arrow

‘केन्द्र र प्रदेशको निर्वाचन पनि दुई चरणमा हुनसक्छ’ 

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
ayodhi-yadhv-sunuwai-FNL.JPG.jpeg

काठमाडौं । प्रमुख निर्वाचन आयूक्त अयोधीप्रसाद यादवले मुलुकको भौगोलिक अवस्था र निर्वाचनको तयारीलगायतका प्राविधिक कारणले मंसिर १० गतेको लागि तोकिएको प्रदेश र संघीय संसदको निर्वाचन अर्को चरणमा पनि हुन सक्ने सम्भावना ब्यक्त गरेका छन् । 

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘संविधानसभाको निर्वाचनको बेलामा पनि मंसिर ४ गते हिमाली भेगमा हिऊँ परेको थियो । अहिले पनि त्यो सम्भावना छ, प्राकृतिक चुनौति आईपरे हामी दोस्रो चरणमा जानै पर्छ ।’

यादवले आफूहरुले भौगोलिक अवस्था र निर्वाचनको प्राविधिक तयारीको अवस्थालाई मध्यनजर गरेर मंसिर ४ र २१ गते गरी दुई चरणको निर्वाचनको प्रस्ताव गरेको उल्लेख गर्दै चुनौतिलाई मध्यनजर गर्दा मंसिर १० को निर्वाचन दुई चरणमा पनि हुन सक्ने तर्क गरे । 

उनले भने,‘ अहिलेसम्म निर्वाचन कानून आईसकेको छैन, निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पनि आईसकेको छैन । हामीलाई निर्वाचनको तयारीको लागि पनि प्रयाप्त समय दिईएको छैन । नियन्त्रण बाहिरको परिस्थति आए निर्वाचन अर्को चरणमा पनि हुन सक्छ ।’

यादवले अहिलेको चुनावमा मतपत्रको ब्यवस्थापन सबैभन्दा ठूलो चुनौति भएको भन्दै आयोगले दुई वटा मतपत्रमार्फत निर्वाचन गराउने तयारीमा आफूहरु रहेको स्पष्ट पारे । यद्यपि उनले राजनीतिक बृत्तबाट बाहिर आए जस्तो चार वटा मतपत्रबाट चुनाव गराउने गरी कानून निर्माण गरे तोकिएको मितिमा निर्वाचन गर्न नसक्ने दावी गरे । 

उनले भने,‘ हामी अहिले तोकिएकै मितिमा निर्वाचन गर्ने गरी तयारीमा जुटेका छौ । स्थिति प्रतिकुल भए त्यसपछि सोचौला । अहिले हामीले निर्वाचनको मितिकोलागि सरकारलाई धन्यबाद दिईसकेका छौ ।’

यादवले दलहरुले नै नमानेकोले आगामि निर्वाचनमा पनि भोटिङ मेसिनको प्रयोग नहुने स्पष्ट पारे । उनले असोज २ गतेको तेस्रो चरणको स्थानीय निर्वाचनको मिति कुनै पनि हालतमा नसर्ने दावी गर्दै बढीका कारण उत्पन्न समस्या समाधानको लागि आफूले प्रधानमन्त्रीसँग आग्रह गरिसकेकोले मतदान केन्द्रसम्मको बाटोसहितको ब्यवस्था सरकारले गर्ने विश्वास ब्यक्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ