arrow

संविधान संशोधन विधेयक फेल हुँदा राष्ट्रलाई फाइदा : एमाले

‘मधेस केन्द्रीत दलले परिणाम स्वीकारेसँगै संविधानले पूर्णता पायो’

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । सरकारले पास नै गर्छु भनेर ल्याएको संविधान संशोधन विधेयक संसदवाट अस्वीकृत भएको छ । संशोधन अस्वीकृत भएसंगै प्रमुख विपक्षी एमालेले सरकारले यो घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताएको छ ।

एमाले प्रमुख सेचेतक भानुभक्त ढकालले भने, ‘पास नै गर्छौँ भनेर ल्याएको संशोधन हो । सरकारले नैतिक जिम्मेवारी लिन्छ कि लिँदैन ।’ संविधान जारी भइसकेपछि संशोधन विधेयक फेल भएको यो दोस्रो पटक हो । यसअघि तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले ल्याएको पहिलो संविधान संशोधन फेल भएको थियो । पहिलो संशोधन गर्न पछि फेरि संशोधन विधेयक ल्याइएको थियो ।

विधेयक फेल भएपछि घाटा क–कसलाई भयो ? ढकालले जवाफमा भनेका छन्, ‘यो विधेयक फेल भएर घाट र फाइदा भन्दा पनि राष्ट्रिय हित, राष्ट्रिय एकताका लागि मुलुकलाई फाइदा पुगेको छ ।’ राष्ट्रिय सहमतिलाई भूलेर ल्याइएको संशोधन फेल हुनुले दलहरुलाई फाइदा घाटाको भन्दा पनि मुलुकको समग्र भविष्यलाई फाइदा गरेको छ ।  

यस्तै, उनले संविधान संशोधन नभई कुनै पनि हालतमा नमान्ने अडान राख्दै आएका दलहरुसमेत संशोधन प्रक्रियामा आएसँगै संविधानले पूर्णता पाएको छ, भनेका छन् । उनले थपे, ‘परिणाम स्वीकार्ने उनीहरुको निर्णय र मतदान प्रक्रियामा भएको सहभागिताले संविधानको सर्वस्वीकार्यता बढेको रुपमा लिन सकिन्छ ।’ यो प्रकारको सन्देश प्रवाह भएको छ ।    

मतदान हुँदा संविधान संशोधन विधेयक स्वीकृत गरियोस् भन्ने प्रस्तावको पक्षमा ३ सय ४७ र विपक्षमा २ सय ६ मत परेको छ । सभामुख ओनसरी घर्तीले संसदमा तत्काल कायम रहेको सदस्यसंख्या ५ सय ९२ को दुई तिहाई नपुगेको भन्दै विधेयक अस्वीकृत भएको घोषणा गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ