जुर्मुराउँदै कोइराला परिवार, १४ औँ महाधिवेशनबारे तीन कोइरालाबीच छलफल सुरु

प्रकाशित मिति : २०७४ भदौ १० शनिबार , ५,८१७ पटक हेरिएको
तस्बिर: वेव

काठमाडौं। कांग्रेसको ७१ वर्षे इतिहासमा ४९ वर्ष कोइराला परिवारको नेतृत्व रह्यो। १३ वटा महाधिवेशनबाट कोइराला परिवारका चार नेताले नेतृत्व गरे। बिपीले २५ वर्ष, मातृकाले ४ वर्ष, गिरिजाप्रसादले १४ वर्ष र सुशील कोइरालाले ६ वर्ष कांग्रेसको नेतृत्व गरे। कोइराला परिवारकै वरिपरि कांग्रेसको राजनीति घुम्यो। कोइराला परिवारबाहिर सुवर्णशमशेरले २ वर्ष र कृष्णप्रसाद भट्टराईले एक पूर्ण कार्यकाल र कार्यबाहकसहित १९ वर्ष कांग्रेस चलाए। तर, भट्टराई नेतृत्वको कांग्रेस पनि कोइरालाको पकडभन्दा बाहिर गएन। १३औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवाले जितेपछि भने कांग्रेस कोइराला परिवारको पकडभन्दा बाहिर पुगेको छ। पदाधिकारी, केन्द्रीय समिति, संसदीय दलदेखि जिल्ला कार्यसमितिसम्म देउवाकै वर्चस्व छ ।

कोइराला परिवारबाट अब कसको नेतृत्व ?
गत ४ साउनमा छलफलपछि सामूहिक तस्बिर सार्वजनिक गरेर एकताको सन्देश दिएका कोइराला परिवारका तीन नेताले आगामी महाधिवेशनमा एक भएर अघि बढ्ने समझदारी बनाएका छन्। बिपीपुत्र शशांक महामन्त्री छन्। केशव–नोनापुत्र शेखर र गिरिजापुत्री सुजाता केन्द्रीय सदस्य छन् । लामो समय डाक्टरी पेसा गरेर राजनीतिमा आएका शशांकलाई बिपीपुत्र हुनुको फाइदा छ। तर, शेखर राजनीतिक रूपमा दुई कोइरालाभन्दा अगाडि छन्।

कार्यकर्तासँगको भेटघाट र देश दौडाहामा शेखर सबैभन्दा अगाडि छन्। सुजातालाई पनि गिरिजापुत्री हुनुको फाइदा छ। तीन नेताबीचको सहमतिअनुसार एकजना अघि बढ्नेमा उनीहरू सहमत छन्। तर, अहिले नै नेतृत्वमा को अघि बढ्ने भन्नेमा प्रस्ट भइसकेका छैनन्। ‘उहाँहरूलाई पार्टीको चिन्ता छ। एकढिक्का हुँदै जानका लागि भेटघाट गर्ने र खाना खाएर एकताको सन्देश दिनुभएको हो,’ कोइरालानिकट स्रोत भन्छ, ‘उहाँहरूबीचको छलफलमा नेतृत्वमा विवाद नगरी १४औँ महाधिवेशनससम्म मिलेर जाने समझदारी भएको छ।’ भेटमा शशांकले जसले नेतृत्व गरे पनि आपत्ति नहुने बताएका थिए। राजनीतिक रूपमा बढी समझ शेखरसँग रहेको भन्दै नेतृत्वको विषयमा मिलाउन सकिने उनले बताएका थिए। सुजाताले पनि आफ्नो स्वास्थ्यका कारण नेतृत्वमा दाबी नरहने संकेत दिएकी थिइन्।

रामचन्द्र पौडेलले देउवासँग अब ‘फाइट’ गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूमध्येबाटै एकलाई नेतृत्वमा अघि सार्ने निष्कर्षमा कोइरालात्रय पुगेका हुन्। बिपीका जेठा छोरा प्रकाश कोइराला अहिले राजनीतिमा सक्रिय छैनन्। श्रीहर्ष त राजनीतिमै आएका छैनन्।

कांग्रेस सभापतिहरू
पहिलो : १२–१३ माघ, २००३ (कलकत्ता) – टंकप्रसाद आचार्य, कार्यकारी सभापति बीपी कोइराला,
दोस्रो : माघ २००४ (बनारस) – बिपी कोइराला
तेस्रो : फागुन २००५ (दरभंगा, बिहार) – मातृकाप्रसाद कोइराला
चौथो : चैत २००६ (कलकत्ता) – मातृका कोइराला
पाँचौँ : माघ २००९ (जनकपुर) बिपी कोइराला
छैठौं : २०१२ (वीरगन्ज) – सुवर्णशमशेर जेठ २०१४ (विशेष राष्ट्रिय महाधिवेशन) – बीपी कोइराला
सातौं : वैशाख २०१६ – बीपी कोइराला २०३४ (पटना) बिपीले स्वास्थ्यको कारण देखाई कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाए । बिपीको निधनपछि २०३९ कार्यावाहक सभापति
आठौं : फागुन २०४९ (झापा) – कृष्णप्रसाद भट्टराई
नवौं : वैशाख २०५३ (काठमाडौं) गिरिजाप्रसाद कोइराला
१० औं : माघ २०५७ : गिरिजाप्रसाद कोइराला,
११ औँ : भदौ, २०६२ (काठमाडौं)– गिरिजाप्रसाद कोइराला
१२ औँ : असोज, २०६७ (काठमाडौं) सुशील कोइराला
१३ औँ : २५, फागुन २०७२ (काठमाडौं) शेरबहादुर देउवा (हालसम्म)

कांग्रेस कमजोर हुँदै गयो, डा. शशांक कोइराला, महामन्त्री
संविधान संशोधनलाई अहिले फ्लोरमा लगेर टुंग्याइयो। तर, तीन–चार महिनाअघि नै किन यो प्रक्रिया अपनाइएन ? कांग्रेस कमजोर हुन थालेको आभास भएको छ। हरेक विषयमा ढिलाइ गर्दै जाँदा राम्रो हुन्न। हामीले राम्रा काम पनि गरेका छौँ। तर, राम्रा काम जनतामा लान सकेनौँ। केही नराम्रा काम गर्‍यौँ। यसको नजिता निर्वाचनमा भोग्यौँ। डिआइजी प्रकरण, महाअभियोग प्रकरण, राजदूतका विषयमा पार्टीको पोजिसनले राम्रो सन्देश गएन। प्रजातन्त्रलाई बलियो बनाउने कुरामा हामीले ध्यान दिएनौँ। यसैले हामी कांग्रेसलाई बलियो बनाउनुपर्छ भन्दै एकजुट भएका हौँ। यसमा सबैको साथ चाहिन्छ।

७१ वर्षे कांग्रेसमा कोइराला परिवारको नेतृत्व ४९ वर्ष 
कृष्णप्रसाद भट्टराईले १९, सुवर्णशमशेरले २ वर्ष र शेरबहादुर देउवाले डेढ वर्ष नेतृत्व गरे ००३ सालमा कांग्रेस स्थापना भएपछि बिपीले पाँचपटक गरेर २५ वर्ष पार्टीको नेतृत्व गरे। मातृकाप्रसाद कोइरालाले चार वर्ष, गिरिजाप्रसाद कोइरालाले १४ वर्ष, सुशील कोइरालाले दुईपटक गरेर ६ वर्ष (कार्यबाहकसहित) कांग्रेस सम्हाले।

भट्टराईको नेतृत्व १९ वर्ष
०३४ मा स्वास्थ्यको कारण देखाउँदै बिपीले राजीनामा दिएपछि कृष्णप्रसाद भट्टराई कांग्रेसको कार्यबाहक सभापति भए । ०३९ मा बिपीको निधनपछि भट्टराई पुनः कार्यबाहक सभापति भए । ०४९ मा भएको आठौँ महाधिवेशनपछि भट्टराई ०५३ सालसम्म सभापति भए ।

सुवर्णशमशेर दुई वर्ष
०१२ मा वीरगन्जमा छैटौँ महाधिवेशन भएपछि सुवर्णशमशेर दुई वर्ष कांग्रेसको सभापति भए। तर, ०१४ मा विशेष राष्ट्रिय सम्मेलनबाट बिपी नै कांग्रेसमा उदाए। ०५३ मा कृष्णप्रसाद भट्टराईपछि पनि १४ वर्ष कोइराला परिवारले नै कांग्रेसको नेतृत्व गर्यो। ०७२ फागुनमा भएको १३औँ महाधिवेशनबाट शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व सम्हालिरहेका छन्।

जुर्मुराउँदै कोइरालाहरू
देउवाले कांग्रेसको कमान्ड सम्हालेको डेढ वर्ष भएको छ। छोटो अवधिमै कोइराला परिवारका शशांक, शेखर र सुजाता देउवाप्रति असन्तुष्ट बनेका छन्। सामान्य अवस्थामा एक–अर्काकोमा सँगै नजाने, नबस्ने र खानासमेत नखाने गरेका उनीहरूले ४ साउनमा संयुक्त बैठक गरे। महामन्त्री शशांकको टोखास्थित घरमा बिहानको खानासहितको छलफलपछि उनीहरूले सामूहिक तस्बिर सामाजिक सञ्जालबाट बाहिर ल्याए। छलफल देउवाको डेढवर्षे नेतृत्वबारे समीक्षा र १४औँ महाधिवेशनमा कसरी जाने भन्ने पारिवारिक सल्लाहमा केन्द्रित थियो। आगामी महाधिवेशनको नेतृत्वसम्मको खुला कुराकानी नभए पनि कोइराला परिवारले आफूहरू एकजुट भएको स्पष्ट सन्देश भने दिएको थियो।

‘संविधान संशोधनलाई अहिले फ्लोरमा लगेर टुंग्याइयो। तर, तीन–चार महिनाअघि नै किन यो प्रक्रिया अपनाइएन ? कांग्रेस कमजोर हुन थालेको आभास भएको छ। हरेक विषयमा ढिलाइ गर्दै जाँदा राम्रो हुन्न,’ डा. शशांकले भने, ‘हामीले राम्रा काम पनि गरेका छौँ। तर, राम्रा काम जनतामा लान सकेनौँ। केही नराम्रा काम गर्‍यौँ। यसको नजिता निर्वाचनमा भोग्यौँ। डिआइजी प्रकरण, महाअभियोग प्रकरण, राजदूतका विषयमा पार्टीको पोजिसनले राम्रो सन्देश गएन। प्रजातन्त्रलाई बलियो बनाउने कुरामा हामीले ध्यान दिएनौँ। यसैले हामी कांग्रेसलाई बलियो बनाउनुपर्छ भन्दै एकजुट भएका हौँ। यसमा सबैको साथ चाहिन्छ।’

देउवाको पार्टी सञ्चालनप्रति महामन्त्री शशांक र सुजाताले खुलेर विरोध गरेका छैनन्। तर, शेखरले विधि, प्रक्रिया र पद्धतिको विषय उठाउँदै आएका छन् । काम गर्ने शैली र कुनै पनि विषयलाई अड्काएर राख्न हुँदैन भन्ने विषयमा सभापति देउवा र महामन्त्री शशांकको बुझाइ उस्तैउस्तै रहेको पाइन्छ । तर, पार्टीमा पकड जमाउने विषयमा भने यी दुईबीच आ–आफ्नै प्रतिस्पर्धा छ।

फेरि संयुक्त भेटघाट 
यसअघि विकसित घटनाक्रममा कोइराला परिवारका तीन नेताले संयुक्त रूपमा चासो राख्ने गरेका थिएनन्। तर, शुक्रबार शशांकको महाराजगन्जस्थित निवासमा पत्रकार महासंघको नवनिर्वाचित टोलीलाई सम्मान गर्ने कार्यक्रममा तीनैजना उपस्थित भए। पत्रकारलाई सम्मानको साथै केही राजनीतिक विषयमा कुराकानी गर्ने तयारीमा कोइरालाहरू थिए। तर, अर्को पक्षका नेता–कार्यकर्ताको बाक्लो भिड बढेपछि उनीहरूले राजनीतिक विषयमा कुराकानी गरेनन्।

‘यसअघिजस्तै अहिले पनि एक रहेको र पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा बोल्ने तयारी उहाँहरूको थियो,’ कोइरालानिकट स्रोतले भन्यो, ‘तर, अर्को पक्षका नेता–कार्यकर्ताको समेत बाक्लो उपस्थिति भएपछि उहाँहरूले राजनीतिक कुरा बाहिर ल्याउनुभएन।’ पत्रकार सम्मानको कार्यक्रमअघि १५ मिनेटजति सामूहिक कुराकानी गरेका उनीहरूले मिडियासँग राजनीतिक कुराकानी गरेनन्। महामन्त्री शशांकले ‘लोकतन्त्रलाई संस्थागत गर्न प्रेसको भूमिका महत्वपूर्ण हुन्छ’ भनेर भाषण सकाए। तर, शेखर र सुजाताले केही बोलेनन्। तीन कोइरालाले पत्रकार भेटघाट गर्ने कार्यक्रम राखेको जानकारी पाएपछि देउवा पक्षका नेता डा. प्रकाशशरण महत शशांकका स्वकीय सचिव भरत तिवारीलाई फोन गर्दै कार्यक्रमस्थल पुगेका थिए।

निरन्तर छलफल गर्ने 
शुक्रबार आफ्ना कुरा बाहिर ल्याउन नपाएका यी तीन नेता एक हप्ताभित्रै पुनः छलफल गर्ने तयारीमा छन्। ‘उहाँहरूले शुक्रबार केही बोल्नुभएन। तर, एक हप्ताभित्रै फेरि छलफल गर्ने तयारी गर्नुभएको छ,’ शशांकका स्वकीय सचिव तिवारीले भने।

मुख्यगरी प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा भारत जाँदा आठौँ वरीयतामा रहेका विमलेन्द्र निधिलाई कार्यबाहक सभापति बनाएकोप्रति पौडेल पक्ष र कोइरालाहरू असन्तुष्ट छन्। विधानतः उपसभापतिलाई कार्यबाहक सभापति बनाउनुपर्ने हुन्छ। तर, उपसभापति नहुँदा भएका पदाधिकारीलाई पनि बेवास्ता गरेको र छलफल पनि नगरेको असन्तुष्ट पक्षको तर्क छ । पार्टीमा राम्रो पकड भएका कारण निधिलाई उपसभापति मनोनीत गर्नबाट रोक्न सक्ने सामथ्र्य कोइराला परिवारमा पनि छैन । तर, आफ्नो पक्षको मत संरक्षण गर्दै एक भएर जाने र १४औँ महाधिवेशनसम्म तीनमध्ये एकले पार्टी नेतृत्वमा दाबेदारी दिने रणनीतिमा कोइरालाहरू लागेको निकट स्रोतहरू बताउँछन्।

यसरी उदाए देउवा
१३औँ महाधिवेशनमा देउवाका प्रतिस्पर्धी कोइराला थिएनन् । रामचन्द्र पौडेलसँगको टक्करमा देउवाले बाजी पार्दै २० वर्षपछि कोइरालाको एकछत्र विरासत तोडिदिए । ०५३ मा काठमाडौंमा भएको नवौँ महाधिवेशनबाट गिरिजाप्रसादले कृष्णप्रसाद भट्टराईपछि १४ वर्ष कांग्रेस चलाएका थिए । कार्यबाहक हुँदै सुशील कोइरालाले पूर्ण एक कार्यकालसहित ६ वर्ष कांग्रेस चलाए । तर, २० वर्षपछि कोइराला परिवारबाट कांग्रेसको राजनीति देउवाले आफ्नो हातमा ल्याए। १३औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन भइरहेका वेला तत्कालीन सभापति सुशीलको २५ माघ ०७२ मा निधन भयो। सभापतिमा अघि बढ्ने तयारीमा रहेका सुशीलको निधनपछि कोइराला परिवारबाट नेतृत्वमा को जाने भन्ने संकट आइलाग्यो।

महाधिवेशनको झन्डै एक महिनाअघि अकस्मात सुशीलको निधन भएपछि तत्कालै कोइरालाहरू तयारी अवस्थामा थिएनन्। गिरिजापुत्री सुजाता र बिपीपुत्र शशांकले नेतृत्वका लागि इच्छा गरे पनि सुजाता खुलिन्। तर, शशांक खुलेनन्।

कोइरालाहरू अघि नबढ्दा उपसभापति रामचन्द्र पौडेल स्वतः सभापतिका दाबेदार बने। उम्मेदवारी दर्ता गर्ने एक दिनअघि मात्र पौडेललाई कोइराला परिवारले अघि सारे। पहिलो चरणमा देउवा र पौडेल दुवैले आवश्यक मत ल्याउन सकेनन्। कृष्णप्रसाद सिटौलाले भोट काट्दा दोस्रो चरणमा सभापतिको निर्वाचन भयो। सिटौलाले देउवाको समर्थन गरे। पौडेल पराजित भए। महामन्त्रीमा भने देउवा पक्षका अर्जुननरसिंह केसीलाई पराजित गर्दै शशांक कोइराला निर्वाचित भए। सभापति, संसदीय दलको नेता हुँदै देउवा प्रधानमन्त्री बने।

पौडेल पक्षलाई पारिवारिक कांग्रेस अमान्य
कोइरालाहरूले छलफल गर्दै फोटोसमेत बाहिर ल्याएपछि नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा. रामशरण महत पनि तरंगित भएका छन्। भावी सभापतिका लागि पौडेल, सिंह र महत दाबेदारी गर्ने नेताहरू हुन्। कोइराला विरासत फर्काउन तीन कोइरालामध्ये एकजना अघि बढ्दा पौडेल, सिंह र महतलाई पक्कै पनि अप्ठ्यारो पर्नेछ। पौडेल अहिलेसम्म पार्टीमा आफूले धेरै त्याग गरेको भन्दै प्रमुख पदका लागि फेरि पनि दाबेदारी दिँदै आएका छन्।

‘कांग्रेसको जिम्मेवारीमा रहेका तीन कोइराला बसेर छलफल गर्नु राम्रो हो। पार्टीलाई सही दिशा दिन लाग्नुपर्छ भन्ने सोच राम्रो हो। उहाँहरू कांग्रेस हुँदा आपत्ति जनाउनुपर्ने विषय छैन,’ पौडेलनिकटका एक नेता भन्छन्, ‘तर, पारिवारिक कांग्रेस मात्र बनाउन खोज्दा राम्रो हुँदैन। बस्ने र फोटो खिच्ने मात्र होइन, राजनीतिलाई सही दिशा दिने विचार र दृष्टिकोण दिने गरी अरू नेतासँग पनि बस्नुभयो भने नराम्रो मान्दैनौँ।’

किन अघि बढे तीन कोइराला
उमेरको कारण सभापति देउवा ७२ वर्षका भइसकेका छन्। रामचन्द्र पौडेललाई धेरैले रुचाएको देखिँदैन। उनी पनि उमेरमा देउवाभन्दा धेरै पछि छैनन्। देउवाले फेरि एकपटक सभापतिमा आँट गर्दा रामचन्द्रले पुनः उनीसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्नेमा तीन कोइराला विश्वस्त छैनन्। त्यसैले उनीहरू आफैँ अघि बढेको पक्षमा देखिन्छ।

विरासतको बल
कांग्रेसको ७० वर्षे राजनीतिमा कोइरालाले ४९ वर्ष शासन गरे। अहिले नेतृत्वको समेत खडेरी परेको वेलामा आँट नगरे धेरै पछि परिन्छ भन्ने बुझाइ उनीहरूमा देखिन्छ । अहिले एक भएको सन्देश नदिँदा नयाँ खेलाडीहरू एवं गणेशमान सिंह र महेन्द्रनारायण निधिको विरासत बोकेका प्रकाशमान सिंह, विमलेन्द्र निधि अगाडि आउँदै गरेको बुझाइ पनि उनीहरूमा देखिन्छ। यही वेला भएको भ्याकुममा कोइरालाहरूको विरासतलाई प्रयोग गर्दै मिलेर जाने सन्देश तीन कोइरालाले दिन खोजेका हुन्।

हामी यसकारण जुट्दै छौँ, डा. शेखर कोइराला
कांग्रेसमा हामी तीनजना (शशांक, सुजाता र म) सँगै बसेनौँ भने मिडियाले सँगै बसेनन् भनेर लेख्छन्। बसेर छलफल गर्न खोज्दा पनि तीनजना बसे भनेर लेख्छन्। तर, हामीलाई कांग्रेसको चिन्ता छ, देशको चिन्ता छ। बिपी कोइरालाले जन्माउनुभएको पार्टी हो यो। तर, किसुनजी, गणेशमान, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइराला सबैको योगदान छ। जेलनेल भोगका थुप्रै नेताको योगदान यो पार्टीका निम्ति छ। कांग्रेस बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ, देश बलियो हुन्छ। हामी तीनजनाको कहाँ भन्ने भन्दा पनि लोकतन्त्र र देश बलियो हुनुपर्छ भन्ने लागेको छ।

स्थानीय तहका दुई चरणका निर्वाचन भए। तर, हामी कमजोर भयौँ। हामीले सोचेजस्तो उपस्थिति भएन। हामी तेस्रो चरणको निर्वाचनको मुखमा छौँ। प्रदेश र केन्द्रको निर्वाचनको अगाडि छौँ। यी निर्वाचनमा कांग्रेसलाई कसरी बलियो बनाउने भन्ने हाम्रो ध्येय हो।

चिन्ता सबैमा हुनुपर्छ
कांग्रेस कोइरालाहरूको मात्र पार्टी होइन। जनताले सहादत गरेको पार्टी हो। कांग्रेस कमजोर हुँदा नेपाल नै कमजोर हुन्छ। यो कुरा बुझ्नुपर्छ। कांग्रेसमा शेखर बलियो भएर मात्र हुँदैन, शशांक र सुजाता बलियो भएर मात्रै पनि पार्टी र देशलाई फाइदा पुग्दैन। पार्टी बलियो भयो भने सबैलाई फाइदा हुने हो। देशमा कांग्रेस मात्र प्रजातान्त्रिक शक्ति छ । देशको चिन्ताले हामी तीनजनाले छलफल थालेका छौँ । शेखर, शशांक र सुजाताले मात्रै केही गर्न सक्ने होइन। सबै मिल्दा मात्र केही गर्न सकिन्छ । यो चिन्ता शेरबहादुर देउवा र रामचन्द्र पौडेललगायत सबैमा हुनुपर्छ।

कांग्रेस चुक्यो, प्रजातन्त्र कमजोर हुँदै गयो
संविधान कांग्रेसको नेतृत्वमा बन्यो। तर, संविधानपछिको निर्वाचनमा कांग्रेस कमजोर किन भयो ? महाधिवेशनबाट देउवाले जित्नुभयो। निर्वाचनमा गएपछि जित्ने र हार्ने हुन्छ। तर, यसपछि पार्टी बलियो भएको छ कि छैन ? पछिल्लो निर्वाचनको परिणामले राम्रो भएजस्तो देखाएको छैन। सोचेजस्तो भएको छैन। यसले पार्टी कमजोर भएको देखियो। हामीले कुरा चिर्न सकेनौँ। संविधान संशोधनलाई अहिले फ्लोरमा लगेर टुंग्याइयो। तर, तीन–चार महिनाअघि नै किन यो प्रक्रिया अपनाइएन ? कांग्रेस कमजोर हुन थालेको आभास हुन थालेको छ। हरेक विषयमा ढिलाइ गर्दै जाँदा राम्रो हुन्न।

हामीले राम्रा काम पनि गरेका छौँ। तर, राम्रा काम जनतामा लान सकेनौँ। केही नराम्रा काम गर्‍यौँ यसको नजिता निर्वाचनमा भोग्यौँ। डिआइजी प्रकरण, महाअभियोगको प्रकरण, राजदूतका विषयमा पार्टीका पोजिसनले राम्रो सन्देश गएन। प्रजातन्त्रलाई बलियो बनाउने कुरामा हामीले ध्यान दिएनौँ।

सभापतिलाई आफैँ चलाइहाल्छु भन्ने लागेको छ भने त्यो गलत हो। सबै मिलेर मात्र केही गर्न सकिन्छ। कसलाई कुन मन्त्री बनाइयो भन्ने सरोकारको विषय होइन। तर, के हामीलाई अहिले ५० जना मन्त्री चाहिएको थियो ? संविधानले थोरै सदस्य मन्त्रिपरिषद्को अभ्यास गर्ने भनेपछि हामी किन त्यो अभ्यासमा लागेनौँ ? बुढीगण्डकी आयोजनामा कामचलाउ मन्त्रीले हस्ताक्षर गरे। यसमा कांग्रेस किन बोलेन ? राष्ट्रवादी भनिएको एमाले किन चुप लाग्यो ? आयल निगमका बारेमा मिडियाले लेखेका छन्। अख्तियार किन चुप छ ? राजस्व प्रमुखको मुद्दाका अदालतको अर्डर किन त्यस्तो आयो ? यस्तै दण्डहीनताको अवस्था आयो भने हामी कहाँ पुग्छौँ ?

पार्टी र देश बलियो बनाउने अभियान
कांग्रेसको महाधिवेशन आउन अझै तीन वर्ष बाँकी छ। को कहाँ के लड्छन् थाहा छैन। कांग्रेसमा महाधिवेशनले जसलाई पत्याउँछ उही महामन्त्री हुन्छ, उही सभापति हुन्छ। हामी तीनजना दाजुभाइ–दिदीबहिनी हौँ। हामी बसेर कांग्रेस कमजोर भयो भन्न पनि नपाइने ? कुनै एक व्यक्ति नेतृत्वमा पुग्ने, सभापति हुने मात्र कुरा होइन । पार्टी र देश नै बलियो बनाउनुपर्छ भन्ने हाम्रो अभियान हो।

नेतृत्वको ‘भ्याकुम’मा लिगेसी भजाउने दाउ, कपिल श्रेष्ठ विश्लेषक
शेरबहादुर देउवा र रामचन्द्र दुवैलाई नमान्नेहरू धेरै देखिएका छन्। साथै, उहाँहरूलाई उमेरले पनि अब धेरै सक्रिय हुन गाह्रो छ। यो वेला पौडेल पक्षमा नेतृत्वको खडेरीजस्तै छ। किनकि विरासत टिकाउन अब पौडेलले नसक्ने बुझाइ तीन कोइरालामा देखिन्छ। पारिवारिक लिगेसी भजाएर बिपी र गिरिजाको सहानुभूति प्रयोग गरेर समयमा आफ्नो स्थान सुरक्षित गर्ने तीव्र अभिलाषा उहाँहरूमा देखिन्छ। नेपालको राजनीतिमा कांग्रेसको लगानी धेरै भएको छ। लगानीअनुसार कांग्रेसकै नेता कोइरालाहरूले फाइदा उठाएको पनि प्रस्टै छ। तर, ठूलोे लिगेसी भएको परिवारमा राजनीतिलाई आफ्नो बपौती सम्झिने कोइराला, गणेशमान, निधि सबै परिवारमा देखिन्छ।

अर्कोतिर कांग्रेसमा कोइराला भन्ने नाम, कोइराला परिवारको काम र महत्वलाई नकार्न मिल्दैन। मन पराए पनि नपराए पनि कोइराला लिगेसी त्यति चाँडै हराउँदैन। सुजाता पनि कोइरालाको नाममा एकैपटक माथि आउनुभयो। महामन्त्री पनि सोझै माथि आउनुभयो। शेखरमा भने राजनीतिक योगदान, समझ र परिपक्वता बढी देखिन्छ। शशांकलाई बिपीको छोरा हुनुको फाइदा बढी छ। बिपीका जेठा छोरा प्रकाश कोइराला अर्कै धारको राजनीतिमा लाग्नुभयो। उहाँकी छोरी मनीषा फिल्मतिर रमाइन्, बिपीका अर्का छोरा श्रीहर्ष खेलकुद र विज्ञानमै रमाए। यस्तोमा शशांकलाई थोरै राजनीतिक सक्रियताकै आधारमा सहज रूपमा विरासत मिलेको छ। रगत र लिगेसी एउटै भएकोले तीनजना एकले अर्कोलाई सहयोग गरेर अघि बढ्दा सबैलाई ढिलोचाँडो फाइदा हुने बुझाइमा छन् र सक्रिय हुन खोजिरहेका छन्। (नयाँ पत्रिका दैनिक)

सम्बन्धित समाचार

नयाँ