arrow

अख्तियार ठूला माछा समाउँदै, अकुत सम्पत्तिधारी २०० जना उच्च निगरानीमा

logo
प्रकाशित २०७४ भदौ १५ बिहिबार
CIAAoffice.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ। अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ।

राष्ट्रसेवक पदाधिकारीले कानुनतः सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने व्यवस्था गरे पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन असफल रहेको भन्दै आलोचना भइरहेका बेला अख्तियारले राष्ट्रसेवकलाई निगरानीमा राखेको हो। 

अख्तियार उच्च स्रोतका अनुसार पूर्वमन्त्री, पूर्वसचिव, सहसचिव, प्रहरी, सार्वजनिक पदाधिकारी, संस्थान प्रमुखसहित सबै क्षेत्रका उच्चपदस्थ निगरानीमा छन्। ‘यतिबेला झन्डै दुई सय व्यक्ति अख्तियारको निगरानीमा छन्। त्यसमध्ये ४० व्यक्तिमाथि गहिरो छानबिन चलिरहेको छ,’ स्रोतले भन्यो, ‘कानुनतः छानबिन गोप्य हुने भएकाले र भाग्न र प्रमाण लोप गर्नसक्ने अवस्थाका कारण पनि नाम सार्वजनिक गर्न मिल्दैन।

एक दुई सातामै लक्षण थाहा हुनेछ।’ अख्तियारमा पेस भएको सम्पत्ति विवरण र उजुरीका आधारमा उनीहरूलाई निगरानीमा राखिएको हो। स्रोतका अनुसार दुई सय जना निगरानीमा रहे पनि ४० जनाउपर भने छानबिन तीव्र पारिएको छ। 

अख्तियारले सार्वजनिक पदधारण गरेका पदाधिकारीले लुकाएको सम्पत्तिको स्रोत, सम्पत्तिको अवस्था, तिनका आफन्त र सम्भावित ठाउँको सुराक पत्ता लगाउन गुप्त ढंगले कर्मचारी परिचालन गरेको छ।

मालपोत कार्यालयबाट लिखत झिकाएर केलाएर हेरेपछि उनीहरूको बैंक लकर र घर जग्गा रोक्काको कारबाहीमा जाने पूर्वतयारीमा अख्तियार छ। स्रोतका अनुसार सबै क्षेत्रबाट शंकास्पद व्यक्ति छानेर अकुतको कारबाहीमा उत्रने तयारीमा अख्तियार छ। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ