arrow

निर्वाचन आयोगको निर्णय नआएसम्म राप्रपाले संविधान संशोधनबारे निर्णय नगर्ने

logo
प्रकाशित २०७४ भदौ २ शुक्रबार
RPP_hetauda.jpg

हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संविधान संशोधन विधेयकमा सघाउनेबारेको जिम्मा केन्द्रीय कार्यसम्पादन समितिलाई दिएको छ ।

विहिबारबाट मकवानपुरको हेटौडामा जारी केन्द्रीय समिति बैठकले संसदमा छलफलमा लगिएको संविधान संशोधन विधेयकको पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने निर्णय गर्ने जिम्मा केन्द्रीय कार्यसम्पादन समितिलाई दिने निर्णय गरेका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

उनका अनुसार शुक्रबार केन्द्रीय सदस्यहरुले संविधान संशोधन विधेयकबारे संसदमा खेल्ने भूमिकाबारे विभिन्न धारणाहरु राखे । केन्द्रीय सदस्यहरुको धारणाकै आधारमा सबै जिम्मा केन्द्रीय कार्यसम्पादन समितिलाई दिइएको पाठकले बताएका छन् ।

बैठकले आइतबार निर्वाचन आयोगको निर्णय पर्खिने र त्यसपछि मात्रै कार्यसम्पादन समितिको बैठकले संशोधनको विषयमा पार्टीको आधिकारिक निर्णय दिने निधो गरेको छ ।

साउन २२ गते राप्रपाबाट अलग भई पशुपतिशमशेर राणासमूहले राप्रपा प्रजातान्त्रिक नाममा पार्टी दर्ता गर्न निर्वाचन आयोगमा ६९ जना (४० प्रतिशत) पार्टीका नेता कार्यकर्ताको हस्ताक्षर बुझाएकामा आयोगले पुनःनाम सनाखत गर्नका लागि भदौ ४ गतेसम्मका लागि समय दिएको सूचना सार्वजनिक गरेको छ । त्यो सूचनाको कारबाही वा निधो नभएसम्म कार्यसम्पादन समिति पर्खिने भएको छ । निर्वाचन आयोगको निर्णयपछि मात्रै संविधान संशोधनबारे राप्रपाको आधिकारिक धारणा आउने छ ।

प्रवक्ता पाठकले भने, ‘किन भने सांसदहरु दुवैतिर बाँडिएका छन् । आयोगको निर्णय नआई निधो हुँदैन । सकभर आयोगले आइतबार निर्णय दिन्छ ।’  

पशुपतिशमशेर राणाले भने पार्टी दर्ताका लागि एकपटक हस्ताक्षर गरेकालाई नै मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

निर्वाचन आयोगलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि एकपटक बुझाएको हस्ताक्षरलाई मान्यता दिनुपर्ने आदेशको माग गरिएको छ ।

निर्वाचन आयोगको सूचनाविरुद्ध राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । फेरि सनाखत गर्दा ४० प्रतिशत सदस्य संख्या नपुग्ने देखिएपछि राणाले कमल थापाप्रति आक्रोश पोखेका छन् । उनले थापालाई आफ्ना केन्द्रीय सदस्यहरुलाई बन्धक बनाएर राखेकोसम्म आरोप लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ