arrow

निर्वाचन कार्यालयका कर्मचारीलार्इ कारबाही गर्ने बुढानीलकण्ठ नगरपालिकाको निर्णय, नामावली रद्द गरिने 

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
budhanilkantha_nirnaya-hamrakura.JPG

काठमाडौं । निर्वाचन कार्यालयका कर्मचारीको मिलेमतोमा नेकपा एमालेका नगर अध्यक्षको घरमा बसेर मतदाता नामावली संकलन गरिएको विषयमा विवाद चुलिँदै गएपछि बुढानीलकण्ठ नगरपालिकाले समेत त्यस्तो कार्यमा संलग्नलाई कारबाही गर्ने निर्णय गरेको छ ।

गत शनिबार स्थानीय तहमा जारी मतदाता नामावली संकलन गर्ने समय सकिएपछि रातीअवेरसम्म एमाले नेताको घरमा फोटो सहितको मतदाता नामावली तयार पारिरहेको बेला निर्वाचन कार्यालयका कर्मचारीलाई नामावली संकलन गर्ने उपकरणसहित प्रहरीले पक्राउ गरेपछि जारी विवादले उग्र रुप लिन लागेपछि नगरपालिकाको बैठक बसी यस्तो निर्णय गरेको हो । 

यो विषयमा विवाद चुलिँदै गएको र यो विषयले स‌ंसद्मा समेत महत्व पाउन थालेपछि सोमबार बसेको नगरपालिकाको बैठकले यसरी निर्वाचन ऐन विपरित निर्वाचन आयोगका कर्मचारीहरु एमालेको पार्टी संयोजकको घरबाट पक्राउ पर्नु दुखद् रहेको उल्लेख गरेको छ । बैठकपछि नगरपालिकाका मेयर उद्दवप्रसाद खरेलले विज्ञप्ती जारी गर्दै यस विषयमा सबैदलीय छलफल आह्वान गरी सर्वदलीय बैठकको निर्णय अनुसार काम गर्ने निर्णय गरिएको जनाएका छन् । 

त्यस्तै, संकलन गरिएका सबै मतदाताहरुको विवरण रुजु गर्ने र कागजपत्र नपुगेका मतदाताहरुको फोटो रद्द गर्न तथा गैरकानूनी काममा संलग्न रहेका कर्मचारीहरुलाई दोषी पाईए कारबाही गर्ने निर्णय समेत गरिएको उनले उल्लेख गरेका छन् । 

जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले नामावली संकलनका लागि खटाएको आकृत खत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । एमाले नेता अर्जुन खत्रीको भतिजा समेत रहेका खत्रीलाई यही कामका लागि स्थानीय तहको सिफारिसमा करारमा राखिएको थियो भने बाँकी कर्मचारी स्थानीय तहले व्यवस्थापन गरेको थियो । 

बुढानीलकण्ठमा दुई वटा टोलीले तस्बिरसहितको मतदाता नामावली संकलन गरेको थियो । खत्रीलाई प्रयोग गरेर एमाले नेताहरुले आफ्ना समर्थकहरुलाई घरमै नाम लेखाउने व्यवस्था मिलाएको थियो । तस्बिरसहितको मतदाता नामावलीमा नाम लेखाउन समय सकिएपछि पनि उनीहरुले नामावली तयार पारिरहेका बेला राती दुई बजेतिर उनीहरुलाई पक्राउ गरेको थियो ।
 
एमालेको बुढानीलकण्ठ नगरपालिका अध्यक्ष दिपक निरौलाको घरबाट उनीहरुलाई पक्राउ गरी महारजगञ्जस्थित प्रहरी कार्यालयमा पुर्‍याइएको थियो । प्रहरीले निरौला र खत्रीसँगै बुढानीलकण्ठ ९ का वडाध्यक्ष राजेन्द्र सापकोटालाई पनि पक्राउ गरेको थियो । महाराजगञ्ज वृत्तले पनि कर्मचारी र एमाले नेतालाई मतदाता नामावली संकलन गर्ने सामग्री सहित नियन्त्रणमा लिएको पुष्टी गरेको छ । 

एमालेबाहेकका दलहरुले भने सबै मतदाता नामावलीमा नाम संकलन गरिएकाहरुको नाम रुजु गरेर गलत भएका लगायतका सबै रद्द गरी पुनः फोटो सहितको मतदाता नामावली संकलन गर्नुपर्ने जनाएको छ । उनीहरुले मंगलबार यस विषयमा बैठक गरी विरोधका थप कार्यक्रमहरु सार्वजनिक गर्ने समेत जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ