arrow

बाढीले ह्युमपाइप बगाउँदा सडक अवरुद्ध

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
assam-floods.jpg

लहान। चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले सुखीपुर नजिकै रहेको ह्युमपाइप बगाउँदा सिरहाको चिरोमाइल– बरियारपट्टी सडक अवरुद्ध भएको छ ।

बिहानदेखि नै सडक अवरुद्ध हुँदा उक्त क्षेत्रका सर्वसाधारणलाई पूर्वपश्चिम राजमार्गसम्म पुग्न कठिनाइ भएको छ । यसैगरी अविरल वर्षासँगै आएको बाढी नहरमाथिबाट बग्न थालेपछि लहान नगरपालिका– १ स्थित दलित बस्ती जलमग्न भएको छ । बाढीका कारण उक्त बस्तीका दश घर पूर्ण रुपमा भत्किसकेपछि घरमा रहेको खानेकुरासमेत जोगाउन नसकेको स्थानीयवासी गेना सदायले बताए।

वर्षाका कारण सिरहाका दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् । डिमा खोलाको पानी गाउँमा पस्दा कर्जन्हा गाउँपालिका– ६ गौताडीका दर्जन बढी घर डुबानमा परेका हुन् । लगातारको वर्षाका कारण बेचो खोलामा आएको बाढी कल्याणपुर नगरपालिका– ४ मा रहेका घरमा पसेको छ ।

वर्षाकै कारण सिरहाको सदरमुकामसहित मिर्चैया नगरपालिका र गोलबजार क्षेत्रसमेत जलमग्न भएका छन् । वर्षाका कारण सदरमुकामसहित जिल्लाका मिर्चैया, गोलबजार, लहान, पर्सा पोखरभिण्डा, सुखिपुरलगायत पनि जलमग्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ