arrow

वाग्मतीका दुई सहायक नदी मनोहरा र इन्द्रमती सफाइ अभियान शुरु

logo
प्रकाशित २०७४ भदौ १७ शनिबार
bagmati-01.jpg.jpeg

काठमाडौँ । वाग्मती सफाइ महाअभियान शुरु भएको २२५औँ हप्तामा यसका दुई सहायक नदीको पनि सफाइ अभियान प्रारम्भ गरिएको छ । वाग्मती सफाइ महाअभियान २२५ औँ हप्तामा पुग्दा सहायक नदी इन्द्रमतीको सफाइ पनि आजैदेखि शुरु भएको हो । बल्खुस्थित इन्द्रमती नदी किनारमा जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले सफाइ अभियान शुभारम्भ गरे। 

सफाइमा मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, कीर्तिपुर नगरपालिकाका प्रमुख राजेश महर्जन, पूर्वसचिव किशोर थापा, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठ, वडा अध्यक्षसहित स्थानीयवासीको सहभागिता थियो, मिस काठमाडौँ नेपाल २०१७ का प्रतिस्पर्धी, सञ्चारकर्मी, तीनैवटा सुरक्षा निकाय, विभिन्न संस्थाका प्रतिनिधिसहित दुई हजारभन्दा बढीको सहभागितामा भएको सफाइमा १६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

यसैगरी आजैदेखि मनोहरा सफाइ अभियान पनि शुरु भएको छ । जडीबुटीस्थित मनोहरा नदी किनारमा रहेको आँखा अस्पतालबाट सफाइ शुरु गरिएको हो । सफाइमा २०० जनाको सहभागिता थियो । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । अर्को साता मनोहरामा विशेष कार्यक्रम गरिने जनाइएको छ । यसैगरी आज उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी आज ४४ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

वाग्मती सफाइ महाअभियान र तिलगंगा महिला समूहको संयुक्त आयोजनामा २२५ औँ हप्ताको सफाइ सिनामंगल पुलमा गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिसहित ५०० जनाको सहभागिता थियो । यसैगरी वाग्ंमती सफाइ महाअभियान र उद्योग वाणिज्य महासंघको संयुक्त प्रयासमा एक हजार बाढीपीडित परिवारलाई राहत वितरण गरियो । 

सुनसरीको इनरुवा, सप्तरीको राजविराज, महोत्तरीको गौशाला, रौतहट, नवलपरासी, बर्दिया र पर्साका गरी एक हजार बाढीपीडितलाई चामल २५ केजी, दाल पाँच केजी, चिउरा पाँच केजी, भटमास एक केजी, त्रिपाल एक थान, पानी एक कार्टुन, नून एक केजी, तेल एक लिटर, साबुन, पानी शुद्धीकरण गर्न पियुस र जीवनजल वितरण गरिएको सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिए। 

पुडासैनी मैत्री समाज र राम्रो जोरपाटी हाम्रो जोरपाटीको आयोजनामा गुह्येश्वरीमाथिको वाग्मतीमा १८६औँ हप्ताको सफाइमा १०० जनाको सहभागितामा गोठाटार पहेँलो पुल र हनुमान बाटिका वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिए ।

रुद्रमती सफाइको १८४औँ हप्तामा रातोपुलबाट सफाइ शुरु भएर ज्ञानेश्वर–कमलपोखरी–सानो गौचरण हुँदै कालो पुलसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सो अवसरमा बाढीपीडितका लागि अभियानले रु ३२ हजार ८५ संकलन गरेको छ । विष्णुमती सफाइको १५६औँ हप्तामा नयाँ बसपार्क पुल वरपर जनचेतनासहित सफाइ गरियो । दुई सय ५० जनाको सहभागितामा भएको सफाइमा दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

चक्रपथ सफाइको २१औँ हप्तामा गोंगबु क्षेत्रमा ५६० जनाको सक्रियतामा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन भयो । यसैगरी चक्रपथको सीतापाइला क्षेत्रमा पनि आज दोस्रो हप्ताको सफाइ गरिएको सफाइ महाअभियानले जनाएको छ । आलोक नगरस्थित वाग्मती नदी किनारमा गरिएको २१औँ हप्तामा मिनभवन पुलबाट २५० मिटर दक्षिणतर्फ निर्माण हँुदै गरेको प्रतीक्षालय वरपर जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ७५ जना महिलाको सक्रियता थियो । 

भदौ २४ गते शनिबार २२६औँ हप्ताको वाग्मती सफाइ पनि सिनामंगल पुलमै गरिने सफाइ गरिनेछ । विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म मुलुकका २६ शहरका नदी सफाइ पनि शुरु भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ