arrow

के भन्छन् पत्रकार महासंघमा अध्यक्षका प्रत्यासीहरु ?

logo
प्रकाशित २०७४ भदौ ३ शनिबार
online_medias.jpg

काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी महाधिवेशनमा अध्यक्षका प्रत्यासी तीनै जना उम्मेदवारले एउटै मन्चबाट आफ्नो उम्मेदवारीको औचित्यमाथि बहस गरेका छन् ।  अनलाइन पत्रकार संघले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्यासीहरुले सदस्यता शुद्धीकरण, महासंघको निर्वाचन प्रणाली र एसोसिएट संस्थाहरुसँगको सम्बन्ध लगायतका विषयमा आआफ्नो धारणा सार्बजनिक गरेका हुन् ।

अध्यक्षका प्रत्यासी तीर्थ कोइरालाले पत्रकारलाई पत्रकारिताबाटै जिविकोपार्जन हुन सक्ने वातावरण बनाए महासंघको सदस्यता शुद्धीकरण प्रभावकारी हुन सक्ने धारणा राखे । यसको लागि महासंघले पत्रकारको क्षमता बढाउन पहल गर्नुपर्ने कोइरालाको भनाइ छ । अर्का प्रत्यासी गोविन्द आचार्यले महासंघको सदस्य शुद्धीकरणको लागि प्रत्येक्ष निर्वाचन प्रणालीमा जानुपर्ने विकल्प सुझाए । महासंघको नयाँ सदस्यता दिदा वा पुरानो सदस्यता नविकरणको लागि सार्बजनिक सुनुवाइ गरेर सो ब्यक्ति अहिले पत्रकारितामा छ छैन भन्ने यकिन गर्ने अर्को विकल्पमा जान सकिने पनि उनको भनाइ छ ।

अध्यक्ष पदका अर्का प्रत्यासी उजिर मगरले महासंघमा आफू जानुको पहिलो उद्देश्य सदस्यता शुद्धीकरण नै भएपछि त्यही काम गर्न नसकिएको बताए । आफूले महासंघको महासचिबको रुपमा अन्य काममा सफलता पाए पनि सदस्यता शुद्धीकरणमा आफू २० प्रतिशत मात्रै सफल भएको मगरको भनाइ छ । निर्वाचनको बेलामा आएर सदस्यता शुद्धीकरणको कुरा उठाउनका लागि मात्रै उठाइएको मगरको भनाइ छ ।

अध्यक्ष पदका उम्मेदवार आचार्यले महासंघको निर्वाचन प्रणालीमा सुधार गरेर प्रत्येक्ष निर्वाचन प्रणालीमा जानुपर्ने बताए । अर्का प्रत्यासी मगरले आफू पनि प्रत्येक्ष निर्वाचन प्रणालीको पक्षमा रहेको भन्दै महासंघलाई अब संघीय संरचनामा लानुपर्ने धारणा राखे ।
अर्का प्रत्यासी कोइरालाले निर्वाचन प्रणालीको विषयमा अहिले नै टुंगोमा पुग्नुभन्दा यसको बारेमा अध्ययन जरुरी भएको बताए । निर्वाचन प्रणालीमा पार्षद प्रक्रिया अबलम्बन गर्नुका पछाडि कुनै कारण भएको हुन सक्ने भन्दै उनले किन यस्तो गरिएको थियो भन्ने जानकारी पाएपछि मात्रै प्रत्येक्षमा जाने वा अप्रत्येक्षमा नै रहने भन्ने निक्र्योल गर्नु उपयुक्त हुने बताए ।

महासंघमा एसोसिएट संस्थालाई ओझेलमा पारिनु नहुने र एसोसिएटले छोडे महासंघ महासंघको रुपमा नरहने भन्दै अध्यक्ष पदका तीनै जना प्रत्यासीले महासंघमा एसोसिएटको सहभागितालाई थप महत्व दिनुपर्ने बताए । यस्तै अध्यक्ष पदका तीनै जना प्रत्यासीले महासंघमा राजनीति हाबी भएको स्वीकार गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ