arrow

प्रजिअको सरसफाई अभियान; आँगन बढार्ने, पिँढी फोहोर गर्ने

जिशिका पछाडि मदिराका बोत्तल छरपष्ट

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
deo-parbat.jpg.jpeg
विशन क्षेत्री, पर्वत। सोलुखुम्बुबाट सरुवा भएर आएको केही समयमा नै पर्वतका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको नेतृत्वमा सरसफाई अभियान सुरु भयो। सोलुखुम्बुमा लगातार २८ हप्ता अभियान चलाएका सरसफाई अभियन्ता ढकालले पर्वतमा कार्तिक १४ गतेबाट थालेको अभियानको अहिले १० हप्ता पुरा भईसकेको छ।
जिल्लाको एक मात्र कुश्मा नगरपालिकालाई आफ्नो कार्यकालमा सरसफाईयुक्त घोषणा गर्ने अभियान थालेका ढकाललाई सरकारी कर्मचारी, राजनीतिक दल, सरकारी गैह्रसरकारी संघ–संस्था, स्थानीय आमा समुह, युवा क्लव, सुरक्षा निकाय लगायत सरसफाईको क्षेत्रमा आबद्ध सबै संघसंस्थाले सहयोग गरिरहेका छन्। ढकालले नेतृत्व गरेको अभियान प्रभावकारी पनि बनिरहेको छ। कुश्मा नगरपालिकाका मुख्य चोक, सार्वजनिक स्थल, क्षेत्र अहिले सरसफाईयुक्त पनि बनिसकेका छन्।
 
सुरुमा सरकारी कार्यालयबाट अभियानको थालनी गर्ने उद्धेश्यनुरुप ढकालले जिल्लामा अन्य सरकारी संघसंस्थाहरुका प्रमुखलाई आ–आफ्नो कार्यालय सफा राख्ने आदेश दिएका थिए। ढकालको आदेशलाई अनुसरण गर्दै सरकारी कर्मचारीले पनि आफ्नो कार्यथलोलाई सरसफाईयुक्त भएको घोषणा गरे। तर सरसफाईयुक्त भए कि भएनन् भनेर अनुगमन भने हुन सकेन। अनुगमन नहुँदा स्थानीयमा सरकारी कार्यालय सरसफाईयुक्त भए भन्ने भ्रम परेको छ।
 
सरसफाईको अभियन्ताबाट नायक बनेर वाहवाही कमाईरहेका प्रजिअ ढकाललाई जिल्लाकै एक सरकारी कार्यालयको गतिविधीले भने नाकैमा कालो लगाईदिएको छ। सरकारी कार्यालय मध्येको एक प्रमुख निकाय जिल्ला शिक्षा कार्यालय भने सरसफाईको अभियानबाट अनविज्ञ भएको जस्तो देखिएको छ। 
 
जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले कार्यालयले बहुआयामिक क्षेत्रमा काम गर्ने गफ लगाईरहँदा आफ्नै कार्यालयको फोहोरको थुप्रो भने देख्न सकेका छैनन्। ग्रामीण क्षेत्रका अथवा सेवा लिन आउने सेवाग्राहीलाई शिक्षाका अलावा स्वास्थ्य, सरसफाईका क्षेत्रमा चेतना जगाउन आवश्यक छ भनेर मिठा गफ गर्ने जिशिअ पौडेलले आँगन बढारेतापनि पिँडीको फोहोर भने देख्न सकेका छैनन्।
 
कार्यालयको दक्षिणी परिसरमा पुग्दा त्यहाँको दृष्य भने अचम्मलाग्दो थियो। केही ठाउँमा फोहोरलाई जलाईएको जस्तो देखिएतापनि कार्यालयको दक्षिणी परिसरमा फोहोर यत्रतत्र छिरल्लिएको थियो। प्रवेशद्वार भन्दा केही तल फोहोर व्यवस्थापन गर्ने एउटा ‘फोहोर मलाई’ राखिएको भएतापनि त्योभन्दा बाहिर ज्यादा फोहोर छिरल्लिएको देखिन्थ्यो।
 
अझ कार्यालयको दक्षिणी कोणको दृश्य भने झन अचम्मलाग्दो छ । झन्डै ४० को संख्यामा मदिराका बोत्तल यत्रतत्र छिरल्लिएको छ भने फोहोरको डङ्गुर थुपारिएको छ। थुप्रैको संख्यामा मदिराका बोत्तल शिक्षा कार्यालयमा छिरल्लिँदा शिक्षा कार्यालयले भट्टीको काम त गरेको छैन् भन्ने प्रश्न पनि उठ्न सक्छ।
 
सरकारी कार्यालयको त्यस्तो हर्कतले प्रमुख जिल्ला अधिकारी ढकालको अभियानलाई प्रभाव पार्ने देखिन्छ। अर्कोतर्फ सरकारी निकायको प्रमुख संस्था जिल्ला प्रशासन कार्यालयप्रति अरु कार्यालयको समन्वयको अभाव देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ