arrow

बाढीबाट माडीका २ सय १६ घरमा क्षति

logo
नारायण ढुंगाना,
प्रकाशित २०७४ भदौ ८ बिहिबार
Flood.jpg.jpeg

रत्ननगर (चितवन)। दक्षिण चितवनको माडीमा साउन अन्तिम साता आएको बाढीले २१६ घरमा क्षति पुर्‍याएको पाइएको छ । क्षतिको विवरण संकलनपछि माडी नगरपालिकाले दिएको जानकारी अनुसार करिव आठ सय बिगाहा क्षेत्रको जमिन भने कटान र डुवानबाट प्रभावित भएको छ ।

डुवानले अधिकाँश धानबालीमा क्षति पुर्‍याएको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार क्षति भएका २१६ घरमध्ये १०५ घर पूर्ण र १११ घरको आँशिक क्षति भएको पाइएको छ ।

पूर्ण क्षति भएकाहरुमध्ये केहीलाई छिमेकको घरमा बस्ने व्यवस्था मिलाइएको र केहीलाई विभिन्न सामुदायिक भवन र रेडक्रम भवनमा बस्ने व्यवस्था गरिएको छ ।

माडीको बाँदरझुलास्थित सामुदायिक भवनमा बाढीपीडितलाई राखिएको छ । यस्तै, गोविन्दबस्ती र प्याउलीका पीडितहरुलाई गाउँलेको घरमै राख्ने व्यवस्था गरिएको छ । उनीहरुका लागि रेडक्रस भवनमा सामूहिक खानाको प्रबन्ध गरिएको नगर प्रमुख ढकालले जानकारी दिए ।

कतिपयका घर र जमिनहरु नामोनिशाना नै नरहने गरी बगाएर लगेको उनले बताए । आंशिक क्षति भएकाहरुलाई भने बाहिर सामूहिक खानाको व्यवस्था गरी सुत्नलाई आफ्नै घर प्रयोग गर्न भनिएको थियो ।

साउन २८ गतेको अविरल बर्षापछि आएको बाढीले माडीको वनकठ्ठा, अमिलिया, सिमरा, धोवाह, रतनी, बाँदरझुला, प्याउली, गोविन्द बस्ती लगायत क्षेत्रलाई प्रभावित गरेको थियो । ठाडा खोला र रिउ नदीमा आएको बाढीले यसरी क्षति पुर्‍याएको हो ।

माडीका स्थानीयवासी गोविन्द न्यौपानेले अहिले राहत वितरणको काम चलिरहेको र चाँडै नै यहाँका बाढी प्रभावितलाई आवासको व्यवस्थापन जरुरी भएको बताउनुभयो । नगरपालिकाका अनुसार आएका अधिकाँश राहत सामग्री समन्वय गरी वितरण भैरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ