arrow

प्रधानमन्त्री देउवासंग बिमस्टेक सदस्य मुलुकका विदेशमन्त्रीको सामूहिक भेट

logo
प्रकाशित २०७४ साउन २७ शुक्रबार
bimstec-participants.jpg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सदस्य मुलुकका बाह्यमामिला–विदेशमन्त्रीले बिहीबार सामूहिक शिष्टाचार भेट गरेका छन् ।  

प्रधानमन्त्रीसँग श्रीलंकाबाहेक सदस्य मुलुकका बाह्यमामिला विदेशमन्त्री र बिम्स्टेकका महासचिवले गरेको शिष्टाचार भेटमा बिमस्टेकलाई नयाँ उचाइमा पुर्‍याउने, पारस्परिक हित र चासको साझा विषयमा सहकार्य गर्ने तथा बिमस्टेक मुलुकको समृद्धि एवम् प्रगतिका निम्ति सात सदस्यीय उक्त उपक्षेत्रीय संगठनलाई अझ सशक्त बनाउने बारेमा छलफल भएको थियो । 

प्रधानमन्त्रीले क्षेत्रीय सहयोग एवम् सहकार्य प्रवद्र्धनमा बिमस्टेकको औचित्य र आवश्यकता अत्यन्त सामयिक रहेको, क्षेत्रीय सम्पर्क विस्तारजस्ता बिमस्टेकका आदर्श र लक्ष्य हासिल गर्न सामूहिक एवम् घनीभूत प्रयासको अपरिहार्यतामा जोड दिएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराईले बताए । 

बिमस्टेकको १५ औँ मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेका सदस्य देशका बाह्यमामिला विदेशमन्त्रीले उक्त बैठकपछि सामूहिक शिष्टाचार भेट गरेका हुन् । भेटमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा पनि उपस्थित थिए । 

प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज 
बिम्स्टेकको १५ औँ मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा नेपालको भ्रमणमा रहेका सदस्य मुलुकका आफ्ना समकक्षी तथा बाह्यमामिला विदेश मन्त्रालयका उच्च अधिकारी सम्मिलित प्रतिनिधिमण्डलको। सम्मानमा परराष्ट्रमन्त्री महराले साँझ यहाँ रात्रिभोजको आयोजना गरे । 

त्यस अवसरमा मन्त्रिपरिषद्का सदस्य, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका सचिव तथा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीको सहभागिता थियो । 

उक्त अवसरमा नेपालको विविध संस्कृति एवम् परम्परा झल्कने मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ