arrow

बाबुरामले गुमाएको शक्ति अब कता जान्छ ?

‘बाबुराम माओवादी केन्द्रमा फर्किएको समाचार चाँडै सुन्न पाइन्छ’ : झा

logo
प्रकाशित २०७४ भदौ २ शुक्रबार
devendra_paudel.jpg

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका देवेन्द्र पौडेलसहित १५ जना नेता पार्टीले निष्काशन गरेको सूचना जारी गरेसँगै स्वतन्त्र भएका छन् ।

अब उनीहरु कहाँ जालान् भन्ने ? प्रश्न उठिरहेको छ । यद्यपि, पौडेलसहितका नेताहरुले पार्टी प्रवेश भन्दा पनि विचार र कार्यदिशा मिल्नेसँग ध्रवीकरण वा पार्टी एकता गर्ने भनिरहेका छन् ।

पार्टीले निकाल्यो, अब तपाईहरु जाने बाटो कहाँ हो ? पौडेल समूहमै रहेका नेता अमरध्वज लामाले जवाफमा भने, ‘हामी कहाँ जाने भन्ने प्रश्न नै हुँदैन । हामीले देवेन्द्र पौडेलको नेतृत्वमा बृहत धुव्रीकरण संयोजन समिति र पासाङ शेर्पाको नेतृत्वमा एकताका लागि वार्ता समिति गठन गरिसकेका छौँ ।’ हामी कुनै पार्टीमा प्रवेश गर्दैनौँ र विलय हुँदैनौँ ।

लामाले भनेका छन्, ‘हामीले विभिन्न पार्टीहरुसँग ध्रवीकरणका लागि कुरा अघि बढाएका छौँ । अहिले पनि सम्वादमै छौँ ।’
माओवादी केन्द्रमा फर्किने की ? जवाफमा उनले भने, ‘माओवादी केन्द्रमा फर्किने होइन । माओवादीसँग विचार र कार्यदिशा मिलेको खण्डमा एकता गर्ने हो ।’ एकता हुनलाई दल चाहिँदैन र ? तपाईहरु त समूहमा मात्रै हुनुहुन्छ ? जवाफ दिँदै उनले भने, ‘त्यही सोचबाट माथि उठ्ने भनेरै हामीले ध्रवीकरण समिति गठन गरेका हौँ । हामी पनि एक शक्ति हौँ । पार्टीनै चाहिन्छ भन्ने हुँदैन ।’

माओवादीसँग के–के मिल्छ, के मिल्दैन ? लामाले भनेका छन्, ‘माओवादीसँग केही कुराहरु मिलेका छन् । मूल कुरा त स्थायी सरकार हुनुपर्ने पक्ष मिलेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा पनि मिल्यो । अग्रगामी परिवर्तनका केही मुद्दाहरु अरुपनि मिल्न सक्छन् ।’ माओवादीसँग पनि एकता नै हुने हो । त्यसलाई प्रवेश वा विलय भन्न मिल्दैन ।

ध्रवीकरणको भूत कहाँबाट आयो ?
नेता लामाले भनेका छन्, ‘अहिले भरखरै भएका चुनावले पनि नतिजा देखियो । कि परिवर्तनकारी र वैकल्पिक शक्तिहरु कमजोर देखिए । फेरि पनि यथास्थितिवादीहरु नै हावी भए । यो अवस्थामा हामीले अब अग्रगामी परिवर्तन पक्षधरहरु एक ठाउँमा आउनुको विकल्प छैन भन्ने धार तय गरेर हिँडेका हौँ ।

जसमा हामीले नयाँ शक्तिका संयोजकलाई पनि आह्वान गरेकै हौँ ।’ पुरानै मानसिकताबाट वैकल्पिक शक्तिको मिसन पूरा हुँदैन । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले भने शुक्रबा देवेन्द्र पौडलसहितका नेताहरुलाई पार्टीबाट निष्काशन गरेको वक्तव्य जारी गरेका छन् ।

बाबुराम माओवादी केन्द्रमा फर्किएको समाचार चाँडै सुन्न पाइन्छ : झा
नयाँ शक्तिका संयोजक भट्टराईको कार्यशैलीप्रति असन्तुष्ट एवं सह–संयोजकको जिम्मेवारीबाट हटाइएका रामचन्द्र झाले बाबुराम भट्टराई चाँडै माओवादी केन्द्रमा फर्किएको समाचार सुन्न पाइने बताएका छन् ।

उनले भने, ‘बाबुराम भट्टराईले पार्टी चलाउन सक्दैनन् । भट्टराई सहायक कमाण्डर मात्रै हुन् । सरकारको नेतृत्वमा पु¥याएदिए केही गर्न सक्छन् ।’ भट्टराईबाट पार्टी चल्दैन । कारण पूर्वपञ्चहरु, पुँजीपति वर्गका व्यक्तिहरु, कर्मचारीतन्त्रलाई खोक्रो बनाउने घुसखोरीहरुको संगतले पार्टी चल्दैन, झाले भने, ‘उहाँप्रति दुर्भाव होइन तर, सत्य के हो भने ? बाबुराम भट्टराईले नेतृत्व गर्ने होइन । उनलाई नेतृत्व चाहिएको छ ।’ झाले आफु र रामकुमार शर्माले माओवादी फर्किने घोषणा गरिसकेको बताए । उनले भने, ‘बाबुराम भट्टराई र पुष्पकमल दाहालबीच सम्वाद भइरहेकै छ । अहिले माओवादी पूरानो ढर्राबाट बाहिर आइसकेकाले भट्टराईको घरफिर्तिका प्रचुर सम्भावना छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ