arrow

बाबुरामको नयाँ शक्ति संसद प्रवेश, अहिलेलाई एक सिट

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
naya_sakti.jpg

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति संसद प्रवेश गरेको छ । तराई मधेश केन्द्रीत थरुहट तराई पार्टी लोकतान्त्रिकसँगको एकीकरणपछि नयाँ शक्ति संसद् प्रवेश गरेको हो ।

गंगा चौधरी सद्गौवाले फुटाएर बनाएको पार्टी ‘थरुहट तराई पार्टी लोकतान्त्रिक’सँगको एकता प्रमाणित भएपछि नयाँ शक्ति एक सिटसहित संसदमा प्रवेश गरेको हो । थुप्रै नेता बाहिरिएका बेला नयाँ शक्ति संसद प्रवेश गरेको छ । २०७२ असोज ३ गते संविधान जारी भएपछि संसद त्यागेका भट्टराई भने  संसदबाट बाहिरै छन् । नयाँ शक्ति पार्टी नेपाल र थरुहट तराई पार्टी लोकतान्त्रिकबीचको एकता निर्वाचन आयोगले प्रमाणित गरेको भन्दै संसद सचिवालयले दर्ता गरिदिएको छ ।

’नयाँ शक्ति पार्टी नेपाल र व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने थरुहट तराई पार्टी नेपाल लोकतान्त्रिक एक आपसमा संयुक्त भई ‘नयाँ शक्ति पार्टी, नेपाल’ कायम भएको भनी निर्वाचन आयोगको जानकारी प्राप्त भएकोले उक्त पत्रको प्रतिलिपिसमेत यसैसाथ राखी जानकारीका लागि पठाएको बेहोरा निर्देशानुसार अनुरोध छ,’ –संसद सचिवालयले नयाँ शक्तिलाई दिएको पत्रमा उल्लेख छ ।

२०५२ सालमा तत्कालिन प्रधानमन्त्री समक्ष ४० बुँदे माग राखेर संसद छाडेका भट्टराई दोस्रो जन आन्दोलनपछि माओवादीबाट ८३ सिट सहित संसद प्रवेश गरेका थिए । त्यो प्रवेश विना निर्वाचनको थियो ।

संविधान सभाको पहिलो निर्वाचनबाट २ सय ३९ सिट सहितको पहिलो पार्टी हुँदा प्रधानमन्त्रीको कुर्सीबाटै संविधान सभा विघटन गरेका भट्टराई दोस्रो संविधान सभामा ८३ सिटसहित माओवादीकै तर्फबाट संसद प्रवेश गरे ।  भट्टराई संविधान सभाको ‘संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति’को सभापति समेत बने । तर, भट्टराई पछि त्यही संविधान सभाले संविधान जारी गरेको प्रक्रियासँग असहमत भए संसद र माओवादी पार्टीबाट एक साथ बाहिरिए ।

आफ्नै नेतृत्वको समितिले टुंग्याएका विवादमा समेत विमति राख्दै नयाँ शक्ति सुरु गरेका बाबुरामले आफूलाई सेन्टर टू लेफ्ट बताउँदै कम्युनिष्ट प्रणालीलाई घुमाउरो रुपमा त्याग्ने घोषणा गरेका थिए ।

कुनै समय संसदलाई ’खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’ बताएर चर्चित बनेका बाबुराम नेतृत्वको नयाँ शक्ति संसदमा प्रवेश गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ