arrow

बाढीले भत्काएको बाटो नबनाए २ नं प्रदेशको निर्वाचन प्रभावित हुने  

logo
प्रकाशित २०७४ भदौ ७ बुधबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले बाढीले भत्काएको सडक तत्काल पुनर्निर्माण नगरे प्रदेश नं २ को स्थानीय तहको निर्वाचन प्रभावित हुने बताएको छ । बुधबार प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा आयोगमा गएको सरकारी टोलीसँग आयोगले यस्तो बताएको हो । 

भेटका क्रममा प्रमुख आयुक्त तथा आयुक्त सहितको आयोगको टोलीले २०७४ साल असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको निर्वाचनका लागि सो प्रदेशमा रहेका जिल्लाका कतिपय स्थानमा हालै गएको बाढी र डुवानका कारण मतदान केन्द्र, मतदान केन्द्रसम्म जाने आउने सडक तथा पुलहरू क्षति भई सडक समेत अवरुद्ध रहेकाले यथाशीघ्र सवारी सञ्चालनमा आउने गरी निर्माणको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

सडक यातायात सुचारू नहुने हो भने मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न, मतदान केन्द्रमा जान आउन तथा निर्वाचन सामग्री ढुवानी गर्न कठिनाई हुने र मतदातालाई मतदान केन्द्रमा पुग्न पनि समस्या हुने भएकाले तुरुन्तै सडक तथा पुल मर्मतका लागि प्रमुख आयुक्त तथा आयुक्तले आग्रह गरे । उनीहरूले नेपाली सेनाको सहयोग लिएर भए पनि भत्किएका सडक, पुल बनाउनु पर्नेमा जोड दिनु भएको थियो । साथै, उनीहरूले २०७४ साल मंसिर १० गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिटो भन्दा छिटो आयोगले पाउनु पर्नेमा जोड दिए। 

त्यस अवसरमा उपप्रधानमन्त्री गच्छदारले स्थानीय पुल तथा सडक सुचारू गर्नका लागि बिहीबार नै सरोकारवालाको बैठक बोलाएर अवरुद्ध सडकहरू केही दिनभित्रै सञ्चालनमा ल्याउन सम्बद्ध निकायलाई निर्देशन दिने विश्वास आयोगलाई दिलाए । साथै, उनले दुबै निर्वाचनका लागि आवश्यक पर्ने ऐन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आयोगलाई अविलम्व उपलब्ध गराउन सरकारले प्रयास थालिसकेको जानकारी आयोगलाई गराएका छन्। भेटका क्रममा आयोगका निमित्त सचिव दीपक सुवेदी सहितका पदाधिकारीको उपस्थिति थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ