arrow

बझाङ्ग-तिब्बत जोड्ने सडक ३ वर्षभित्रै पुरा हुन्छ : मन्त्री बलायर

logo
प्रकाशित २०७४ भदौ १४ बुधबार
balayer_news.jpg

धनगढी । भौतिक पूर्वाधार तथा यातायात तथा व्यवस्था मन्त्री वीर बहादुर बलायरले नेपाल र तिब्बत जोड्ने (बझाङ्ग — ताक्लाकोट )सडक तीन वर्ष भित्र निर्माण गरिसक्ने बताएका  छन् ।

वुधबार प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री बलायरले सडक निर्माणका लागि ठेक्का प्रक्रिया थालिसकेको बताएका छन् । नेपालबाट चीन जोड्ने यो सबैभन्दा छोटो मार्ग बन्ने छ, भौतिक पूर्वाधार मन्त्री   बलायरले भने, त्यसका लागि बझाङ्गको चैनपुरदेखि धुली ताक्लाकोट सडक निर्माणको टेण्डर भैसकेको छ ।’ यो सडकको दुरी धनगढीबाट

तिब्बतको ताक्लाकोट सम्म ३ सय ५० किलोमिटर मात्रै हुने समेत मन्त्री बलायरले जानकारी दिए । हिमपातका कारण सडकअवरुद्ध नहोस भन्ने उद्देश्यले ताक्लाकोट सडक ३ किलोमिटर सुरुङ्ग मार्ग बन्ने बलायरले बताए । यो सडक निर्माणका लागि बझाङ्गको चैनपुरमा परियोजना कार्यालय समेत स्थापना भैसकेको छ ।

यो सडक निर्माण भए प्रदेश नम्बर ७ दुई छिमेकी देशलाई जोड्ने ट्रान्जिट प्वाईन्ट बन्ने पनि मन्त्री बलायरले बताए । उनले भने, ‘यसले प्रदेश नम्बर ७ को मात्रै नभई सिंगो देशको आर्थिक अवस्थामा सुधार आउने छ । कञ्चनपुरको महाकाली नदीमा ४ लेनको पुल शिलन्यास गर्नका लागि कैलाली पुगेका मन्त्री बलायरले विहिबार प्रधानमन्त्रीले नै शिलन्यास गर्ने बताए ।
यो नेपालको भारतसँग जोड्ने पहिलो ४ लेनको पुल हो । यो पुल निर्माण भए प्रदेश नम्बर ७ मा निकै चहलपहल बढ्ने छ  । यो पुल निर्माण भए महाकाली ठूलो भन्सार नाका हुनेछ ।

त्यसैगरी, धनगढीको गौरीफन्टा भन्सार नाकाको स्तरोन्नतीका लागि भर्खर मात्र प्रधानमन्त्रीले गरेको भारत भ्रमणका बेला सम्झौता भएको मन्त्री बलायरले सुनाए । उनले भने, ‘जुन गतिमा पूर्वाधार बन्दैछन् यसले प्रदेश नं ७ को भविष्य सबैभन्दा सुन्दर देखिन्छ ।’ मन्त्री बलायरले कैलालीको धनगढी विमानस्थलको स्तरोन्नतीका लागि जग्गा अधिग्रहण गर्ने कार्य भैरहेको र चाडै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बताए ।

उनले धनगढी दिपायल फास्ट–ट्रयाक, सहजपुर बोगटान सडक, बुडर जोरायल सडक, सेती लोकमार्गलाई पैशाका कारण काम रोक्नु पर्ने अवस्था आउन नदिने बताए । भौतिक पूर्वाधार तथा यातायात तथा व्यवस्था राज्यमन्त्री  सीता गुरुङ्गले आफुहरु दिगो विकासको अवधारणलाई मूर्तरुप दिन योजना बनाएर काम गरिरहेको बताईन । मन्त्री बलायर र राज्य मन्त्री गुरुङ् प्रदेश नम्बर ५ र ७ को सडकको अवलोकन गर्दै धनगढी पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ