arrow

प्रधानमन्त्रीको भारत भ्रमणअघि निर्वाचन मिति घोषणा हुन्छ : वाणिज्य मन्त्री

'संशोधन प्रस्तावको कार्ड प्रयोग गरेर एमालेलाई एम्बुसमा पार्ने प्रयास'

logo
प्रकाशित २०७४ साउन २७ शुक्रबार
min-biswakarma-congress-NC.JPG

काठमाडौँ। वाणिज्यमन्त्री मीन विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि नै निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।

मन्त्री विश्वकर्माले रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैदिन गर्न निर्वाचन आयोगले सहमति दिनासाथ मिति घोषणा गर्ने गरी तयारी भएको बताए। प्रधानमन्त्री देउवा भदौ ७ गते भारत भ्रमणमा जाने सम्भावित मिति तय गरिएको छ ।


उनले भने, “निर्वाचन संविधानद्वारा निर्दिष्ट समयसीमाभित्र गर्न सरकार प्रतिबद्ध छ, माग ७ गते सबै चुनाव सक्नुपर्ने समयसीमा रहेकाले प्राकृतिक कारण मंसिर १० गतेसम्म दुवै निर्वाचन सक्नैपर्ने बाध्यात्मक परिस्थिति छ ।” राजनीतिक दृष्टिकोणबाट सबै तहको निर्वाचन हुन्छ भन्ने कुराको नजिक पुगिएको छ ।

“जनशक्ति, प्राविधिक र सुरक्षाको दृष्टिकोणबाट एकै चरणमा दुवै निर्वाचन गराउन सकिन्न भन्ने निर्वाचन आयोगको धारणा रहेकाले त्यस विषयमा छलफल भइरहेको छ”, मन्त्री विश्वकर्माले भने ।

नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन प्रस्ताव एमालेसँग परामर्शबिना आएकाले कुनै हालतमा पारित हुन नदिने बताए । उनले संविधान संशोधन प्रस्तावलाई राजनीतिक कार्डका रूपमा प्रयोग गरी एमालेलाई एम्बुसमा पार्ने प्रयास भएको आरोप लगाए ।

उनले भने, “एमालेलाई मधेशविरोधी देखाएर प्रोपोगण्डा गर्ने र तराईको सेन्टिमेन्ट जित्ने रणनीति बनिरहेको छ ।” संविधान संशोधन प्रस्तावबारे एमाले गम्भीर छलफल गरेर अगाडि बढ्न तयार भएको उनको भनाइ थियो ।

नेकपा (माओवादी केन्द्र)का नेता अजयशंकर नायकले संविधान संशोधनको दोस्रोपटक पेश भएको प्रस्ताव एमालेको सहमतिमा ल्याइएको दाबी गरे। उनले राष्ट्रिय सहमति गरी संशोधन प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “राष्ट्रिय मुद्दामा प्रतिपक्ष दलले पनि सकारात्मक भूमिका खेल्नुपर्छ, राजपालाई निर्वाचनका लागि सहमत गराउनु प्रतिपक्षको कर्तव्य हो ।”

राष्ट्रिय जनता पार्टीका शीर्ष नेता महेन्द्रराय यादवले विरोधमा रहेका एमालेलगायतका दलको सहमतिमा संविधान प्रस्ताव पारित हुने विश्वास व्यक्त गरे। उनले सरकारले उचित मागलाई सम्बोधन गर्दै १९ दिनदेखि आमरण अनशनमा बसेका डा केसी र अस्थायी शिक्षकको जीवनरक्षा गर्न माग गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ