arrow

सगरमाथाको उचाई मापनको श्रृङ्खला : १८५२ देखि आजसम्म कतिपटक नापियो ?

logo
प्रकाशित २०७४ भदौ ३ शनिबार
sagarmatha.jpeg

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई पहिलोपटक नेपाल आफैंले नाप्ने तयारीमा जुटेको छ । ०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि सगरमाथाको उचाई पहिले भन्दा बढेको हुनसक्ने बैज्ञानिकहरुको दाबीपछि सगरमाथाको उचाई नाप्नुपर्ने बताईरहँदा यसपटक भने आफ्नै लगानी र कर्मचारी प्रयोग गरेर  सगरमाथाको उचाई नाप्ने तयारीमा नापी विभाग जुटेको हो  । 

विभागले अहिले तयारी गरेको सगरमाथाको उचाई मापन श्रृङ्खला नेपालको लागि पहिलो भएपनि सगरमाथा आर्फैको लागि भने यो पहिलो होईन । नापी विभागका अनुसार यो श्रृङ्खलाको सुरुवात प्राप्त जानकारीलाई आधार मान्ने हो भने १८५२ देखि भएको हो भने अहिलेसम्म यो सहित पाँचौं पटक आधिकारिक रुपमा र बीचमा तीन पटक अर्काे हिमाल अग्लो छ भन्ने विषयमा चर्चा चलेपछि उचाई मापन गरिएको गरी अहिलेसम्म यो पटक सहित गन्दा ८ पटक सगरमाथाको उचाई मापन गरिएको छ । 

विभागका उपमहानिर्देशक निरज मानन्धरका अनुसार सन् १८५२ मा पहिलोपटक सगरमाथाको उचाई नापिएको थियो । सो समयमा नेपालमा देखेका हिमालहरु हेर्दै यो कति अग्लो रहेछ भनेर ब्रिटिसहरुले सगरमाथाको उचाई नापेका थिए । सो समयमा नेपालमा नआई टाढैबाट नापिएको भएपनि ८ हजार ८ सय ४० मिटर उचाईको हिमाल रहेको भनेर उनीहरुले बताएका थिए । 

त्यसपछि ब्रिटिसहरुले नै सन् १९०४ मा सगरमाथाको उचाई पहिले जस्तै टाढाबाट नापे । सो बेलामा ८ हजार ८ सय ८२ मिटर रहेको बताईयो । सो बेलामा पनि व्रिटिसहरुले पहिलेजस्तै सर्भे अफ इन्डियाबाट नापेका थिए । 

तेस्रो, पटक पनि सन् १९३० मा सगरमाथाको उचाई नापियो सर्भे अफ इन्डियाबाटै । सो समयमा सगरमाथाको उचाई ८ हजार ८ सय ५४ मिटर रहेको बताईयो । त्यसको ठीक २४ वर्ष पछि १९५४ मा भने नेपालसँग अनुमती लिएर मनेपालमा नै आएर पहिलो पटक सर्भे अफ इन्डियाले नै यसको उचाई नाप्दा ८ हजार ८ सय ४८ मिटर रहेको बताईयो । हामीले यही बेलामा गरिएको मापनको आधारमा अहिलेसम्म पनि सगरमाथाको उचाई मान्ने गरिएको छ । त्यसपछि पनि नर्वे, अमेरिका र चिनियाँ संस्थाहरुले पनि सगरमाथाको उचाई ननापेका भने होईनन् । उनीहरुले नाप्दा भने कसैले ८ हजार ८ सय ४९, कसैले ८ हजार ८ सय ५० जस्ता फरक फरक तथ्यांक निकालेका थिए । 

त्यसैले यो पटक नेपाल आफैंले यसको उचाई नाप्ने प्रयास गरेको मानन्धरले जानकारी दिए । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टका अनुसार नेपालले पहिलो पटक सगरमाथाको उचाई नाप्ने प्रयास गरिरहेको छ । विश्वकै अग्लो चुचुरो सगरमाथाको उचाइ संयुक्तरुपमा पुनः नाप्नका लागि भारतले पटकपटक आग्रह गरेको नापी विभाग स्रोतले जानकारी दियो । तरपनि नेपालले यस पटक आफैं उचाई नाप्न लागेको हो । भारतको इन्डो नेपाल साइन्टिफिक एक्पिडिसन नेपाल र भारतको संयुक्त टोलीले सगरमाथाको उचाइ नाप्नका लागि प्रस्ताव गरिएको यस अघि नै भारतका विज्ञानमन्त्री हर्ष बर्दनले भारतीय सञ्चारमाध्यमलाई बताएका थिए ।

महानिर्देशक भट्टका अनुसार यो वर्ष नेपाल आफैंले नाप्ने भनी दुई करोड सुरुमा बजेट नै विनियोजन भईसकेको र उचाई नाप्नको लागि आवश्यक सबै प्रक्रियाहरुको तयारी भईरहेको बताएका छन् । उनका अनुसार कात्तिकको अन्तिम तथा मंसिरको सुरुदेखि काम सञ्चालन गर्ने तयारी भईरहेको छ । विभागले अप्रिलसम्ममा सबै काम पूरा गर्ने तयारी गरिरहेको छ । पहिले उचाई नापेको ठाउँ कहाँ हो र त्यो ठाउँ अहिले भेटिन्छ कि भेटिँदैन भन्ने अहिले यकीन नभएकोले अब कुन् कुन् ठाउँबाट नाप्न सकिन्छ भनेर आफूहरुले ठाउँ हेरिरहेको उनले बताए । 

उनले यसको लागि कूल ५० जना कर्मचारी सबै प्रक्रियाको लागि आवश्यक पर्छ भने कूल १५ करोड जति बजेट लाग्ने अवस्था रहेको बताए । अहिले सबै आवश्यक सामानहरुको बन्दोबस्त हुन लागिसकेको भन्दै अप्रिलमा हुने एभरेस्ट समिट पूरा हुनुभन्दा पहिले नै सो काम सक्ने प्रयास विभागको रहेको उनले बताए । उचार्इ मापन गर्ने बेलामा सबै देशका एक एकजना बैज्ञानिकहरुको प्रतिनिधि भने बोलार्इने उनले स्पष्ट बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ