधि र प्रक्रियाबाटै देशका समस्या समाधान हुन्छ : सभापति कोइराला

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
sushil_koirala.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले प्रजातान्त्रिक विधि र प्रक्रियाबाटै देशका समस्या समाधान गरिने बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका राष्ट्र सङ्घका उपमहासचिव जेफ्री फेल्टम्यानसँग आज आफ्नै निवास महाराजगन्जमा भएको भेटमा उहाँले समस्या समाधान गर्न वार्ता र संवाद अगाडि बढिरहेको र यही विधिबाट नै समाधान निस्कने बताउनुभयो । 
 
“अघोषित नाकाबन्दी र असहज आपूर्तिका कारण देखिएको मानवीय सङ्कटका समाधान गर्न संसद्मा पहिलो दलका हैसियतले नेकाले वार्ता प्रक्रियालाई अगाडि बढाइरहेको छ, अब छिट्टै समाधान निस्कन्छ”–भेटपछि सभापति कोइरालाका कूटनीतिक मामिला सल्लाहकार डा दिनेश भट्टराईले राससलाई बताउनुभयो । 
 
सभापति कोइरालाले समस्या समाधान गर्न संयुक्त राष्ट्र सङ्घका महासचिवबाट प्राप्त सहयोगप्रति धन्यवाद दिँदै नयाँ संविधान जारीपछि उत्पन्न अवस्थालाई सम्बोधन गर्न संसद्मार्फत संविधान संशोधन प्रक्रिया अगाडि बढिसकेको जानकारी उपमहासचिव फेल्टम्यानलाई गराउनुभएको सल्लाहकार डा भट्टराईले जानकारी दिनुभयो । आफ्नो प्रधानमन्त्रीको कार्यकालमा आन्दोलनरत् पक्षका माग सम्बोधन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा पेस गराइएको पनि कोइरालाले उहाँलाई जानकारी गराउनुभएको थियो । 
 
सो अवसरमा उपमहासचिव फेल्टम्यानले मानवीय सङ्कट अन्त्य होस् भन्ने धारणा राख्नु भएको थियो । उहाँले विश्वमा शान्ति, समृद्धि र सुरक्षामा नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालको विकास, राजनीतिक स्थायित्व र दिगो शान्तिका लागि संयुक्त राष्ट्रसङ्घले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सल्लाहकार डा भट्टराईले बताउनुभयो । उहाँहरुका बीचमा करिब एक घण्टा कुराकानी भएको सभापति कोइरालाका सहयोगी अतुल कोइरालाले जानकारी दिनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ