arrow

प्रधानमन्त्री देउवाको भारत भ्रमणमा पेट्रोलियम पदार्थबारे छलफल 

logo
प्रकाशित २०७४ भदौ ४ आइतबार
sher-bahadur-deuba-pm1.JPG

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका क्रममा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि छलफल हुने भएको छ । 

चौथोपटक प्रधानमन्त्रीका रूपमा तीन महिनाअघि सिंहदरबार छिरेका कांग्रेस सभापति देउवाले आगामी ७ भदौमा पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्दै छन् ।

भारत भ्रमणको क्रममा पेट्रोलियम पदार्थको सहज आपूर्ति, भारतमा रोकिएका नेपाली ग्याँस बुलेट छुटाउने, पाइपलाइन विस्तार तथा भण्डार केन्द्र निमार्णका विषयमा भारतीय समकक्षीसँग छलफल गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा परराष्ट्र सचिव शंकरदास बैरागीले सरकारले पेट्रोलियम पदार्थसम्बन्धी सम्पूर्ण समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग छलफल गर्ने जानकारी समितिलाई गराएका हुन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका बेला सरकारले हवाई इन्धन, खाना पकाउने ग्याँस, डिजेल, पेट्रोल, मट्टीतेलको सहज ढुवानी, आपूर्ति तथा पाइपलाइन निर्माण एवं भण्डारणबारे गहन छलफल गर्ने कार्यसूची निर्धारण गरिएको छ,’ सचिव बैरागीले भने, ‘ग्याँस बुलेट छुटाउन मन्त्रालयले पहल गरिरहेको छ, प्रधानमन्त्रीको भारत भ्रमणको एउटा एजेन्डाका रूपमा यसलाई राखिएको छ ।’

ग्याँस बुलेट रोकिएको विषयमा आपूर्ति मन्त्रालयबाट पत्र आउनासाथ कूटनीतिक तहबाट पहल थालिसकेको बताउँदै परराष्ट्र सचिव बैरागीले भारतस्थित नेपाली दूतावास र नेपालस्थित भारतीय दूतावासलाई समेत यस विषयमा आवश्यक पहल गर्न पत्राचार गरेको जानकारी दिए ।

सचिव बैरागीले नेपाली सवारीसाधनबाट ग्याँस ढुवानी गर्ने, ती सवारीसाधनलाई भारत सरकारद्वारा विशेष अनुमतिपत्र व्यवस्था गर्नेलगायत पेट्रोलियम पदार्थ आपूर्तिसँग सम्बन्धित सबै विषयमा प्रधानमन्त्रीको भ्रमणका बेला गरिने जानकारी दिए ।

बैठकमा उपस्थित आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल–भारतबीच पेट्रोलियम पदार्थ आपूर्ति तथा वितरणका निम्ति विगतमा भएका समझदारी एवं सम्झौता केही कार्यान्वयन हुन बाँकी रहेको भन्दै तीनको कार्यान्वयनको विषयमा भारतसँग छलफल भइरहेको बैठकमा जानकारी दिए ।

आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले ग्याँस बुलेट छुटाउने सम्बन्धमा प्रधानमन्त्री स्तरमा छलफलको तयारी भइरहेको जानकारी दिए ।

 ‘विगतमा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालयमार्फत पटकपटक बुलेट छुटाउन पहल गर्दा पनि बुलेट आउन नसकेकाले प्रधामन्त्रीको भारत भ्रमणमा दुवै देशका प्रधानमन्त्रीबीच छलफल हुने तयारी भएको छ,’ उनले भने, ‘विगतमा पहल गर्दा समेत भएन, अब यसका लागि माथिल्लो स्तरबाटै छलफल हुन्छ, प्रधानमन्त्रीको भारत भ्रमणमा अपूर्ति मन्त्रालयको मुख्य एजेन्डा नै बुलेट छुटाउने रहेको छ ।’

सरकारले नेपाली ग्याँस बुलेट खरिद गर्न अनुमति र भन्सार छुटको सुविधा दिएको थियो । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ