arrow

 घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
edit-hydro-bhari-babai-project.jpeg

बाबियाचौर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । 

घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको पाँच मेगावाट क्षमताको आयोजनाको आइतबार बाँध र आउटलेट (फोरवे)बाट खनिएको सुरुङ जोडिएको हो । 

आउटलेटबाट एक हजार मिटर र बाँधबाट ६९५ मिटर सुरुङ निर्माण गरिएको घलेम्दी हाइड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीले जानकारी दिए । 

अन्नपूर्ण हिमालको फेदीमा रहने बाँधसम्म सडक नभएकाले पिठ्युँ र खच्चरमा बोकाएर सामान ढुवानी गरिँदै आएको थियो । विद्युत्गृहको छेउसम्म सडक पुगेको छ । रोपवेमार्फत करिब २०० मिटर माथि रहेको सुरुङको आउटलेटसम्म सामान ओसार्ने गरिएको छ । 

नेपाली सेना र प्रहरीको निगरानीमा बिस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खनिएको हो । दुईतर्फबाट जोडिने टनेलको अन्तिम बिस्फोट अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले गराएकी थिइन् । 

जनप्रतिनिधि, लगानीकर्ता, संस्थापक र मजदुरको उपस्थितिमा सुरुङ निर्माणको काम सकिएकामा खुशीयाली मनाइएको थियो । 

विसं २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम हालसम्म ७५ प्रतिशत पूरा भएको अध्यक्ष सुवेदीले बताए । 

यो आयोजना म्याग्दीका उद्योगी, व्यापारी र सर्वसाधारणको पहलमा निर्माण हुन लागेको हो । विसं २०७४ चैतभित्र उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ । स्थानीय बासिन्दाको अपन्त्व र सहयोगले काम गर्न सहज भएको आयोजनाका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले बताए । 

एक हजार ३०० जनाको रु ३५ करोड ५० लाख संस्थापक सेयर रहेको आयोजनामा लुम्बिनी र टुरिजम विकास बैंकले रु ५५ करोड लगानी गरेका छन् । 

घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सवस्टेशनमार्फत घलेम्दीको विद्युत् केन्द्रीय प्रशारण लाइनमा जडान गर्ने योजना छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ