arrow

हेलिकप्टर उडेको हेर्दा हेर्दै बालिकाको मृत्यु

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
helicoptor-army.jpg

ठोरी । शुक्रबारदेखिको भारी बर्षा र बाढीले पर्सा जिल्लाको ठोरीबासीमा एकखालको सन्नटा नै छाएको थियो । बाढीले गाउँ तहस नहस बनाएको थियो । एक गाउँबाट अर्को गाउँमा जान सहज थिएन । बाटोघाटो सबै बगाएको थियो । सडकको छेउछाउमा ठूला ठूला खाडल बनाएको थियो । बाढी पीडीतहरु बगाएको घर खेत हेरेर अमिलो मन बनाई रहेका थिए । 

गत बर्ष उत्पादन भएको खेतीबालीले अहिलेसम्म जेनतेन चलेकै थियो । धानबाली लगाएको सबै खेत बाढीले बगरमा परिणत गरिदिए पछि उनीहरुमा बेचैनी थियो । अब के खाने ? कसरी परिवार धान्ने ? बाढी र बर्षाको बितण्डाले चरम पिडा भोगीरहेको समयमा मंगलबार सांझ फेरी अर्को पिडा थपिदियो । 

अचानक मंगलबारको दिन त्यस्तै सांझको ५ बजेको थियो होला । ठोरीको आकाशमा बाढी पिडीतका लागि राहत लिएर आएको हेलिकप्टर उडिरहेको थियो । ठोरीको आकाशमा हेलिकप्टर नजिकै उडेको देखेपछि ठूला साना सबैको ध्यान आकाशतिरै केन्द्रित हुन थियो । हेलिकप्टर ठोरीको चौतारा, सरस्वती नगर, जानकीनगर, हनुमानगर माथीको आकाश हुंदै इलाका प्रहरी कार्यालयको परिसरमा अवतरण हुन पुग्यो । 

प्रहरीको सहायतामा राहत निकाल्ने काम भैरहेको थियो । यता हनुमाननगरकी ८ बर्षीया बालिका कृपा बस्नेत हेलिकप्टर उडेको हेर्दै सडकमा दौडिरहेकी थिइन् । रमाइलो मान्दै कृपा दौडिरहेकी थिइन् । हेलिकप्टर आफ्नो टाउको नजिकै देखेर फुरुङ्ग बनेकी कृपा हेलिकप्टरलाई नियाल्दै पच्छ्याई रहीन् । हेलिकप्टर उडेको हेर्दा हेर्दै कृपा सडक नजिकै बाढीले बनाएको खाल्डोमा चिप्लिएर खसिन् । 

खाल्डोमा जमेको पानीले कृपाको हेलिकप्टर हेर्ने इच्छा सदाको लागि छिनेर लग्यो । उनीसंगै दौडिएका साथीहरु कृपा खाल्डोमा खसेपछि अत्तालिएर कराउन रुन थाले । बच्चाहरु कराएको थाहा पाएपछि स्थानीयहरु घटना स्थल पुगे । घटनास्थल पुगेका स्थानीयले कृपालाई उद्दार गरी स्वास्थ्य चौकी पुर्याए । स्वास्थ्य चौकीमा पुग्दा कृपाको मृत्यु भैसकेको थियो ।

खाल्डोमा डुबेर मृत्यु हुने बालिका ठोरी एकेडेमीमा कक्षा २ मा अध्ययन गर्दै गरेकी हनुमाननगरका कुमार बस्नेतकी छोरी हुन् । हेलिकप्टर ल्याण्ड भएकै समयमा फोन आयो, इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले भने, हेलिकप्टर हेर्दै दौडिएकी बालिकाको खल्डोमा खसेर मृत्यु भयो । घटनास्थल पुग्दा बालिकाको मृत्यु भैसकेको रहेछ । 

बाढीले बाटो बीचमै ठूला ठूला खाल्डो बनाएको उनले बताए । घर छेउछाउ, सडक, खेत लगायतका स्थानमा बाढीले खाल्डो बनाएकाले बालबालिकाको राम्रो हेरबिचार गर्न उनले सुझाएका छन् । बालिका कृपाको मृत्युले ठोरीबासीमा थप पिडा थपिदिएको उनले बताए । बाढीले ठोरीका १७ घरधुरी बगाएको छ । ६० बढी घरधुरी बिस्थापित भएका छन् भने सयौं बिगाह धानबाली भएको खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ