arrow

पत्रकारहरु पार्टी होईन लोकतन्त्र पक्षधर हुनुपर्छ : गगन थापा

logo
प्रकाशित २०७४ भदौ ३ शनिबार
gagan_thapa_at_union_house.jpg

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले पत्रकार महासंघमा कुनै पार्टीको  पक्षमा भन्दा पनि लोकतन्त्रको पक्षमा उभिने नेतृत्व आओस् भन्ने आफ्नो पार्टीको सुवेच्छा रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनको संगठन विभागले काठमाडौमा आयोजना गरेको कार्यक्रममा नेता थापाले प्रेस युनियनले पार्टीको झोला बोक्नु पर्छ भन्ने पक्षमा आफुहरु कहिल्यै पनि रहेको स्पष्ट पार्दै आलोचना गर्न पाउने अधिकार सहितको सम्वन्ध हुनपर्ने धारणा राखे ।

“तपाईहरुको महाधिवेशनको पवित्रतामा कुनै असर नपरोस् भन्नेमा हामी पुर्ण सतर्क छौं, हामी त्यसमा संलग्नता वा हस्तक्षेप चाहदैनौं, तर प्रेस युनियन, प्रेस सेन्टर लगायतका संगठनको गठबन्धनमा आवद्ध साथीहरुले गठबन्धनको धर्म भने भुल्नु हुदैन,” उनले भने।

नेता थापाले विगतका सवै आक्रोस, आवेश, रिस, प्रतिषोध सवै भुलेर एक भोट पनि फरक नपारी आफ्नो गठबन्धनका उम्मेदबारहरुलाई मतदान गर्न अपिल गरे। गठबन्धनको उम्मेदबारलाई असहयोग गर्दा आफ्नै संगठनलाई र कालान्तरमा आफैलाई नकारात्मक असर पर्ने उनले बताए ।

संगठनको सदस्यता लिएको व्यक्तिले संगठनको उम्मेदबारलाई मतदान नगर्नु पाप र अपराध हुने नेता थापाको तर्क थियो । उनले अरु धेरै ठाँउमा यसैगरी गठबन्धन गर्नु पर्ने भएकाले गठबन्धनको संस्कार अझ सुदृढ र विश्वसनीय बनाउनु पर्नेमा जोड दिए ।

काँग्रेस र माओवादी केन्द्र वा प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनलाई काँग्रेस नेता थापाले विविधतालाई एकत्रित गर्ने मर्ममा आधारित गठनबन्धनको रुपमा परिभाषित गरे।

कार्यक्रममा महासंघको अध्यक्ष पदमा उम्मेदबार गोविन्द आचार्यले आफुले प्रेस सेन्टरबाट राजिनामा दिएर आफु स्वतन्त्र भएकाले युनियन र सेन्टरका सवै मुद्धालाई समान ढंगले आत्मसात गर्ने अठोट गरे।

युनियनका सार्थीहरुलाई चित्त नबुझेको अवस्थामा जुनसुकै बेला पनि आफु पद त्याग्न तयार रहेको र अर्को पटक युनियनको उम्मेदबारलाई अध्यक्ष बनाउने समझदारी भएकाले गठबन्धनप्रति विश्वास गर्न आचार्यले आह्वान गरे ।

भेलामा महासंघको महासचिवका उम्मेदबार रमेश विष्ट, महासंघका पुर्वअध्यक्ष धर्मेन्द्र झा, युनियका बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, बरिष्ठ पत्रकार बसन्तप्रसाद उपाध्याय, छापा माध्यम राष्टिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी लगायतले एकताबद्ध भएर मतदान गर्न युनियन र सेन्टरका पार्षद्हरुलाई आह्वान गरेका थिए ।

कार्यक्रममा युनियन, सेन्टर र प्रगतिशिलको तर्फबाट उम्मेदबार भएकाहरुलाई प्रशिक्षित गरिएको युनियनको संगठन विभागका सदस्य सचिव जीवन भण्डारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ