arrow

काठमाडौंको विज्ञापन कर लक्ष्यको तुलनामा १३ सय ५६ प्रतिशत बढी, समग्रमा भने १ सय १ प्रतिशत मात्रै  

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ भदौ ४ आइतबार
mahanagar123.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षमा विज्ञापन कर शीर्षकमा लक्ष्यको तुलनामा १३ सय ५६ प्रतिशत बढी कर उठाएको छ । आईतबार महानगरपालिकाको राजश्व विभागले सार्वजनिक गरेको राजश्वको लक्ष्य तथा प्रगति विवरणमा अघिल्लो वर्ष ४ करोड १६ लाख ७४ हजार ९ सय ३० रुपैयाँ उठाएकोमा यो वर्ष महानगरपालिकाले लक्ष्यको तुलनामा १३ सय ५६ प्रतिशतले बढी हुनेगरी ९ करोड ७६ लाख ३७ हजार रुपैयाँ उठाएको हो । गत आर्थिक वर्षमा महानगरपालिकाले जम्मा ७२ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको थियो । 

महानगरपालिकाले प्रकाशित गरेको विवरण अनुसार यो वर्ष महानगरपालिकाले उठाएको सो रकमको विज्ञापन कर अघिल्लो आर्थिक वर्षको तुलनामा भने २ सय ३४ प्रतिशतले मात्रै बढी हो । यसमा स्पष्ट हुनुपर्ने कुरा के छ भने महानगरपालिकाले अघिल्लो वर्ष ४ करोड कमाएको भएपनि यो वर्ष विज्ञापनकरको लक्ष्य ७२ लाख मात्रै लिएको थियो । अघिल्लो वर्ष ४ करोड रुपैयाँ कमाएको महानगरपालिकाको लक्ष्य ७२ लाख मात्रै किन राखियो त ? महानगरपालिकाका राजश्व महाशाखा प्रमुख ध्रुव काफ्ले भन्छन् ‘सर्वाेच्च अदालतले दिएको निर्देशनको पालना गर्दा काठमाडौंका धेरै ठाउँमा रहेको विज्ञापनहरु हटाउनु परेको थियो । सोको कारण हामीले अघिल्लो वर्ष भन्दा समीक्षा वर्षमा विज्ञापन कर उठाउने दायरा पनि धेरै कम रहेकोले यसको लक्ष्य पनि घटाएका हौं ।’ 

यदी त्यसो हो भने कसरी १३ सय ५६ प्रतिशतबढी राजश्व उठ्यो त भन्ने प्रश्नमा महाशाखा प्रमुख काफ्ले भन्छन् ‘यसरी धेरै प्रतिशत कर उठ्नुको मुख्य कारण विज्ञापन वापतको बक्यौता रकम तिर्नेहरु बढेका कारणले कर पनि बढेको हो ।’ महानगरपालिकाले व्यवसाय करमा पनि व्यापक सुधार गरेको छ । अघिल्लो वर्ष ५ करोड ७० लाख ९३ हजार रुपैयाँ उठेको व्यवसाय कर अघिल्लो वर्ष भन्दा १ सय ७ प्रतिशतले बृद्धि हुँदै ६ करोड १२ लाख ९५ हजार रुपैयाँ उठेको छ । जुन ४ करोड ५० लाख रुपैयाँको लक्ष्यमा १ सय ३६ प्रतिशत बढी हो । 

व्यवसाय कर तर्फ भने यो वर्ष निर्माण प्रमाणीकरणको सूचना निकालिएको र स्वीकृत नक्साभन्दा अग्ला घर बनाएका घरधनीहरुलाई पनि प्रमाणपत्र नदिईएपनि उनीहरुले घर बनाएको तथ्यांक संकलन गरिने र उनीसँग समेत व्यवसाय कर लिन थालिएको कारण व्यवसाय करको मात्रा पनि बढेको महानगरपालिकाले जानकारी दियो । 

अहिले २७ सय घरधनीहरुले प्रमाणीकरणको लागि निवेदन दिएका छन् र निवेदन नै नदिई कर बुझाउने को संख्या पनि उल्लेख्य रहेको छ । त्यसैले पनि व्यवसाय करमा लक्ष्यको भन्दा बढी रकम उठेको हो । 

त्यस्तै महानगरपालिकाले घरजग्गा कर शीर्षकमा ७२ करोड ८७ लाख ८५ हजार रुपैयाँ उठाएको छ । जुन लक्ष्यमा लिईएको ५२ करोड भन्दा १ सय ४० प्रतिशतले बढी हो । १५ करोड ६९ लाख ५० हजार उठाईएको छ । जुन २० करोड उठाउने लक्ष्य लिईएकोमा त्यसको ७८ प्रतिशत मात्रै उठेको हो । यसरी सबै विषयहरु जोडेर महानगरपालिकाले कूल लक्ष्यको एक सय एक प्रतिशत मात्रै कर उठाएको छ । 

कसरी हुन्छ १३ सय प्रतिशत भन्दा बढी लक्ष्य लिँदा पनि यस्तो ?
माथि विज्ञापन करमा महानगरपालिकाले लक्ष्य भन्दा १३ सय ५६ प्रतिशत बढी उपलब्धी हाँसिल गरेको बताईएको छ । तर, कसरी समग्र लक्ष्यमा भने एक सय एक प्रतिशत मात्रै आयो त प्रगति ? यो प्रश्नको उत्तर पनि महानगरपालिकाले सार्वजनिक गरेको कर विवरणमा नै उल्लेख गरिएको छ । महानगरपालिकाको यो वर्ष १३ वटा शीर्षकमा शुन्य कर उठेको छ । त्यही कारणले पनि विज्ञापन करमा लक्ष्यको तुलनामा १३ सय प्रतिशत भन्दा बढी प्रगति भएको भएपनि कूल लक्ष्यमा भने सामान्य प्रगति देखिएको हो । 

यो वर्ष महानगरपालिकाले मनोरञ्जन कर, व्यानर, बसपार्क पसल बहाल, मिनि हलभाडा, चौरभाडा, राजश्व बांडफांड, निजि क्षेत्र सहभागिता, अन्य करार आय (सिटी मार्केट),  अन्य करार आय आकाशे पुल (इनोभेटिभ प्रा.लि), करार आय (शहरी सेवा केन्द्र खुलामञ्च), करार आय(वीर अस्पताल अगाडि रत्नपार्क शौचालय) र अन्य करार आय (त्रिपुरेश्वर ट्रलीबस काउन्टर) मा लिईएको लक्ष्य अनुसार शुन्य प्रगति भएको हो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ