arrow

उदयपुरमा आठसय परिवारलाई राहत र बसोबास व्यवस्था

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
rahat_dang.jpg

गाईघाट (उदयपुर) । गत शुक्रबारदेखि आइतबार साँझसम्म निरन्तर वर्षाका कारण आएको बाढीबाट पीडित बनेका झण्डै ८०० घरपरिवारका लागि उदयपुर जिल्लामा पनि राहत वितरण तथा अस्थायी बसोबासको व्यवस्थापन शुरु भएको छ । 

जिल्ला दैवी प्रकोप व्यवस्थापन समिति, उदयपुरका संयोजक तथा निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाशजंग कार्कीका अनुसार जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं १, २ र ४ तथा पूर्वी क्षेत्रको बेलका नगरपालिका क्षेत्रको वडा नं १ र २ का बाढीबाट विस्थापित भएका जनताका लागि राहत वितरण र अस्थायी बसोबास व्यवस्थापनको कार्य सोमबारबाट तीव्ररुपमा शुरु भएको हो । 

त्रियुगा नगरपालिकाको वडा नं २ का झण्डै ४० घर बाढीबाट विस्थापित परिवारका लागि स्थानीय रामजानकी मावि र सत्यदेवी मावि विद्यालयमा बाढीपीडितलाई सुरक्षित अस्थायी बसोबासको व्यवस्था भएको छ । यस्तै, त्रियुगा नगरपालिका–१२ का प्रतिभाटोलका झण्डै १५ घरपरिवारसहित वडा नं ४ मोतिगडा मिलनचोकमा ४० घरपरिवारका लागि पनि स्थानीय विद्यालय र मोतिगडाको त्रियुगा जनता बहुमुखी क्याम्पसमा पीडितलाई अस्थायीरुपमा राखेर राहत वितरण कार्य शुरु भएको कुरा निमित्त प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । 

यता जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिकाको वडा नं १ को तपेश्वरी क्षेत्रको बान डाँडा र वडा नं २ भागलपुर क्षेत्रका झण्डै ६५० पीडित घरपरिवारका लागि पनि केहीलाई विद्यालयमा अस्थायीरुपमा राखिएको र केही भने सोमबारबाट वर्षामा सुधार आएपछि आफ्ना घर फर्कन थालेको कुरा इलाका प्रहरी कार्यालय, रामपुर, ठोक्सिलाले बताएको छ । 

सोमबारदेखि बाढीपीडितका लागि जिल्ला रेडक्रश, नेपाली सेना, जिल्ला प्रहरी, नागरिक समाज, प्रशासन र स्थानीय नगरपालिकाका प्रतिनिधिहरुले बाढीपीडितका लागि चामल, तेल, ओढ्ने कपडासहितका आवश्यक सामग्री वितरण गर्न शुरु गरेको कुरा जिल्ला प्रशासन कार्यालयले बताएको छ । यस्तै, जिल्ला दैवीप्रकोप उद्धार समिति तथा राहत वितरणसहित स्थानीय नगरपालिकाका प्रतिनिधिको आपत्कालीन बैठक बसेर तत्काल सम्बन्धित स्थानीय निकायले बाढीपीडितका लागि रु ४० लाखदेखि रु ८० लाखसम्म रकम उपलब्ध गराएर वितरण गर्ने र आवश्यक सामग्री जुटाउने निर्णयसमेत गरिएको सम्बन्धित पदाधिकारीले बताए । 

बाढीपीडित क्षेत्रका जनतालाई पुनःस्थापना गराउन केन्द्रीय दैवीप्रकोप उद्धार समितिलाई तत्काल उदयपुरमा तार जाली र आवश्यक सामग्रीसमेत उपलब्ध गराउन अनुरोध गरिएको कुरा जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ । शुक्रबारदेखि आइतबार बेलुकीसम्म आएको निरन्तर वर्षाका कारण भीषण बाढीले त्रियुगा नगरपालिकाको खैजनपुर क्षेत्रमा त्रियुगा नदी तथा स्थानीय बाबिया खोला गाउँमा प्रवेश गर्दा सयौँ घर विस्थापित हुन पुगेका छन् । 

यस्तै, त्रियुगा नगरपालिकाको मिलनचोक र मोतीगडा क्षेत्रमा त्रियुगा नदी र लुहाले तथा स्थानीय ठाडी खोला प्रवेश गर्दा १४० घर विस्थापित भएका छन् भने गाउँमा नदी कटानले सम्पूर्ण क्षेत्र प्रभावित भएको छ । यता जिल्लाका पूर्वी क्षेत्रको बेलका नगरपालिका–१ वानडाँडा क्षेत्र र वडा नं २ को भागलपुर क्षेत्रमा त्रियुगा नदी र गिदेरी खोलाको बाढी गाउँमा प्रवेश गर्दा झण्डै ६५० घर परिवार विस्थापित भएको स्थानीय जनप्रतिनिधि तथा प्रशासनले बताएको छ । 

यता सोमबार आएको बाढीले जिल्लाको रौतामाई गाउँपालिका–६, मुर्कुचीको हुमा खोलाले बगाउँदा ५६ वर्षीय कर्णमाया मंग्राती र उनकै आठ वर्षीय नातिको मृत्यु भएको छ । उदयपुरमा हालसम्म झण्डै ८०० घरपरिवार बाढीबाट प्रभावित हुन पुगेका छन् भने दुईजनाको मृत्यु भएको कुरा जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ