arrow

प्रधानमन्त्रीसँग चिनियाँ उपप्रधानमन्त्रीको भेट : राष्ट्रपति सीलाई नेपाल भ्रमण गर्न पुनः आग्रह

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
sher_wang.jpg

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङले आज अपराह्न प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरे । त्यस अवसरमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका साथै पारस्परिक सहयोग विस्तारबारे विचारविमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए। 

नेपाल र चीनबीचको शताब्दीऔँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा व्यापार, पर्यटन, भौतिक पूर्वाधार निर्माण, सीमापार सम्पर्क विस्तार तथा दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई थप मजबुत बनाउनेबारेमा चिनियाँ उपप्रधामन्त्रीसँग छलफल भएको उनले बताए । 

“चिनियाँ राष्ट्रपतिले अघि सारेको ‘एक क्षेत्र, एक मार्ग’ (ओबिओआर)मा सहभागी हुने सम्बन्धी समझदारीमा नेपालले हस्ताक्षर गरिसकेको वर्तमान सन्दर्भमा त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा उनीहरुबीच कुराकानी भयो”– सल्लाहकार भट्टराईले भने। 

उनका अनुसार पर्यटन प्रवद्र्धन तथा सहयोग विस्तारका साथै परम्परागत जडीबुटीजन्य औषधि उत्पादन तथा विकासबारे पनि छलफल भएको थियो । नेपाल र चीनबीच उपप्रधामन्त्रीस्तरीय वार्तापछि हिजो भएका तीन वटा सम्झौताले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत मिलेको बताउँदै दुवै नेताले सन्तुष्टि व्यक्त गरेको उनले जानकारी दिए । 

सौहार्दपूर्ण वातावरणमा भएको उक्त भेटमा प्रधानमन्त्री देउवालाई उपप्रधानमन्त्री वाङले चीन भ्रमणका निम्ति आमन्त्रण गर्नुभएको र प्रधानमन्त्री देउवाले राष्ट्रपति सी जिनपिङ्गलाई नेपाल भ्रमणका लागि पुनः अनुरोध गर्नुभएको सल्लाहकार भट्टराईले बताए। “चीनका राष्ट्रपति नेपालको भ्रमण गर्न इच्छुक हुनुहुन्छ, उहाँले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएका थिए, अनुकूल समयमा राष्ट्रपति सीले नेपालको भ्रमण गर्नुहुनेछ”– उपप्रधानमन्त्री वाङको भनाइ उद्धृत गर्दै उनले भने। 

भेटमा नेपालका लागि चिनियाँ राजदूत यु होङसहित आठ उच्च चिनियाँ अधिकारी उपस्थित थिए । त्यसैगरी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी थिए। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ