arrow

नेताका छोरालाई टिकट

logo
प्रकाशित २०७४ भदौ १७ शनिबार
federal-2-nepal-state-2072.png

राजविराज। संघीय समाजवादी फोरमले तीन दिनअघि यहाँका १८ मध्ये १५ स्थानीय तहमा उम्मेदवार चयन गर्‍यो। अरू तीन तहमा अझै उम्मेदवार छान्न सकेको छैन। फोरमका तर्फबाट बोदेवरसाइन नगरपालिकाको मेयर पदमा दुई नेताका छोरा आकांक्षी भएपछि छान्न सकस भएको हो।  

फोरम उपाध्यक्ष तथा तराई मधेस प्रदेश संयोजक रेणुकुमारी यादवका छोरा अभिषेक र केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज अनिरुद्रप्रसाद सिंह यादवका छोरा आतिषकुमार मेयरका आकांक्षी छन्। ‘अभिभावक संसदको चुनाव लड्ने, छोराछोरी स्थानीय तहमा। कार्यकर्ता जीवनभर भोट मात्रै हाल्ने ?,’  फोरमका एक नेताको आक्रोश छ, ‘नेताहरूको परिवार मोहका कारण राम्रा मान्छे टिकटबाट वञ्चित हुनुपरेको छ।’

फोरमका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले नेताका छोराछोरीका कारण टिकट वितरणमा ढिलाइ भएको अस्वीकार गरे। ‘नेताका छोरा भएर होइन, पार्टी कार्यकर्ता भएका कारणले र पार्टीमा योगदान गरेकाले उहाँहरूको नाम उम्मेदवारका रूपमा आएको हो। जित्न सक्नेलाई चाँडै पार्टीले उम्मेदवारका रूपमा अघि सार्नेछ,’ उनले भने। यी दुई नेताका छोरा पार्टीको जिम्मेवारीमा पनि छन्।

अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) भित्र पनि यस्तै किचलो छ। राजपाका उपाध्यक्षद्वय नवलकिशोर साह र शेखरकुमार सिंहका छोरा टिकटका आकांक्षी छन्। साहका छोरा शैलेशकुमार हनुमाननगर कंकालिनी नगरपालिकाबाट मेयर पदका दाबेदार छन्। सिंहका छोरा सतिषकुमार तिलाठी कोइलाडी गाउँपालिकाको प्रमुख पदका आकांक्षी हुन्।

राजपा बन्नुअघि शैलेश सद्भावना पार्टीका जिल्ला कोषाध्यक्ष थिए। सतिष शरदसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष थिए। राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवले चुनाव युद्धजस्तै भएकाले जित्ने कार्यकर्तालाई उम्मेदवार बनाउने बताए। ‘नेताका छोराछोरी हुन् वा सामान्य कार्यकर्ता, जो चुनाव जित्छन् उनीहरूलाई नै उम्मेदवार बनाउने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘टिकट वितरण गर्दा मधेस आन्दोलनमा खेलेको भूमिका र पार्टीमा गरेको कामलाई मूल्यांकन गरिनेछ।’  एमाले र संघीय फोरमले अधिकांश तहमा उम्मेदवार छनोट गरिसकेका छन्। मुख्य सतारुढ दल कांग्रेस र माओवादी केन्द्र अझै उम्मेदवार चयनको रस्साकस्सीमै छन्।

नवप्रवेशी नै अगाडि

स्थानीय चुनावमा नयाँ पार्टीमा प्रवेश गरेकाहरू नै टिकटको दौडमा अघि छन्। पूर्वसहायक मन्त्री अनिश अन्सारी पाँच दिनअघि मात्र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबाट टीका लगाई पार्टी प्रवेश गरे। उनी अहिले माओवादीका तर्फबाट राजविराजको मेयर उम्मेदवारको लाइनमा छन्। यसको औपचारिक घोषणा भइसकेको छैन। दोस्रो चरणको निर्वाचनताका संघीय समाजवादी फोरम परित्याग गरेर एमाले प्रवेश गरेका सुखराम यादव राजविराज नगरपालिकाको घोषित उम्मेदवार हुन्।

लामो समय सद्भावना पार्टीमा रहेका राजपाका भीमराज यादव संघीय फोरममा प्रवेश गरे। भीमराजलाई फोरमले राजविराज नगरपालिकाको मेयरका लागि उम्मेदवारका रूपमा घोषणा गरेको छ। यस्तै माओवादी केन्द्र परित्याग गरी फोरममा प्रवेश गरेकी सियावतीदेवी यादव हनुमाननगर कंकालिनी नगरपालिकाबाट उपमेयरकी उम्मेदवार भएकी छन्। अन्य पार्टीले अहिलेसम्म उम्मेदवार निर्क्योल गर्न सकेका छैन। (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ