arrow

यस्तो त शत्रुलाई पनि नहोस्ः बिरामीलाई गाउँमा पानी दिनेसम्म मान्छे भएन

logo
हेमन्त केसी
प्रकाशित २०७४ भदौ १५ बिहिबार
jajarkot.png

जाजरकोट । जाजरकोटका अधिकांश ग्रामीण क्षेत्रमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । बिरामीलाई पानी दिनेसम्म स्थानीय नभएको सम्बन्धित नगरपालिका र गाउँपालिकाका अध्यक्षले बताएका छन् । 

तत्काल स्वास्थ्य शिविर नचलाएमा महामारीको रुपमा रहेको भाइरलले स्थानीयको मृत्यु हुनसक्ने त्रिवेणी नलगाड नपा वडा–५ का वडा अध्यक्ष सुदीप शर्माले बताए । 

गाउँमा एकै घरमा चारभन्दा बढी बिरामी छन्, पानी दिनेसम्म मानिस छैन, उनले टेलिफोनमा भने । स्वास्थ्य कार्यालयमा छिटो बिरामीको उपचार गर्न स्वास्थ्यकर्मी परिचालन हुन आग्रह गरिएको र जिल्लामा प्रहरीमार्फत खबर गरिएको उनले बताए । 

यता यहाँका सबै स्वास्थ्य संस्थामा दैनिक ६० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । बिरामीको संख्या बढेपछि स्वास्थ्य संस्थामा उपचार गर्न नै मुस्किल भएको इलाका स्वास्थ्य चौकी, दल्लीले बताएको छ । 

जिल्लाका दूरदराजमा रहेर जनताको पहुँचमा स्वास्थ्य संस्था नहुँदा सर्वसाधारण मेडिकलमा हजाराँै रकम खर्चेर अन्धाधुन्ध उपचार गर्न बाध्य भएको त्रिवेणी नलगाड नवा–५ का कर्णबहादुर खत्रीले बताए । 

वर्षायाममा जथाभावी फुटेका मूलबाट ल्याइएको पानी पिउँदा र खाना राम्रोसँग पकाएर नखाँदा समस्या आएको डाक्टरले बताएका छन् । 

बिरामीको भीड बढेपछि डाडागाउँको स्वास्थ्य संस्थामा औषधि नै सकिएको छ । चार दिनदेखि स्लाइन पानी सकिएको भएपनि जिल्ला जाने मानिस नहुँदा मागको पूर्ति हुन सकेको छैन । 

बारेकोट गाउँपालिकाका सबै वडाका प्रत्येक घरमा भाइरलका बिरामी रहेको स्थानीय शिक्षक कालीप्रसाद थापाले बताए । 

यही ठाउँमा छ दिनअघि दुई नाबालकको मृत्यु भएको थियो । स्वास्थ्य संस्था टाढा हुँदा उपचारका लागि बिरामी ल्याउन नसक्दा समस्या थपिएको जिरीका प्रेम सिंहले बताए । 

त्यस्तै, यता पूर्वको रग्दा र भगवतीका दुर्गम गाउँमा भाइरलकै प्रकोपले सयौँ गाउँले घरमै थला परेको स्थानीय तेजबहादुर विकले बताए । 

कुनै घर पनि बिरामी नभएको छैन, कसलाई उपचार गर्नु, काल आए मरिन्छ, उनले भने । स्वास्थ्य संस्था टाढा छ, स्थानीय मेडिकलमा औषधि महँगोमा बिक्री हुने गर्छ, उनले थपे । बालबालिका र वृद्ध बढी बिरामी भएको स्थानीयको भनाइ छ । 

गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्न स्थानीयले माग गरे पनि जिल्ला स्वास्थ्य कार्यालयले कुनै पहल नगरेको स्थानीयको आरोप छ । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा सही समयमा बिरामीले उपचार नपाएको स्थानीयको आरोप छ । 

वर्षायाममा खोला बढेका र बाटाहरु भत्किएका कारण भनेको समयमा एक्लै जान सकिँदैन, अर्को गाउँ दहका काशी पुनले बताए । 

फोनसेवासमेत अवरुद्ध भएका कारण गाउँमा के भएको छ भन्नेसम्म जानकारी आउन नसकेको बारेकोटका नरबहादुर गिरीले बताए । 

स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा उपचारमा थप समस्या आएको छ । भगवती स्वास्थ्य चौकीमा छ महिनादेखि तीनवटा दरबन्दी खाली छ ।

त्यस्तै, नायकवाडा स्वास्थ्य चौकीमा दरबन्दीअनुसारको स्वास्थ्यकर्मी नभएको पाइएको छ । बिरामी भएको गाउँमा औषधि लिएर स्वास्थ्यकर्मी जाँदा स्वास्थ्य संस्था खाली हुने भएकाले गाउँमा जान नसकेको इलाका स्वास्थ्य कार्यालय, दल्लीले बताएको छ । 

विद्यालयमा आएका विद्यार्थीसमेत बिरामी हुँदै विद्यालयबाटै बोकेर अस्पताल लानुपर्ने बाध्यता आएको शिक्षक बताउँछन् ।

खाना र पानीमा ध्यान नदिँदा धेरै समस्या आएको जाजरकोट अस्पतालका डा भूपेन्द्र मल्लले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ